दशैँको दक्षिणाले बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

Oct 27, 2020 07:19 AM Merolagani

नेपालीहरुको महान् चाड दशैं भन्ने बित्तिकै राम्रो लुगा, मिठो मिठो परिकारका खाना बनाएर सबै परिवारका सदस्यहरु एकै ठाउँमा जमघट भएर मनाउने चाड अनि मान्यजनबाट आर्शिबाद र टीका थाप्ने र दक्षिणा पाउने गरिन्छ। 

दशैँ विशेषगरी बालबच्चाहरुका लागि अझै खास हुने गर्दछ । राम्रो लुगा र मीठो खानासँगै उनीहरुको दिमागमा दशैँमा टीका लगाएर ठूलाबडाहरुले दिने दक्षिणाले गर्दा पनि उनीहरुका लागि दशैँको छुट्टै महत्व रहन्छ । दशैंको दक्षिणा खर्च गर्न अनेक बहानाहरु हुन्छन् तर तपाईहरुले बालबालिकालाई दक्षिणा स्वरुप प्राप्त उक्त पैसालाई खर्चभन्दा आम्दानीको रुपमा सदुपयोग गर्नुभयो या गर्न सिकाउनु भयो भने यसले तपाईको बालबच्चालाई भविष्यका लागि केही मात्रमा सहयोग र आधार समेत प्रदान गर्दछ ।

कतिपयलाई बालबालिकाले दक्षिणा स्वरुप पाएको थोरै पैसाको सदुपयोग कसरी गर्ने, कहाँ राख्ने वा कहाँ कसरी लगानी गर्ने भन्ने जानकारी वा ज्ञान नहुँदा पनि उक्त पैसा स्वत खर्च भएर सकिने गरेको छ ।

थोरै रकमबाट हुने लगानीले पनि भविष्य निर्माणका लागि सहयोग पुर्याउन सक्छ। तर त्यसका लागि सानो रकम कसरी र कहाँ सदुपयोग गर्ने भन्ने कुराका बारेमा जान्न जरुरी हुन्छ ।

दशैँमा दक्षिणा स्वरुप प्राप्त सानै रकमबाट सामान्य बचत शुरु गर्न पनि सकिन्छ । जहाँ तपाईको दक्षिणाकोे सही सदुपयोग हुनसक्छ । यसका साथै दशैंमा जम्मा भएको उक्त रकम शेयर बजारमा पनि लगानी गर्न सकिन्छ । शेयर बजारमा लगानी गर्नका लागि ठूलै पुँजी चाहिन्छ भन्ने पनि होइन । सानो रकमबाट पनि शेयर बजारमा लगानी गर्न सकिन्छ। बालबालिकाहरुले पाएको दक्षिणाबाट सुरुमा कम्पनीहरुले निष्काशन गर्ने आइपीओबाट पनि लगानी गर्न सक्नुहुनेछ । यसका लागि सानो रकम अर्थात् एक हजार रुपैयाँ भए पनि पुग्छ ।

त्यसैले फजुल खर्च घटाएर स–सानो रकमबाट आजैदेखि बचत शुरु गर्नुहोस् र भविष्यका लागि काम लाग्ने, आफूलाई उपयुक्त हुने स्थानमा लगानी गर्नुहोस् ।

नेपालमा अहिले कागज बिहिन शेयर कारोबार सुरु भई सकेको छ। डिम्याट खाता नहुनेहरुले प्राथमिक अथवा दोस्रो बजारमा शेयर कारोबार गर्न सक्ने छैनन् । त्यसैले बालबालिकाको पनि शेयरमा लगानीको सुरुवात गराउनका लागि पहिलो चरणमा डिम्याट खाता खोलिदिन अनिवार्य हुन्छ । त्यसपछि मात्र शेयर कारोबार प्रक्रिया अगाडि बढाउन सकिन्छ ।

बालबालिकाको डिम्याट खाता कसरी खोल्ने?
डिम्याट खाता धितोपत्र बोर्डबाट निक्षेप सदस्यको कार्य गर्न अनुमति पत्र प्राप्त निक्षेप सदस्यता लिएका बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक र ब्रोकर कम्पनी मार्फत खोल्न सकिन्छ । डिम्याट खाता खोल्ने प्रक्रिया पनि बैंकमा खाता खोल्ने प्रक्रिया जस्तै हो । जसरी बैंक खाता खोल्न विभिन्न कागजपत्र आवश्यक हुन्छ्न्, त्यसैगरी डिम्याट खाता खोल्न पनि आवश्यक कागजातहरु पेश गरी खाता खोल्ने फाराम भरेर बुझाएपछि निक्षेप सदस्यले सिडिएस लिमिटेडको प्रणालीमा प्रविष्ट गर्दछ ।

डिम्याट खाता बच्चा देखि वृद्ध अवस्थाका सबै ब्यक्तिको नाममा खोल्न सकिन्छ । बच्चा अर्थात् नाबालकको नामबाट डिम्याट खाता खोल्न बच्चाको फोटो, जन्मदर्ता प्रमाणपत्रको फोटोकपी र संरक्षकको नागरिकताको फोटोकपी र फोटो आवश्यक हुन्छ। डिम्याट खाता खोल्न सुरुमा ५० रुपैयाँ र त्यसपछि हरेक वर्ष एकसय रुपैयाँ नवीकरण शुल्क बुझाउनु पर्ने हुन्छ ।

सिडिएस एण्ड क्लियरिङ्गले सम्पूर्ण विवरण स्वीकृत गरी १६ अंकको डिम्याट खाता नम्बर दिएपछि डिम्याट खाता सञ्चालन हुन्छ । डिम्याट खाता खोल्दा निक्षेप सदस्य (डिपि) ले ग्राहकलाई चेक बुक अथवा डिपोजिट इन्स्ट्रक्सन स्लिप दिन्छ ।

अब डिम्यात खाता खोले पछि कुनै पनि कम्पनीको शेयर सिधै खातामा जम्मा हुन्छ । कम्पनीको प्राथमिक निष्काशनमा (आईपिओ) बाँडफाँट भएको शेयर तथा कम्पनीहरुले वितरण गर्ने बोनस शेयर सिधै डिम्याट खातामा जम्मा हुन्छ ।

कुनै पनि कम्पनीको भौतिक शेयरलाई डिम्याट खातामा जम्मा गर्दा प्रमाण पत्र हराउने, नष्ट हुने जस्ता अन्य खतराहरु रहदैनन् । डिम्याट खाताले शेयर कारोबारमा समेत सहज बनाउँछ । खरिद गरेको शेयर सिधै खातामा जम्मा हुन्छ भने बिक्री गरेको शेयर पनि आफै कटौती हुन्छ । जसले गर्दा शेयर प्रमाण पत्र भुक्तानी गर्न लाग्ने समयको पनि बचत हुन्छ ।

कोरोना महामारी व्याप्त रुपमा फैलिरहेका बेला आफू जहाँ हुनुहुन्छ, त्यहीँ बसेर धेरै भीडभाड नगरी सुरक्षित साथ महान् चाड दशैँ मनाउनुहोस् । आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको ख्याल राख्दै आफ्ना नानीबाबुहरुले दशैँमा दक्षिणा स्वरुप प्राप्त गरेको पैसाबाट सुरक्षित लगानी गरी भविष्यका लागि आधार बनाउनुहोस् ।
प्रस्तुतिः सबिना बजगाई 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।