यस कारण बाणिज्य बैंकको सेयरमा लगानी सबैभन्दा सुरक्षित

Jun 05, 2021 07:58 AM Merolagani

तिलक कोइराला ।
सेयर बजारमा पैदा भएको उत्साहले साना कम्पनीहरुको सेयरको भाउ लगातार उकालो लागेर धेरै माथि पुगिसकेको छ । हाईड्रो, लघुवित्त, बीमा, उत्पादनमुलक, ब्यापार, लगानी र अन्य क्षेत्रका कम्पनीहरुको सेयरको भाउ आकासिदै गएको अबस्था छ भने पछिल्लो समय फाईनान्स र बिकास बैंकहरुको सेयरको भाउ पनि उच्च अंकले बढेका छन् ।

तर बजारमा ठूलो आपुर्ति रहेका बाणिज्य बैंकहरुको सेयरको भाउ खासै बढ्न सकेको छैन र धेरै जसो बाणिज्य बैंकको सेयरको भाउ १८० दिने औसत बिन्दुमै रहेको अबस्था छ । कोरोनाका कारणले पर्यटकीय गतिबिधि ठप्प भएपछि होटलहरुको सेयरको भाउ पनि एक बर्ष अगाडिकै विन्दुमा छ । सामुहिक लगानी कोषमा लगानीको महत्व साना लगानीकर्ताले नबुझेको अबस्था विद्यमान हुँदा कतिपय ती कोषहरुको ईकाई मूल्य प्रति ईकाई नेटवर्थ भन्दा तल छन् ।

लगानी सुरक्षा, सेयरको सस्तो भाउ र औसत प्रतिफलको हिसाब गर्दा बाणिज्य बैंकहरुको सेयरमा लगानी अहिले सबैभन्दा सुरक्षित देखिएको छ । पर्याप्त लगानी, जोखिम ब्यवस्थापनको बन्दोबस्ती, राष्ट्र बैंकको कडा नियमन, संस्थागत सुशासन, बलियो जगेडा कोष जस्ता सूचकहरु हेर्र्दा अहिले बाणिज्य बैंकको सेयरमा लगानी गर्ने लगानीकर्ताले भोलिका दिनहरुमा रुवाबासी गर्नुपर्ने अबस्था आउने छैन ।

बढ्दो सेयर बजारमा धेरै मूल्य बढेर नाफा भएका सेयरहरु बेचेर मूल्य नबढेका र बढ्ने संभावना भएका कम्पनीहरुमा लगानी विविधिकरण गर्नु उपयुक्त हुन्छ । पूँजीगत लाभ मात्र नहेरी लाभांशमा आधारित रहेर पनि लगानी गर्नु बुद्धिमानी हो ।

सेयर बजारमा कुन सेयरको मूल्य कति महंगो हो भन्ने कुरा सामान्यतया मूल्य आमदानी अनुपातको हिसाब गरेर भन्न सकिन्छ । बाणिज्य बैंकहरुको मुलय आम्दानी अनुपात थोरै र अरु कम्पनीहरुको धेरै पुगिसकेको अबस्थामा सिधा भन्न सकिन्छ कि अब लगानी गर्ने नै बाणिज्य बैंकको सेयरमा हो । साथै कम्पनीहरुको प्रगतिको अरु अबस्था तुलना गर्दा पनि लगानी बढाउने ठाउँ नै बैंक हो ।

लाभांशको हिसाब गर्दा गत बर्ष एकाध बाहेक अधिकांशले दोहोरो अंकको लाभांश वितरण गरेका थिए भने यस बर्ष कोरोना संकटका बीचमा पनि साना बाणिज्य बैंकहरुको प्रगति उत्साहजनक देखिनुले लगानीकर्ता निराश हुनुपर्ने अबस्था छैन । मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम र प्रति सेयर आम्दानी १० रुपैयाँ भन्दा बढी भएका बाणिज्य बैंकको सेयरमा ढुक्कले लगानी गरे हुन्छ ।

महंगा सेयर मूल्य भएकामा भन्दा सस्ता बाणिज्य बैंकको सेयरमा लगानी गर्दा दोहोरो तेहेरो फाईदा हुनसक्छ । एकातर्फ धेरै कित्ता किन्न सकिन्छ भने अर्को तर्फ त्यस्ता बैंकहरुले आगामी दिनमा गर्ने प्रगतिका कारणले लाभको प्रतिशत बढ्दैै जानसक्छ । कुनै ठूलो बाणिज्य बैंकसँग मर्ज वा एक्विजिशनमा गएर राम्रो स्वाप पायो भने यस्ता बैंकका सेयरमा लगानी गर्नेले नसोचको फाईदा पाउन सक्छन् ।

बाणिज्य बैंकको सेयरमा लगानी गर्नेलाई हुने अर्को फाईदा सेयर धितो कर्जामा धेरै रकम प्राप्त हुनु पनि हो । अधिकांश बाणिज्य बैंकको सेयर मूल्य एक बर्ष अगाडि कै दरमा रहेकाले त्यसको औसत १८० दिने मूल्य अनुसार धेरै कर्जा प्राप्त हुन्छ । बैंकहरुले अरु कम्पनीको सेयर धितोमा ५० देखि ६० प्रतिशत रकम कर्जा दिए पनि बाणिज्य बैंकको सेयरमा ७० प्रतिशतसम्म कर्जा दिन्छन् । बाणिज्य बैंकको सेयर सबै बैंकमा धितो मान्य हुन्छ । सेयर बजारमा गिरावट आयो भने पनि ठूलो अन्तरले मूल्य झरेर बैंकबाट माार्जिन कल आउने संभावना कम छ । बैंकबाट लिएको कर्जाको ब्याज तिर्ने रकम सेयर वापत प्राप्त हुने लाभांशले नै खाम्नसक्छ ।

बाणिज्य बैंकमा खेलाडीहरु किन लागेनन् ?

सेयर बजारका खेलाडीहरुले बाणिज्य बैंकको सेयरमा लगानी कम गर्नुको कारण मूल्य बढेर पूँजीगत लाभ धेरै हुँदैन भनेर हो । बाणिज्य बैंकको सेयरको आपुर्ति ठूलो रहेको र मूल्य बढ्नलाई त्यो आपुर्ति खाने रकम परिचालन नहुनाले एक दिन मूल्य बढ्नासाथ दोस्रो दिन बाणिज्य बैंकको सेयरको आपुर्ति ह्वात्तै आउँछ र मूल्य थेग्न सकिन्न भन्ने हो । यसअघि पटक पटक खेलाडीहरुले बाणिज्य बैंकको सेयरमा खेल्ने प्रयास नगरेका पनि हैनन् तर सकेका थिएनन् ।

तर अब अबस्था फेरिएको छ । सेयर बजारमा दैनिक १६, १७ अर्बको कारोबार हुन थालिसकेकाले बाणिज्य बैंकको सेयरमा पनि माग पक्ष बलियो भएर जाने संभावना छ । यसको संकेत गत बिहीबारको कारोबार विवरणले देखाईसकेको पनि छ ।

खेलाडीहरुले अरु कम्पनीहरुमा कुुस्त पूँजीगत लाभ हासिल गरिसकेकाले अब लगानी सुरक्षित गर्न बाणिज्य बैंकका सेयरहरु हेर्न थालेको आभाष मिलेको छ । उनीहरुले अरु क्षेत्रका कम्पनीहरुमा अल्पकालीन लगानी गरी पूँजीगत लाभ हासिल गरेर नाफा सुरक्षित गरी बाणिज्य बैंकतर्फ लगानी सार्न थालेका हुन भने आगामी साता त्यसको परिणाम देखिनसक्छ ।


खराब कम्पनी र हाईड्रोका हकप्रदमा उचालिनेहरु चुर्लुम्म डुब्नसक्छन्

सेयर बजारमा नयाँ लगानीकर्ताको प्रबेशले खराब कम्पनीहरुको सेयर मूल्य पनि उच्च रुपले बढेका छन् । जगेडा कोष रित्ता र निस्क्रिय कर्जा अनुपात उच्च भएका, ऋणात्मक नेटवर्थका कम्पनीहरुको सेयर मूल्य पनि आकासिएर गएका छन् । नयाँ लगानीकर्ताहरुमा हकप्रदको हल्लाले प्रभाव पार्दा खराब कम्पनी र हाईड्रोहरुमा झुम्मिने क्रम बढेको हो । २०७२, २०७३ सालमा पनि नयाँ लगानीकर्ताहरु यसैगरी हकप्रदको हल्लामा लाग्दा कतिपय चुर्लुम्म डुबेका थिए । सेयरको मूल्य ९० प्रतिशतसम्मले घट्दा कतिपयको सम्पति स्वाहा भएको थियो ।

खराब कम्पनीहरुको सेयर धितो राखेर न बैंकबाट कर्जा लिन सकिन्छ न त लाभांशको नै आधार हुन्छ । मूल्य घट्न थालेपछि तनावमाथि तनाव थपिन्छ मात्रै ।


सेयर बजारमा हुन्न सधैं एकै खालको अबस्था

सेयर बजारमा सधैं एकैखालको अबस्था रहिरहन्छ भनी सोच्नु गंभीर गल्ति हुन्छ । अहिले सेयरको मूल्य घोडा दौड जसरी तीब्र बेगले बढिरहेका कम्पनीहरुमा लगानी गर्नेहरुले जोखिम ब्यवस्थापन र नाफा सुरक्षित गर्न चुके भने उनीहरु अर्को पछुताउमा पर्ने छन् । सेयर बजारमा सेयरको मूल्य कुन बेलासम्म बढ्छ र घट्न थाल्छ भन्ने कुरा एकदम अनिश्चित हुन्छ । त्यो अनिश्चियको भूमरीमा फस्नु भन्दा पहिले नै आफु निस्केर सुरक्षित कम्पनीमा लगानी सार्ने नै सफल लगानीकर्ता हो । तर कोरोना संकमण पूर्ण रुपमा अन्त्य नभएसम्म सेयर बजारबाट ठूलो रकम बाहिर निस्कने संभावना छैन। एउटा क्षेत्रको कम्पनीबाट अर्को क्षेत्रको कम्पनीमा लगानी घुमिरहने छ । त्यही चक्रमा नै अहिले लगानीकर्ताले सुझबुझपूर्ण लगानी गर्नुपर्छ ।

(कोइराला पूँजी बजार बिकास अभियानका संयोजक हुन्, यो उनको निजी विचार हो ।)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।