शेयर कारोबारीले पूँजीगत लाभकर छल्न थालेपछि छड्के जाँचको तयारी, लगानीकर्ताकै हातमा डाडु पन्यु दिएपछि कर छलेको आशङ्का

Apr 13, 2021 04:21 PM Merolagani



सुवास निरौला

दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले पूँजीगत लाभकर गणनामा गडबडी गरेको आशङ्कामा छड्के जाँच गरिने भएको छ। महालेखा परीक्षकको कार्यालयको अनुरोधमा आन्तरिक राजस्व विभागले उक्त जाँच गर्ने भएको हो।

 महालेखा परीक्षकको कार्यालयले शेयरको लागत दाखिला गर्दा लगानीकर्ताले बजार मूल्य भन्दा निकै बढी मूल्य दाखिला गर्ने गरेको पाइएको र उक्त विवरणको आधारमा वास्तविक कर असुल उपर नभएको भन्दै कारोबार छानबिन गर्न आन्तरिक राजस्व विभागलाई पत्राचार गरेको छ। वास्तविक रुपमा यथार्थ विवरण पेस भए नभएको पत्ता लगाउन कार्यालयको अनुरोधमा विभागले छड्के जाँच गर्ने तयारी गरिरहेको आन्तरिक राजस्व विभाग स्रोतले जनाएको छ। "शेयर लागत दाखिला गर्दा झुटो विवरण दाखिला गरी कर छली भइरहेकोले त्यसको छानबिन गर्न पत्र प्राप्त भएको छ। कारोबार विवरण नै मगाएर दाखिला भएको मूल्य र यथार्थ मूल्य भिडाएर छानबिन गर्ने तयारी छ" विभाग स्रोतले भन्यो। तर कहिले यस्तो जाँच हुन्छ भन्ने प्रश्नमा विभाग भन्छ "कर छलेको छानबिन भन्ने बित्तिकै कहिले र कहा भन्ने कुरै हुँदैन। कुनै पनि दिन कसैको पनि कारोबार विवरण छानबिन हुन सक्छ।"

यसअघि पनि महालेखा परीक्षकको कार्यालयले पूँजीगत लाभकर असुली विधिमा परिवर्तन गरिएको भए पनि त्यसमा सुधार नभएको भन्दै आएको थियो। कार्यालयले प्रकाशित गरेको वार्षिक प्रगति प्रतिवेदन २०७६/७७ मा समेत उक्त विषय उल्लेख गरेको छ। "नीतिगत रुपमा विगतमा औँल्याइएको विषय सम्बोधन भए पनि कार्यान्वयन पक्षमा सुधार भएको देखिएन" प्रतिवेदनमा उल्लेख छ।

"कानुन बमोजिम दर्ता भई धितोपत्रको खरिद बिक्रीको फरफारक गर्न स्थापित सिडिएस एण्ड क्लियरिङ लिमिटेडले उल्लेखित उपदफा २ क बमोजिमको भारित औसत लागत गणनाका लागि मेरो शेयर एप्लिकेशन प्रयोग गरेको छ। उक्त प्रणालीको औसत लागत स्वीकार्य नभएमा प्रमाणको आधारमा शेयरधनी आफैले मूल्य राख्न पाउने गरी प्रयोगकर्तालाई सुबिधा दिएको छ। यस सुबिधा अनुसार प्रयोगकर्ताले प्रणालीमा देखाएको डिम्याट,बोनस शेयर, प्राथमिक शेयर र हकप्रद  शेयरको मूल्यभन्दा बढी लागत उल्लेख गरेका कारण प्रणालीले देखाएको भन्दा देहाय बमोजिम १४ अर्ब १५ करोड ७६ लाख रूपैयाँ बढी लागत देखाएको अवस्था छ। यसबाट ७० करोड ७९ लाख रूपैयाँ घटी असुल हुने देखिन्छ" प्रतिवेदनमा थप प्रस्ट्याइएको छ।

लगानीकर्ताले आफैले लागत दाखिला गर्न पाउने विधिले गर्दा नै कारोबारीले कम कर लाग्ने गरी लागत दाखिला गर्ने गरेकोले उनीहरुलाई आफैले कर दाखिला गर्न दिनु भन्दा यथार्थ औसत लागतको आधारमा लागत गणना हुने तथ्याङ्क उपलब्ध नभएमा मात्र घोषणा गराउने व्यवस्था गर्नु पर्ने कार्यालयले प्रतिवेदन मार्फत सुझाव समेत दिएको छ।

दोस्रो बजारमा शेयर बिक्री गर्नु भन्दा अघि भारित औसत मूल्य गणना गर्नु पर्छ। भारित औसत मूल्य गणना गर्दा मेरो शेयर एप्लिकेशन मार्फत गर्नु पर्ने हुन्छ। लगानीकर्ताले भारित औसत मूल्य गणना गर्दा मेरो शेयर एप्लिकेशनले आफ्नै तथ्याङ्क स्रोतबाट एक मूल्य सुझाउँछ। उसले प्राप्त गर्न नसकेको मूल्यको भने एक सय रुपैयाँकै दरले राखिदिने गर्छ। उसले दिएको मूल्यमा फरक आए लगानीकर्ताले आफ्नै जबाफदेहितामा मूल्य फेर बदल गर्न पाउँछन्। एप्लिकेशनले मर्जरमा गएर कारोबार खुलेका कम्पनीको वास्तविक मूल्य पत्ता लगाउन सक्दैन। त्यसैगरी शेयर बिक्री गरिसकेपछि आएको हकप्रद र बोनसको पनि लागत गणना गर्न सक्दैन। सोही कारण कतिले वास्तविक रुपमा मूल्य सच्याउने गरेका छन् भने कतिले त्यही लुप होलमा टेकेर गलत लागत समेत दाखिला गरेको पाइएको कार्यालयका सहसचिव कमल सिलवालले बताए।

लुप होलमा टेकेर लगानीकर्ताले आफू खुसी लागत दाखिला गरेको कार्यालयको आशङ्का छ। जसले गर्दा राज्यले प्राप्त गर्ने कर का भएको र लगानीकर्ताले तिर्नु पर्ने लागत नहालेको उसको ठम्याइ हो। छड्के जाँचमा महालेखाले गरेको आशङ्का अनुसार नै गरेको पाइए कर छलेको आरोपमा कारबाही प्रक्रिया अघि बढाइने विभागको भनाइ छ। सबै जसोमा कैफियत देखिए सम्पूर्ण कारोबार बिबरण नै मगाएर छानबिन सुरु गर्ने विभागले जनाएकाे छ ।     




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।