वाणिज्य बैंककाे शेयर मूल्य बढ्न मर्जरकै लहर चल्नुपर्ने? मर्जरको लहरमा वाणिज्य बैंकको शेयरमा यसकारण हुन्छ आकर्षण

Apr 07, 2021 11:49 AM Merolagani

सुवास निरौला

शेयर बढ्न शुरु गरेको करिब एक वर्ष हुनै लागेको छ। बजारले वृद्धिको एक वर्ष पुरा गर्नै लाग्दा ऐतिहासिक विन्दु समेत चुमिसकेको छ। सूचीकृत सबै समूहका शेयरले उच्चतम मूल्य कायम गर्दै गर्दा वाणिज्य बैंक भने तुलनात्मक रुपमा पछि देखिएका छन्।

वाणिज्य बैंकको शेयर भने अझै माथि उक्लिन सकेका छैनन्। गएको दुई वर्षमा सबैभन्दा बढी बीमा कम्पनीको शेयरमूल्य बढेका छन्। बढ्दो क्रममा माइक्रोफाइनान्स दोस्रोमा छ भने होटेल सबैभन्दा पुछारमा छ। २०७५ फागुनको तुलनामा २०७७ फागुनमा सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक १२ हजार चार अंकले बढेको छ भने निर्जीवन बीमा समूहको उपसूचक सात हजार ६ सय १० अंकले बढेको छ। सबैभन्दा कम बढेको होटेल समूहको उपसूचकमा ३२९ अंकले बढेको छ।

हेर्नुस् कसको उपसूचक कति बढ्यो।

वाणिज्य बैंकको वृद्धि भने आठ सय ९३.५६ अंकको छ। तुलनात्मक रुपमा अरू समूहको जस्तो वृद्धि वाणिज्य बैंक समूहका छैन। वाणिज्य बैंक समूहका शेयरको ओभर सप्लाइ भएको कारण उसको शेयरको मूल्य अरू कम्पनी जस्तो बढ्न नसकेको बताइएको छ। "वाणिज्य बैंकको दोस्रो बजारमा ओभर सप्लाइ छ। जसले गर्दा मूल्य बढ्न नसकेको हो," नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले भने।

नेपाल स्टक एक्सचेन्जको आर्थिक वर्ष २०७६/७७ को वार्षिक विवरण अनुसार दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण १७ खर्ब ९२ अर्ब रुपैयाँ थियो। जसमा ५१.५२ प्रतिशत हिस्सा वाणिज्य बैंक समूहको छ। दोस्रो बजारमा सबैभन्दा बढी शेयर सङ्ख्या पनि सोही समूहको छ। वाणिज्य बैंक समूहको मात्रै दुई अर्ब ६४ करोड ५० लाख १२ हजार चार सय ६ कित्ता शेयर छ। जुन कुल सूचीकृत शेयरको ४५.२१ प्रतिशत हो। दोस्रो बजारमा दुई सय १२ कम्पनीका चार अर्ब ८२ करोड ७५ लाख ८१ हजार पाँच सय ७५ कित्ता शेयर छन्।

सूचीकृत शेयरमा सबैभन्दा बढी कारोबारमा आउने शेयर पनि यही समूहको हुने गर्छ। नेप्सेले उपलब्ध गराएको वार्षिक कारोबार विवरण अनुसार ४२ करोड ८५ लाख २१ हजार आठ सय १३ कित्ता शेयर कारोबार भए। गत वर्ष कारोबारमा आएका कुल शेयरमा ५८.८५ प्रतिशत शेयर वाणिज्य बैंक समूहकै छन्। गत वर्ष वाणिज्य बैंक समूहको १७ करोड ६३ कित्ता भन्दा बढी शेयर कारोबार भएका थिए।

वाणिज्य बैंक समूहमा सूचीकृत बैंकको सबैभन्दा कम आठ करोड ३३ हजार आठ सय ९६ कित्तादेखि सबैभन्दा बढी  १८ करोड ९७ लाख कित्तासम्म दोस्रो बजारमा सूचीकृत छन्। सबैभन्दा कम सिभिल बैंकको छ भने सबैभन्दा बढी ग्लोबल आइएमइ बैंकको छ। चुक्ता पूँजीको आधारमा पनि सबैभन्दा सानो बैंकको रुपमा सिभिल बैंक छ भने सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमइ हो।

दोस्रो बजारमा शेयर कारोबार हुने वाणिज्य बैंकको अग्रपंतिमा प्रभु बैंक पर्छ। गत वर्ष १७ करोड ६३ लाख कित्ता शेयर कारोबार हुँदा प्रभु बैंकको मात्रै ८.६१ प्रतिशत शेयर कारोबार भएको थियो। कारोबार भएकै आधारमा नेपाल बैंक दोस्रो स्थानमा थियो। उसको ८.५० प्रतिशत शेयर कारोबार भयो। तेस्रोमा एनएमबि बैंक ७.१४ प्रतिशत र चौथोमा एनआइसी एशिया ६.४२ प्रतिशत छन्।

टेबलमा हेर्नुहोस् कसको कति कारोबार भयो।

मर्जरको प्रकृयामा जाने वाणिज्य बैंकको शेयर दोस्रो बजारमा कारोबारमा आउन सक्दैनन्। उनीहरूको कारोबार केही समयको लागि रोक्का हुन्छ। रोक्का हुने बित्तिकै केही समय दोस्रो बजारमा वाणिज्य बैंकको शेयर आपूर्ति कम हुन्छ। अर्को तर्फ सबै वाणिज्य बैंक एकै नासका छैनन्। केही राम्रो मूल्य भएका कम्पनी छन् भने तुलनात्मक रुपमा केहिको मूल्य न्यून छ। कारोबार र नाफाका हिसाबले पनि सबै वाणिज्य बैंक समान छैनन्। यसले मर्जरमा जाँदा दोस्रो बजारलाई फाइदा पुर्याउने बताइएको छ। "हिमालयन बैंक र इन्भेस्टमेन्ट बैंकको मर्जरको हल्ला बढी आइराखेको छ। उनीहरू मर्ज हुँदा २३ करोड ६२ लाख कित्ता शेयरको कारोबार रोक्का हुन्छ। गत वषर्कै कारोबारलाई हेर्ने हो भने २.९६ प्रतिशत शेयरको कारोबार हुने छैनन्। तीनको शेयर किन्दै आएका लगानीकर्ताले बाध्य भएर अर्को बैंकको शेयर किन्नु पर्नेछ। जसले गर्दा थोरै अन्य बैंकको शेयरको माग बढ्नेछ। जसले मूल्य पनि बढ्ने सम्भावना हुने छ" दोस्रो बजारमा लामो समय देखि बैक वित्तीय संस्थाका शेयरको मात्रै कारोबार गर्दै आएका लगानीकर्ता गोपाल ओलीले मेरोलगानीसँग भने।

हिमालयन र इन्भेस्टमेन्ट बैंक मर्जर हुँदा उनीहरूको चुक्ता पूँजी २३ अर्ब ६२ करोड पुग्नेछ। चुक्ता पूँजीको आधारमा सोही बैंक नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा देखिनेछ। यस अघिको ग्लोबल आइएमइ बैंकको सबैभन्दा ठुलो बैंकको ताज खोसिनेछ। चुक्ता पूँजीको हिसाबले ठूलो हुँदै गर्दा शाखा सञ्जाल र व्यवसायको आकारमा समेत उक्त बैंकको पहुँच वृद्धि हुनेछ। जसले अरू वाणिज्य बैंकहरुलाई प्रतिस्पर्धामा चुनौती थपिनेछ। व्यवसायमा चुनौती थपिँदै गर्दा अन्य बैंकले पनि व्यवसाय बढाउनै पर्ने बाध्यता हुनेछ। जसले गर्दा बैंकहरूलाई मर्जरमा जानुको विकल्प नहुने ओलीको विश्लेषण छ।

मर्जरमा जाँदै गर्दा सबै बैंक एकै नासका छैनन्। पूँजी व्यवसायको हिसाबले कुनै वाणिज्य बैंक साना छन् भने कुनै ठुला छन् । साना र ठुला बैंक गाभिँदा पक्कै पनि ठूलाले साना बैंक गाभ्दा स्वाप रेसियो कम हुने छ। कुनै ठुलो बैकले सानो बैकलाई गाभ्दा ५० देखि ७० प्रतिशत सम्म स्वाप रेशियो तय हुने छ। स्वाप रेशियो तय हुँदा जसले सानो बैंकलाई गाभ्छ, सानो बैंकको शेयर ७० देखि ३० प्रतिशत सम्म घट्छ भने उता ठूलो बैंकले प्राप्त गरेको स्वाप मार्फत प्राप्त गरेको रकम जगेडा कोषमा जम्मा हुनेछ। जसले एक बैंकको शेयर घट्छ भने अर्को बैंकले प्राप्त गरेको रकमले ठुलो बैकको लाभांश क्षमता बढाउने छ। जसले गर्दा शेयर बजारमा शेयरको आपूर्ति कम हुने र लाभांश क्षमता बढ्दा शेयरको माग बढ्दै जाने छ। माग बढ्दै जाँदा शेयरको मूल्य पनि बढ्दै जाने ओलीको भनाइ छ।

जति जति वाणिज्य बैंक कम हुँदै जान्छन्, त्यति त्यति बजारमा कारोबारमा आउने बैंकको शेयर कारोबार रोकिनेछ। कारोबार रोकिँदै गर्दा लगानीकर्ताले अर्को बैंकको शेयर किन्नुपर्ने अवस्था आउँछ। जति जति साना वाणिज्य बैंक बिलाउँदै जान्छन्, स्वाप रेशियोको कारण उनीहरूको शेयर सङ्ख्या पनि घट्दै जानेछ। शेयरको सङ्ख्या घट्दै जाने र माग बढ्दै जाँदा शेयरको मूल्य स्वभाविक रुपमा बढ्दै जानेछन्। दोस्रो बजारमा साना र सस्तो मूल्यका बैंकको शेयर नै नभएपछि ठूला र राम्रा बैंकको मात्रै उपस्थितले स्वभाविक रुपमा बैंकको शेयरमूल्य बढी हुनेछ। यही अवस्थाको सुरुवात हिमालयन र इन्भेष्टमेन्टको मर्जरबाट हुने ओलीको तर्क छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।