सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कार्यकारी निर्देशक डा. गोपाल दहित र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् । लघुवित्तको अधिकृत पूँजी १० करोड रुपैयाँ, जारी पूँजी ९ करोड रुपैयाँ र चुक्ता पूँजी ६ करोड ३० लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी ९ करोड रुपैयाँ हुनेछ ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५/४/१८ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७५ साल मंसीर ६ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७५ साल पौष १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।
कोहलपुर, बाँकेमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र मध्ये बर्दिया, कैलाली, बाँके, कञ्चनपुर, दाङ र कपिलवस्तु जिल्लाभित्र ३८ वटा शाखा कार्यालय मार्फत् ८२ हजार ८६५ विपन्न वर्गका महिलाहरुलाई समूहमा आवद्ध गरी १ अरब रुपैयाँ, ७८ करोड ९८ लाख ९३ हजार रुपैयाँ बचत संकलन तथा २ अरव ५० करोड ४३ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह रहेको छ ।
स्थापनाकाल देखि नै नाफामा संचालन रहेको लघुवित्त संस्थाले आ.व.०७६/०७७ आषाढ मसान्तसम्ममा ४ करोड ५ लाख रुपैयाँ खुद मुुनाफा गर्न सफल भएको छ ।