गत दुई महिनामा स्वदेशी लगानीमै २८ अर्ब रुपैयाँ बराबरका नयाँ कम्पनी खुले

Sep 20, 2020 06:20 PM Merolagani

मुलुकले विदेशी लगानीकर्ता भित्र्याउने भनिरहदा स्वदेशी लगानीकर्ताले नै पर्याप्त लगानी गर्न थालेका छन्। वैदेशिक लगानीकर्ताको प्रतिबद्धता भन्दा स्वदेशी लगानीकर्ताको लगानी उत्साहजनक देखिन थालेको छ।

चालु आर्थिक वर्षको दुई महिनामा ३० देखि ३२ अर्ब रुपैयाँ वैदेशिक लगानी आउने अनुमान उद्योग विभागको छ। जबकि चालु आर्थिक वर्षको दुई महिनामै स्वदेशी लगानीकर्ताले २८ अर्ब रुपैयाँ लगानी नै गरिसकेका छन्।

"कोभिडका कारण थोरै विदेशी लगानी घट्ने अनुमान गरेका छौ। ३० देखि ३२ अर्ब  रुपैयाँ आउने विभागको अनुमान छ" उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले मेरो लगानीसँग भने।    

तर यता चालु आर्थिक वर्षको दुई महिनामा मै मुलुकमा २८ अर्ब रुपैयाँ बराबरको नयाँ लगानी भएको छ। विभिन्न क्षेत्रका नयाँ व्यवसाय सुरुवातका लागि २८ अर्ब  रुपैयाँ बराबरको लगानी भएको हो। कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार गत दुई महिनामा चार हजार दुई सय २७ नयाँ कम्पनी दर्ता भएका छन्। तीनै कम्पनीहरूले नयाँ व्यवसायमा उक्त रकम लगानी गर्ने भएका हुन्। दर्ता भएका नयाँ कम्पनीको  कुल चुक्ता पूँजी २८ अर्ब  ७४ करोड ९२ लाख २३ हजार चार सय रुपैयाँ छ। जुन रकम नयाँ लगानीको रुपमा बजारमा परिचालित हुने छ।

"गएको दुई महिनामा २८ अर्ब  रुपैयाँ लगानी भएको छ। नयाँ कम्पनीले उक्त रकम लगानी गरेका हुन्। दुई महिनाको अवधिमा चार हजार दुई सय २७  नयाँ कम्पनी दर्ता भएका छन्।उनीहरूको चुक्ता पूँजी २८ अर्ब रुपैयाँको हाराहारीमा छ" कम्पनी रजिष्टार कार्यालयका रजिष्टार प्रदीप राज अधिकारीले मेरो लगानीसँग भने।

लगानीकर्ताहरू मुलुकमा लगानी गर्न निक्कै उत्साहित रहेको देखिन्छ। कोभिडले समस्या पारेको भए पनि नयाँ लगानीमा भने उत्साह कायमै देखिएको छ। चालु आर्थिक बर्ष लागे देखिनै व्यवसायिक वातावरणमा अवरोध देखिए पनि नयाँ लगानी गरी व्यवसाय गर्ने वातावरणमा भने खासै असर नगरेको अधिकारीको भनाई छ।

मुलुकमा विदेशी लगानीकर्ताले भन्दा बढी स्वदेशी लगानीकर्ताले बढी लगानी गर्ने गरेका छन्। तर राज्यका नजरमा भने स्वदेशी लगानीकर्ता खासै पर्ने गरेका छैनन्। उनीहरूलाई दिनु पर्ने सेवा र सुविधामा अझै कन्जुस्याइँ हुने गरेको छ। उनीहरूलाई गरिने कन्जुस्याइँकै कारण व्यवसायीक क्षेत्रले भनेजस्तो प्रगति गर्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघका एक अधिकारीको आरोप छ।

मुलुकमा स्वदेशी लगानीलाई प्रवर्धन गर्ने गरी नीतिहरूमा परिवर्तन गर्न नसक्नु, स्वदेशी उत्पादनले विदेशी बजारमा प्रतिस्पर्धा गर्न नसक्नु,विदेशी उत्पादन भन्दा स्वदेशी उत्पादन महँगो पर्नु जस्ता कारणले भने जस्तो प्रगति हुन नसकेको उनको भनाइ छ। राज्यले सम्बोधन गर्न सके स्वदेशी उत्पादन र लगानीले नै मुलुकलाई प्रगति उन्मुख गराउने उनको दाबी छ। 

स्वदेशी लगानीकर्ताले सुरुवात गरेको नयाँ कम्पनीबाटै राज्यले गएको दुई महिनामा ११ करोड रुपैयाँ राजस्व उठाएको छ। नयाँ कम्पनी खुल्ने दर बढ्दै जाँदा यो क्रम थप बढ्ने कार्यालयको भनाइ छ। राज्यले कम्पनी खुल्दा नै सामान्य आम्दानी गरिसकेको छ। खुलेका नयाँ कम्पनीले उत्पादन सुरु गरेपछि त्यसबाट राज्यले थप राजस्व पाउने छ भने मुलुकमा ती कम्पनीहरूले नयाँ रोजगारी समेत सिर्जना गर्ने छन्।    

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।