केही राम्रा नेता अर्थमन्त्री भए अथवा सरकार नै गयो भने शेयर बजार बढ्छ

Sep 07, 2020 07:21 PM Merolagani

  • डा. विश्व पौडेल

सर्वसाधारणले गरेको लगानी सुरक्षित भएमात्र शेयर बजारमा लगानीकर्ता आउने हुन्। अन्यथा शेयर बजारमा किन लगानी बढाउने? भन्ने प्रश्न पनि छ।

खतिवडा अर्थमन्त्री हुँदा लगानीकर्ताले शेयर बजारमा आफ्नो लगानी बढाउँदा सुरक्षित हुन सकेनन्। त्यसकारण पनि शेयर बजारमा लगानी बढ्न नसकेको हो। कतिबेला कर बढाइ दिन्छ भन्ने त्रास भयो भने कसले शेयरमा लगानी गर्ने? यस्ता अवस्था खतिवडाको कार्यकालभरी नै रह्यो।

अर्थमन्त्री हट्ने चर्चा चलेसँगै शेयर बजार बढेको थियो। तर, अर्थमन्त्रीले राजीनामा दिएपछि बजार घटेको छ। लगानीकर्ताले अर्थमन्त्री हटने सूचना पहिले नै पाएकाले शेयर बजार बढ्न पुगेको थियो। तर, राजिनामा दिइसकेपछि बिक्री गर्न पुग्दा शेयर बजार पुनः ओरालो लागेको छ।

पूर्व अर्थमन्त्री खतिवडा आफ्नो अढाइ बर्षको कार्यकालकाको शुरुमा शेयर बजारप्रति नकारात्मक बनेका थिए। पछि शेयर बजारप्रति केही लचिलो भएको महशुस भएको थियो। तर, त्यस्तो लचिलो भएको महशुस सर्वसाधारण लगानीकर्ताले गर्न पाएनन्। कहिले कडा हुने हुन् भन्ने त्रासमा लगानीकर्तामा थियो। त्यसैले पनि शेयर बजारका लगानीकर्ताले उनको कार्यकालमा सधै त्रसित हुनु पर्यो।
अहिले आगामी अर्थमन्त्री कस्तो आउने भन्नेमा पनि लगनीकर्ताले चासो दिन थालेका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केही नेता यस्ता छन्, जसलाई अर्थमन्त्रीको जिम्मेवारी दिइयो भने शेयर बजार बढ्न सक्छ। ती नेता आएनन् भने बजार ओरालो लाग्न सक्छ। बजार बढ्नका लागि नेकपा भित्रका राम्रा नेता अर्थमन्त्री भएर आउने वा नेकपाको सरकार गयो भने मात्र पनि शेयर बजार बढ्न सक्छ। अन्यथा शेयर बजार बढ्ने सम्भावना देखिएको छैन।

नेकपाका केही राम्रा नेता अर्थमन्त्री भएर आए वा नेकपाको सरकार गयो भने मात्र शेयर बजार बढ्ने सम्भावना देखिएको छ। पूर्व अर्थमन्त्री खतिवडाले लगानीकर्ताको मन जित्न सकेनन्। शेयर बजारका लगानीकर्ता मात्र होइन, बैंकरको मन पनि जित्न सकेनन्।

बैंकरप्रति पनि खतिवडा त्यति सकारात्मक भएनन्। कतिपय ठाउँमा खतिवडाको मुख्य चाहना नियन्त्रणमुखी अर्थतन्त्र चलाउने कि जस्तो देखियो। पैसा हाल्ने मान्छे नै बैंकको सञ्चालक बन्न नदिने, उसले प्रमुख कार्यकारी अधिकृत छान्न नपाउने जस्ता व्यवस्था बाफियामा गरियो। खतिवडाले मुलुक भित्र र बाहिरका लगानिकर्ताहरुलाई आश्वस्त पार्न सकेनन्।

खतिवडाले कर मात्र बढाउने लक्ष्य लिए। पहिला पनि कर बढाउने लक्ष्य लिइन्थ्यो, तर सँगसँगै मितव्ययिताका कदम पनि चालेको जस्तो गरिन्थ्यो। खतिवडाले मितव्ययिता चालेको जस्तो गर्न पनि छाडेको महशुस सर्वसाधारणले गरे। उनको कार्यकालमा प्रशासनिक सुधारहरु पनि साना साना खालका मात्र भएका थिए। सरकारको खर्च मजाले घटाएर विकास खर्च बढाउँ भन्ने दिशामा गएको आभास पनि खतिवडाले दिन सकेनन्। ठूला पुर्वाधारका काम खासै भएनन्। कार्यकालको अन्तिमतिर त कोरोना भाइरसको कारण देखाइयो। विकास निर्माणका काम कोरोनाका कारण प्रायः ठप्प भए।

हाइड्रोपावरमा कम्पनीको उत्थान गर्ने काम गर्ने काम पनि भएन। जहिले दबाउने मात्र काम भयो। पूर्व अर्थमन्त्री खतिवडाले सरकारले घोषणा गरे बमोजिम निर्माण सम्पन्न भई व्यापारिक उत्पादन शुरु गरेका आयोजनालाई दिने भनिएको भ्याट अनुदान बापतको रकम प्रतिमेगावाट ५० रुपैयाँ लाख पनि दिन सकेनन्। उत्पादनमुलक, हाइड्रोपावर कम्पनी र बैंकप्रति नै उनी उदार हुन सकेनन्।

खतिवडाले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन सकेनन्। पूर्वअर्थमन्त्री खतिवडाको ध्यान ती क्षेत्रमा जान सकेन। झलनाथ खनाल, मदन भण्डारीलाई थुप्रै रकम दिएको खुल्न आएको छ। त्यो रकम अन्यत्र लगाएको भए सम्भवतः त्यसले राम्रै परिणाम दिन सक्थ्यो होला।

शेयर बजारमा माग र आपूर्तिको कुरा हुन्छ। शेयरको माग बढ्दै जाँदा शेयरको मूल्य बढ्छ भने आपूर्ति बढी हुँदा शेयरको मूल्य पनि घट्छ। रकम प्रशस्त मात्रामा छ, तर लगानी गर्ने क्षेत्र नभएको अवस्थामा शेयर बजारतिर लगानी बढ्न सक्छ। यस्तो अवस्थामा शेयरको माग बढ्ने हुँदा शेयरको मूल्य पनि बढ्न पुग्छ।

माओवादी द्वन्दकालमा पनि विदेशमा रहेका नेपालीले पठाएको रकम अन्य क्षेत्रमा लगानी गर्ने अवस्था थिएन। त्यतिबेला पनि रेमिट्यान्समार्फत विदेशबाट आएको रकम शेयर बजारमा आएको थियो। माओवादीको द्वन्दमा पनि विदेशबाट पठाएको रकम जग्गा, सुन र शेयर बजारमा लगानी गर्न पुगेका थिए।

त्यसैगरी, बैंकको निक्षेपको ब्याजदरभन्दा शेयरमा गरिएको लगानीले प्रतिफल बढी दिने अवस्था आएको खण्डमा पनि शेयर बजार बढ्न पुग्छ।

नयाँ नयाँ कम्पनी आउने र आइपीओ जारी हुँदा पनि त्यस्ता कम्पनीमा लगानीकर्ताले शेयर भर्न पुग्छन्।

बैंकको ब्याजदर घट्दा पनि शेयरको मूल्य बढ्ने गर्छ। बैंकबाट सस्तो ब्याजमा ऋण लिएर शेयर खरिद गर्ने भएकाले पनि शेयरको मूल्य बढ्ने भएको हो। तर, ब्याजदर घट्यो भने शेयर बजार घट्ने गर्छ।

बैंकहरुले प्रत्येक तीन तीन महिना लाभांश वितरण गर्न पाउने व्यवस्था गर्नुपर्छ। त्यसो गरेको खण्डमा बैंकले वितरण गरेको लाभांश पुनः बैंकमा नै जम्मा हुन पुग्ने र त्यो फेरी लगानी गर्न सकिन्छ। निश्चित प्रतिशत बैंकको कोषमा राखेर बाँकी लाभांश तीन-तीन महिनामा वितरण गर्दा पनि राम्रै हुन्छ।

चीनमा उद्गम भएको कोराेना भाइरसको संक्रमण अहिले विश्वका धेरै मुलुकमा देखिएको छ। यसको असर अर्थतन्त्रमा विश्वव्यापी रुपमा नै परेको छ। कोरानाको कारण नेपालको अर्थतन्त्रमा पनि प्रभाव परेको छ।

अन्य ठाउँमा लगानीका अवसर नभएका कारण सुनको भाउ बढेको हो। चीन र अमेरिकाको व्यापारमा देखिएको तनावले गर्दा सुनको भाउ बढिरहेको थियो। कोरोना भाईरसले त्यसलाई निरन्तरता दिएको छ।

विश्व अर्थतन्त्रमा नै शिथिलता आएको छ। नेपालको अर्थतन्त्रलाई पनि कोरोना भाइरसले प्रभाव पारेको छ। लगानीका क्षेत्रहरु खुम्चिँदै गएका छन्। यस्तो बेलामा सुरक्षित क्षेत्र सुन, शेयर र जग्गामा रकम जान थालेको छ।

(युवा अर्थशास्त्री डा. पौडेलसँग गरिएको कुराकानीमा आधारित लेख)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।