तामाकोशी आयोजनाबाट बिजुली उत्पादन हुने समय नजिकिदै जादाँ शेयरबजारमा यसले कस्तो प्रभाव पार्ला?

Jan 12, 2021 08:14 AM Merolagani

विष्णु बेल्वासे

अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोशी (UPPER) आयोजनाबाट आगामी असारसम्ममा बिजुली उत्पादन हुने भएको छ। माथिल्लो तामाकोशी आयोजनाको पहिलो युनिटबाट आगामी चैतसम्ममा र अरु बाँकी युनिटबाट आगामी असारसम्म बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी काम भइरहेको छ।

आगामी असारसम्ममा सबै काम सकाएर बिजुली राष्ट्रिय प्रसारणलाईनमा जोडिसकिने योजना रहेको आयोजनका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए। ‘आगामी चैतसम्ममा पहिलो युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ,’ उनले भने, ‘बाँकी अन्य युनिटबाट त्यसपछि क्रमशः बिजुली उत्पादन हुँदै जानेछ र आगामी असारसम्म सबै ६ वटै युनिटबाट बिजुली उत्पादन हुनेछ।’ सुरुमा एउटा युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुने जानकारी पनि श्रेष्ठले दिए।

शेयर लगानीकर्ताले समेत प्रतिक्षा गरेको बहुप्रतिक्षित तामाकोशी आयोजनाको निर्माण सम्पन्न छिट्टै हुने समाचार आउदा बित्तीकै शेयरको मूल्य उच्च रुपमा बढ्ने र ढिलो निर्माण सम्पन्न हुने खबर सार्वजनिक भएसँगै शेयरमूल्यमा गिरावट आउने गरेको छ। उक्त आयोजनाबाट असारसम्म बिजुली उत्पादन भएपछि त्यसले शेयरबजारमा कस्तो प्रभाव पार्ला? आम लगानीकर्ता अहिले त्यही विश्लेषण गर्न थालेका छन् ।

यसअघि तामाकोशी आयोजनाबाट माघ महिना भित्र बिजुली उत्पादन हुने शुभ समाचार बाहिर आएपछि २२१ रुपैयाँमा कारोबार भइरहेको माथिल्लो तामाकोशीको शेयरमूल्य एकाएक दोब्बरभन्दा बढीले बढेको थियो। गत मंसिर २४ गते उक्त आयोजनाको शेयरमूल्य अहिलेसम्मकै उच्च ५२७ रुपैयाँसम्म पुगेको थियो।

त्यसपछि पुनः आयोजनाबाट बिजुली उत्पादन हुन ढिलो हुने समाचार सार्वजनिक भएसँगै शेयर मूल्यमा गिरावट आएको थियो। ५२७ रुपैयाँ पुगेको तामाकोशी आयोजनाको शेयर मूल्य घटेर ३८० रुपैयाँमा झरेको थियो।

अहिले माथिल्लो तामाकोशी आयोजनाको शेयरमूल्य प्रतिकित्ता ४३६ रुपैयाँमा कारोबार हुँदै आएको छ। आयोजनबाट बिजुली उत्पादन हुने मिति नजिकै गएका कारण पुनः उक्त कम्पनीको शेयरमूल्य बढ्न थालेको छ।

एक वर्षअघिदेखि नै बिजुली उत्पादन हुन थाल्ने बताइएपनि बहुचर्चित माथिल्लो तामाकोशी आयोजनाको लागत बढ्दै छ भने बिजुली उत्पादन हुने समय पनि पर धकेलिदै गएको छ।

गत वर्षको पुसबाट पहिलो युनिटबाट बिजुली निकाल्ने भनिएको थियो। त्यो पनि सम्भव भएन। त्यसपछि यही गत असार अन्त्यसम्ममा तामाकोशीको पहिलो युनिटबाट बिजुली निकाल्ने भनियो त्यो पनि सम्भव भएन। त्यसपछि पुनः दसैंसम्ममा पहिलो युनिटबाट बिजुली आउने अनुमान गरिएको थियो। तर त्यो समय भित्र पनि बिजुली आएन।

अहिले पुनः यो आर्थिक वर्षसम्ममा माथिल्लो तामाकोशी आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ। तर, त्यो समयसम्म पनि आयोजना सम्पन्न हुने हो कि होइन भन्ने निश्चित भने अझै देखिएको छैन।

शुरुमा ३५ अर्ब लाग्ने भनिएको उक्त आयोजनाको लागत निर्माण सम्पन्न हुने समयसम्म दोब्बरभन्दा बढीले बढने निश्चित छ। आयोजना निर्माणमा भएको ढिलाइका कारण आयोजनाले वार्षिक १० अर्ब आम्दानी समेत गुमाउदै आएको छ। आयोजनाबाट बिजुली उत्पादन समय पनि बढेको बढ्यै छ।

सबैभन्दा अप्ठयारो काम सकिएकाले आयोजनाबाट बिजुली निकाल्न धेरै लामो समयसम्म कुर्नु पर्ने अवस्था नभएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए। २०७२ सालमा आएको भूकम्प र कोरोना भाइरसका कारणले आयोजनाको काममा केही प्रभावित भएको जानकारी पनि श्रेष्ठले दिए।

निर्धारित समयमा आयोजना निर्माण नभएपछि आयोजनाको लागत बढ्दै गएको छ। अहिले नै आयोजनाको लागत ७० अर्ब पुगिसकेको छ। सुरुको ३५ अर्बको लागत बढेर ७० अर्ब पुगेको आयोजनाका कर्मचारीहरु बताउँछन्। आयोजना निर्माण सम्पन्न हुने बेलासम्म त्योभन्दा पनि बढी लाग्ने अनुमान गरिँदैछ।

आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बीमा संस्थानले २ र २ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपैया नेपाल सरकारले ऋण लगानी गरेका छन्। उनीहरुले प्रवाह गरेको ऋणको ब्याजदर ११ प्रतिशतभन्दा बढी छ।

कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक शेयर छ। कम्पनीमा सर्वसाधारणको १५ प्रतिशत, दोलखाबासीको १० प्रतिशत, सञ्चय कोषका सञ्चयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत शेयर छ।

स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी समयमै सम्पन्न भएमा मुलुकको अर्थतन्त्रमै गुणात्मक परिवर्तन आउने भनिदै आएको छ। तर, उक्त आयोजनाबाट बिजुली कहिले उत्पादन हुने हो? र अर्थतन्त्रले कसरी फडको मार्ने हो? त्यो भने अझै अनिश्चित छ।

२०७२ को भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाई हुँदै आएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।