राष्ट्र निर्माणमा पूँजी बजारको महत्व बुझाउनकै लागि महासंघमा उम्मेदवारी दिएकाे हुँ: अम्विका प्रसाद पौडेल

Nov 20, 2020 05:31 PM Merolagani

"नेप्सेको बढाइ बुलिस ट्रेण्ड उन्मुख हो, बुलिस मार्केट भइसकेको अवस्था होइन"

पछिल्लो समय शेयर बजारमा सुधारमा देखिएको छ । नेप्से बढेर १७७८ को अंकमा पुगेको छ । नेप्सेले मात्र होइन, कारोबार रकममा पनि रेकर्ड ब्रेक गर्दै अगाडि बढदै गएको छ । 

दैनिक एक डेढ अर्बमा कारोबार हुँदै आएको शेयर बजारमा पछिल्लो समय ६ अर्बको हाराहारीमा शेयर कारोबार हुन थालेको छ ।नेप्से बढनुका आधा दर्जन कारणहरु रहेको लगानीकर्ताहरु बताउँछन् । बैंकको ब्याजदरमा कमी आउनु, कोरोना भाइरसको खोप निकट भविश्यमा नै आउने सुभ समाचार बाहिर आउनु, नेप्सेमा सूचीकृत कम्पनीको पहिलो तीन महिनाको वित्तीय विवरण राम्रो आउनुलगायतका कारण नेप्से उकालो लाग्न पुगेको बताइन्छ ।

शेयर बजार अझै उचाइमा पुग्ने लगानीकर्ताहरुले अपेक्षा गरेका छन् । पूँजी बजारका लगानीकर्ताहरुको सबैभन्दा पुरानो र ठूलो संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्विका प्रसाद पौडेलले पनि शेयर बजार अझै उचाइमा पुग्ने विश्वास गरेका छन् । उनी शेयर बजारका पुराना खेलाडी भएकाले पनि पुँजी बजारका बारेमा धेरै अनुभव रहेको उनका समकक्षीहरु बताउँछन ।

लगानीकर्ताहरुको संस्था इन्भेष्टर्स फोरमका अध्यक्ष हुँदा पनि पौडेलले पूँजी बजारको विकास, विस्तार र सुधारका लागि नियामक निकायलाई दवाव दिएका थिए । जसका कारण पूँजी बजारमा सुधार आउन सहयाेग पुगेकाे लगानीकर्ताहरूकाे भनाइ छ ।

पूँजी बजारको अझै सुधारको आवश्यकता रहेको बताउने पौडेलले पछिल्लो समय बजार सुधारका लागि व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघबाट सुधारका लागि आवाज उठाउने उद्घोष गरेका छन् ।

पूँजी बजारको विकास र विस्तारमा सक्रिय भूमिका खेल्ने पौडेलले महासंघमा आफ्नो उपस्थिति भए लगानीकर्तामैत्री नीति निर्माणमा भूमिका खेल्ने बताउँदै आएका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा एशोसिएट तर्फबाट केन्द्रीय सदस्यमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

पूँजी बजारमा आवद्ध नहुने उद्योगी व्यवसायी कमै होलान। तर पूँजी बजारलाई नै पहिलो प्राथमिकतामा राखेर ठूलो संस्थामा प्रवेश गर्न चाहने पौडेल सम्भवतः पहिलो उम्मेद्वार हुन् ।

निरन्तर उकालो लाग्दै आएको नेप्सेले अब कुन बाटो लेला,शेयर बजार उकालो लाग्नुको कारण, नेपाल उद्योग वाणिज्य महासंघमा जानुको कारणलगायतका समसामयिक बिषयमा नेपाल इभेष्टर्स फोरम पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एशोसिएटको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएका अम्विका प्रसाद पौडेलसँग मेरो लगानीका सहसम्पादक विष्णु बेल्वासेले गरेको कुराकानी गरेका छन् ।

सर्वप्रथम त नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लाग्नु भएकोमा यहालाई अग्रिम सुभकामना दिन चाहान्छु ।

धन्यवाद ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा तपाईको उम्मेदवारी किन ?

म पूँजी बजारमा निरन्तर लागि रहेको छु । मेरो पेशा नै पुँजी बजार हो । पुँजी बजारलाई नै मैले प्रमुख पेशाको रुपले लिएर हिडेको सन्दर्भमा भोलीका दिनमा पनि यसलाई पेशाकै रुपमा अघि बढाउन खोजेको छु । यो पेशलाई अझै मर्यादित,यो पेशालाई सबैको पहुँचमा पुर्याउन र यो पेशामा अझै बढी भन्दा बढी लगानीकर्तालाई ल्याएर राष्ट्र निर्माणका लागि आवश्यक पुँजी जुटाउनका लागि तथा पूँजी बजारको महत्व बुझाउनका लागि मैले उम्मेदवारी दिन लागेको हुँ ।

पूँजी बजारले पूँजी सिर्जना गर्न खेल्ने भूमिकाको बारेमा ब्यावसायीको तर्फ सम्बन्धित निकायमा बुझाउनका लागि पनि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) मा म जानु पर्छ । त्यो फोरम मैले प्रयोग गर्नु पर्छ । व्यवसायीको सबैभन्दा ठूलो फोरम महासंघ हो । त्यहा मार्फत मैले राखेका कुराले मान्यता पाउँछ । मैलै व्यक्तिगत रुपमा बोलेका कुराले खासै मान्यता राख्दैन् । महासंघमार्फत समग्र पूँजी बजारको विकास, बिस्तार र राष्ट्र निर्माणमा पूँजी बजारको भूमिकाको बारेमा सरकारलाई पनि बुझाउन सकियो र सम्वन्धित निकायमा पनि आफ्ना कुरा राख्न सकिने भएकाले पनि म महांसघमा जान खोजेको हुँ ।

तपाई लगानीकर्ताहरुको छाता संस्था नेपाल इभेष्टर्स फोरमको अध्यक्ष पनि भइसक्नु भएको छ । अहिले पूर्व अध्यक्षको हैसियतले लगानीकर्ताको तर्फबाट पनि पूँजी बजारका कुरा उठाउन सक्नु हुन्छ । किन महासंघमा नै जानु पर्यो र?

नेपाल इनभेष्टर्स फोरमको अध्यक्ष हुँदा पनि पूँजी बजारको विकास र विस्तारका बारेमा कुरा नउठाएको होइन् । मेरै कार्यकालमा पूँजी बजार सम्बन्धि समिति बनेको थियो । मेरै कार्यकालमा क्यापिटल गेन ट्याक्स सम्बन्धमा मैले जोडदरसँग कुरा उठाएको थिए । पूँजी बजार सुधारका लागि गर्नु पर्ने ५८ बुँदे सुधारका कार्यक्रम पनि मेरै कार्यकालमा आएको थियो । सबैलाई थाहा छ हामीले त्यसबेलामा ठूलो सघर्ष गरेका थियौं ।

इन्भेष्टर्स फोरम सानो प्लेटर्फम हो। महासंघ सबै किसिमका व्यवसायीहरुको साझा संगठन हो । यहा पूँजी बजार, मुद्रा बजार, उद्योग, व्यापार, व्यवसाय, आयात, निर्यात, पयर्टनसँग सम्बन्धित व्यक्तिहरुको साझा संस्था हो । व्यापारका सबै सेगमेन्टहरु छन् । इभेष्टर्स फोरममा भन्दा महासंघको फोरमबाट लाग्दा बढी प्रभावकारी हुन्छ भनेर नै महासंघमा जान लागेको हुँ ।

पूँजी बजारको कुरा गर्दा दिन प्रतिदिन नेप्से बढेको छ । नेप्से बढेर १८०० अंकको नजिक पुग्न लागेको छ । कारोबारका हिसाबले पनि दैनिक ६ अर्बभन्दा माथि हुन लाग्यो । यसरी पूँजी बजार बढेको छ । यो बढाइलाई तपाईले कसरी हेर्नु भएको छ ?

पूँजी बजारको अहिले यो बढाइ स्वभाविक हो । आज भन्दा चार वर्षअघि पनि पूँजी बजार १८८१ अंकमा पुगेको हो । चार वर्षको अवधिमा नेपालको समग्र अर्थतन्त्रको बृद्धिलाई हेर्ने हो भने चार वर्षको अवधिमा भएको मुल्य बृद्धिलाई हेर्ने हो भने, चार वर्षकोबीचमा लगानीकर्ताले तिरेको ब्याजलाई हेर्ने हो भने के यो इन्डेक्स ठिक हो त ?

चार वर्षको अवधिमा हामी कम पीडामा थियौं । त्यस अवधिमा बिग्रियो, भत्कियो, गाह्राे भयो । हिजोका दिनमा पूँजी बजार घटेका थियो । चार वर्षअघि पनि नेप्से यो भन्दा माथि थियो भने बजार धेरै बढेको छ, धेरै बढ्यो भन्ने कुरामा म सहमत छैन् । यस कुरालाई म मान्दिन ।

आजभन्दा चार वर्षअघि लगानी गर्नु भएका लगानीकर्तालाई तपाईले सोध्नु भयो, बुझ्नु भयो भने पनि आज पनि ती लगानीकर्ता आफ्नो साँवामा आइसकेको अवस्था होइन् । राम्रा कम्पनी आज ब्यूलु चिफ भनिएका कम्पनी पनि साँवामा नआएको अवस्था छ । बजार धेरै माथि गएको होइन् । बजारले एउटा गति लिएको हो । हिजो डाउनफल अवस्थाबाट बजार भर्खरै माथि उक्लेको अवस्था हो । यो बुलिस ट्रेण्ड उन्मुख अबस्था हो । यो बुलिस मार्केट भइसकेको अवस्था होइन । यसले क्रमशः आफ्नो आफ्नो स्टेपलाई समाप्दै अगाडि बढेको छ । हिजो कुनै बेला १२००, कुनै बेला १४००, कुनै बेला १६०० र कुनै बेला १७०० स्टेप लिँदै अगाडि बढेको हो । बजारले आफ्नो फाउन्डेशन बनाउँदै यो बुलिस ट्रेण्ड अवस्थामा बजार गएरहेको अवस्थामा मैले लिएको छु । यसलाई मैले बुलिस मार्केट नि भन्दिन । बजार धेरै बढ्यो भन्ने कुरामा त म कतै सहमत नै छैन् ।

पूँजी बजार एकाएक सुधार हुनुको पछाडिको कारण के होला ?

बजार सुधार हुनुका धेरै कारणहरु छन् । ती मध्ये पछिल्लो समयमा नियामक निकायका पदाधिकारीहरुको बजार प्रतिको सकारात्मक दृष्टिकोणकै कारण पनि बजार सुधार हुन पुगेको हो । धितोपत्र बोर्डका अध्यक्ष आइसकेपछि उहाँले बजार बिस्तार, विकास र सुधारका लागि साच्चिकै निरन्तर रुपमा प्रयास गर्नु भएको छ ।

अर्को कुरा प्रविधि पनि हो । हामीले धेरै प्रयास गरेका हौं । कमी कमजोरी सधै हुन्छन् । कमी कमजोरी अहिले पनि छन् । कमी कमजोरी पुरै निराकरण भए म भन्दिन् । तर हामीले अहिले अनलाइनको प्रयोग गरेका छौं । हिजो ५० वटा ब्रोकरबाट हुने कारोबार आज ५० हजार ल्यापटप र ५० हजार हातबाट भएको छ । हिजो काठमाडौंको ५० वटा ब्रोकरबाट हुने कारोबार आज ट्याक्सी, बसबाट हिडदा पनि भएको छ । आज कारोबार हुम्ला, जुम्ला, धनगढी, ताप्लेजुङबाट पनि भएको छ ।

यसको मतलब हामीले खोजेजस्तो अनलाइनबाट कारोबार हुन सकेको छैन् । सुधार गर्नु पर्ने छ ।

अर्को कुरा पछिल्लो समयमा घटेको ऋणको ब्याजदर त्यसले पनि लगानीकर्ताको लागत (कष्ट) लाई स्वातै घटाएको छ । त्यसले पनि बजार माथि लैजान सहयोग पुगेको छ । सहज रुपमा कर्जा पाइराखिएको छ ।

अर्को कुरा बचतकर्ताको ब्याजदर घटेको छ । बचतकर्ता हिजो बचतको ब्याजदरबाट मनग्य आम्दानी कमाएको अवस्था थियो । आज त्यो सलक्कै घटेको अवस्थामा बचतको ब्याजदरबाट भन्दा बढी आम्दानी पूँजी बजारबाट पाउने अवस्था छ ।

अर्को कुरा सरकारका नीति नियममा पनि क्रमश सुधार हुँदै आएका छन् । नयाँ अथमन्त्री आउनु भएको छ । उहाँलाई आम लगानीकर्ताको अझ बढी विश्वास छ । धेरै लगानीकर्ताको उहाँप्रति विश्वास छ । उहाँले सबै लगानीकर्ताका कुुरा सुन्नु हुन्छ, बुझ्नु हुन्छ । नयाँ अर्थमन्त्रीले बजारलाई कसरी अगाडि बढने भन्नेबारेमा सकारात्मक रुपले सोच्नु हुन्छ । बजार सुधारका बारेमा सोच्नु हुन्छ ।

त्यो भन्दा ठूलो कुरा कोरोन भाइरस संक्रमणले बजार घटन पुग्यो । अन्तराष्ट्रिय जगतमा कोभिडको खोप सफल भएको समाचार आएको छ । शेयर बजारले अन्तराष्ट्रिय बजारमा पनि नयाँ नयाँ रेकर्ड कायम गरेर पुँजी बजार माथि लागेको छ । यस्तो अवस्थामा नेपाली लगानीकर्तालाई पनि त्यस्तो किसिमको सकारात्मक मनोबिज्ञानले काम गरेको छ । यी लगायत कारणहरुले गर्दा आगामी दिन पनि पुँजी बजारका लागि सुनौलो दिन छ । तत्काल लगानीयोग्य पुँजी (तरलता) कमी हुने अवस्था छैन् । तत्कालै ऋणको ब्याज बढने अवस्था छैन् । यसले गर्दा आगामी दिन अझै सुन्दर भएका हुन् । हामीले हिजो नोक्सानीमा गएका लगानीकर्ताका लागि पनि आगामी दिनमा उहाँहरुको नोक्सानी ब्याज सहित परिपूर्ति (कभर) हुन्छ भन्ने मलाई बिश्वास छ ।

तपाईको बिचारमा पूँजी बजारलाई अझै सुधार गर्नु पर्ने कुराहरु के के छन ?

सुधार भनेको निरन्तर चलिरहने प्रक्रिया हो । हामीले बिगतदेखि भन्दै आएका छौ, पुँजी बजारमा १० कित्तेलाई सुधार गर्नु पर्ने छ । धेरै पहिला ५० कित्ता थियो । पछि १० कित्ते आयो । अब यसमा समसामयिक सुधार गर्नु पर्छ । अनलाइन फयूचर र अप्सन मार्केटलाई छिटो भन्दा छिटो गर्नु पर्छ । पुँजी बजारमा इन्ट्राटेडिङको सुरुवात हुनु पर्छ । त्यसका अलावा अहिले भइरहेको ब्रोकर कमिसन घटाउनु पर्छ । हिजो ब्रोकरको सञ्चालन खर्च बढी थियो । सबै काम ब्रोकरको कार्यालयबाट गर्नु पर्ने थियो । अहिले सबै अनलाइनबाट भइसकेको र कारोबारको परिणाम (भोलुम) पनि अत्याधिक बृद्धि भइसकेको छ । यस्तो अवस्थामा भोलीका दिनमा ब्रोकर कमिशन घटनु पर्छ ।

अहिलेको प्रविधिले पनि हामीलाई धोका दिइराखेको छ । पछिल्लो समयमा आएको असाध्यै लगानीकर्ता मैत्री प्रविधि खरिद बिक्रीमा, टिएमएसमा पनि सुधार हुनुपर्छ । अझ राम्रो सिष्टम ल्याउनु पर्छ ।

पहिला पनि अर्थमन्त्री विष्णु पौडेल नै हुँदा नेप्से नयाँ उचाइमा पुगेको थियो । अहिले पनि नेप्सेले त्यही बाटो समाएको छ । अर्थमन्त्रीका कारणले पनि पुँजी बजार बढेको भनिन्छ । यसमा तपाईको भनाई के छ ?

पुँजी बजारमा धेरै कुराको अलावा लगानीकर्ताको मनोबिज्ञान र सरकारी कर्मचारी वा नियामक निकायका पदाधिकारीप्रतिको दृष्टिकोणले पनि फरक पार्ने गर्छ । विगतको कार्यकालमा पनि अर्थमन्त्री पौडेलको कार्यकालमा नेपालको पुँजी बजारले नयाँ उचाइ प्राप्त गरेको थियो । त्यो किसिमको उचाइ अहिले पनि देखिएको छ । पछिल्लो समयमा धेरै छिटो बजार माथि गइरहेको छ । त्यो मनोबिज्ञानले काम गरेको छ । आशा छ, अर्थमन्त्री पौडेलको कार्यकालमा नेपालको पुँजी बजारले ऐतिहासिक रेकर्ड कायम गर्छ । यसमा दुविधा मान्नु पर्दैन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।