खुद ब्याज आम्दानीमा संकुचन हुँदा हुँदै नाफामा सुधार,कसरी भयो यस्तो ?

May 04, 2021 02:46 PM Merolagani

सुधा देवकोटा 

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत बैंक तथा वित्तीय संस्थाहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन्। यस अवधिसम्ममा अधिकाशं बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेका छन्।

चालु आर्थिक वर्षको अहिलेसम्म कोरोनाको आतंक यथावत नै रह्यो। जसको प्रत्यक्ष प्रभावमा बैंक तथा वित्तीय संस्थाहरु पनि परेको छ। यस्तो संक्रमणकालिन अवस्थामा समेत बैंक तथा वित्तीय संस्थाहरुको नाफामा उल्लेख्य वृद्धि हुँदा सन्तोष मान्नु पर्ने अवस्था छ।

तथापि सार्वजनिक भएका वित्तीय विवरण अनुसार धैरै बैंक तथा वित्तीय संस्थाहरुको खुद ब्याज आम्दानीमा संकुचन आएको देखिएको छ। चालु आर्थिक वर्षमा कोभिड १९ को प्रभावका कारण बैंकहरुको कर्जा लगानीमा कमी आउदा बैंकिङ प्रणालीमा अधिक तरलता हुन पुग्यो जसले गर्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा दुबैको ब्याजदर घटेकोले उनीहरुको खुद ब्याज आम्दानीमा गिरावट आएको हो।

गत वर्षको तुलनामा यस वर्ष बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेको छ। ब्याजदर मात्रै हैन बैंकको स्प्रेड दरमा समेत गिरावट आएको छ। केन्द्रिय बैंकले चालु आर्थिक वर्षदेखि वाणिज्य बैंकहरुलाई अधिकतम ४.४ प्रतिशत स्प्रेड दर कायम गर्न पाउने व्यवस्था गरेको छ। यसले गर्दा बैंकहरुको स्प्रेड दर घटेको छ र स्प्रेड दर घट्दा समेत ब्याज आम्दानीमा संकुचन आएको जानकारहरुको भनाई छ।

किन घट्यो ब्याज आम्दानी?

गत वर्षको तुलनामा बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घटेको छ। निक्षेप तथा कर्जाको ब्याजदरमा संकुचन आएको अवस्थामा बैंकहरुबीच बढेको प्रतिस्पर्धाले स्प्रेड दर समेत घटेको देख्न सकिन्छ। अहिले धेरै बैंकहरुले ४ प्रतिशतभन्दा कम स्प्रेड दर कायम गरेका छन्। जस कारण पनि बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी घटेको हो। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा धैरै बैंकहरुको ब्याज आम्दानी घटेको नेपाल बैंकर्स संघका अध्यक्ष एवं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए। अहिले बैंक तथा वित्तीय संस्थामा गत वर्षको तुलनामा २४ प्रतिशतले व्यवसाय बढ्दा बढ्दै पनि ब्याज आम्दानी घटेको उनको भनाई छ। यसरी यस वर्ष बैंक तथा वित्तीय संस्थाहरुले २४ प्रतिशत बढी व्यवसाय विस्तार गर्दा पनि ब्याज आम्दानी २ प्रतिशतले संकुचन भएकाे उनले जानकारी गराए। अहिले बैंकहरुको स्प्रेड दर घटेको हुँदा ब्याज आम्दानी खुम्चिएको दाहालको भनाई  छ।

साथै अहिले नेपाल राष्ट्र बैंकले आधार दर (बेस रेट) कार्यान्वयनको योजना ल्याएको ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बताए। बैंकहरुको आधार दर कार्यान्वयन भएपछि थारै स्प्रेड दर घटेको छ। जसका कारण ब्याज आम्दानी घटेको उनले स्पष्ट पारे।

ब्याज आम्दानी घटे पनि किन बढ्यो नाफा?

यसपाली बैंकहरुको अन्य सञ्चालन आम्दानी बढेको नेपाल बैंकर्स संघका अध्यक्ष दाहालले बताए। केही बैंकहरुले शेयर बजारमा लगानी गरेका कारणले पनि यस अवधिमा सञ्चालन आम्दानीमा वृद्धि भएको उनको भनाई छ। शेयरको मूल्य बढेको मौका पारेर केहि बैंकहरुले शेयर बिक्री गर्दा पनि सञ्चालन आम्दानी बढेको दाहालले बताए। बैंकहरुले अन्य माध्यम मार्फत गर्ने आम्दानी समेत सञ्चालन आम्दानीमा जोडिने दाहालले जानकारी गराए। बैंकहरुले विगतमा विस्तार गरेको ऋणको असुली राम्रो गरेका कारण नाफा बढेको उनले बताए। यस वर्ष विगतमा भन्दा राम्रोसँग व्यवसाय विस्तारका साथै शेयरबाट समेत राम्रो आम्दानी हुँदा हुँदै पनि बैंकहरुको सोचे जस्तो प्रगति नभएको उनको भनाई छ।

त्यसैगरी, बैंकको अन्य आम्दानीमा सुधार भएको कारणले गर्दा नाफामा राम्रो वृद्धि भएको ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भट्टले जानकारी गराए। उनले भने, 'नेपाल राष्ट्र बैंकले जसरी भनेको त्यसरी नै कार्यान्वयन गरिएको छ र जसले गर्दा बैंक तथा वित्तीय संस्थाका ग्रहकहरुलाई फाइदा पुगेको छ।'

यद्यपि यो विषम परिस्थितीमा पनि आफूहरुले अन्य व्यवसाय विस्तारमा प्रभावकारी रुपले गर्दा नाफामा उल्लेख्य सुधार भएको उनको भनाई छ। आफूहरुले जहिले पनि ग्राहकलाई बीचमा राखेर काम गरेको भट्टले स्पष्ट पारे। जसले आगामी दिनमा अझ बढी प्रगती गर्दै जाने उनले प्रतिवद्धता जनाए।

त्यसैगरी, कम्पनीहरुले जोखिम व्यवस्थापन गर्नको लागि छुट्याएको रकम फिर्ता भएको र बैंक तथा वित्तीय संस्थाहरुको व्यापार बढेको कारणले पनि बैंक तथा वित्तीय संस्थाहरुको नाफामा उल्लेख्य वृद्धि भएको लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले बताए। बैंक तथा वित्तीय संस्थाहरुको अन्य व्यापार बढेकाले सञ्चालन नाफामा सुधार भएको उनकाे भनाई छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।