लाभकर कसरी गणना हुने? भन्ने विषयमा लगानीकर्ता चासो, उपयुक्त विधि तयार गर्न छलफल हुँदै

Jun 08, 2021 12:52 PM Merolagani

सरकारले शेयर बजारमा लाग्दै आएको पूँजीगत लाभकरको व्यवस्था परिमार्जन गरेसँगै लगानीकर्तामा विभिन्न किसिमका उत्सुकताहरु देखिएका छन्। दुईथरी पूँजीगत लाभकर उठाउने व्यवस्था गरेपछि पर्याप्त मात्रामा तयारी नभई दीर्घकालीन लगानीमा पनि अल्पकालीन कर नै तिर्नुपर्ने त होईन? भन्ने प्रश्नहरु लगानीकर्तामा उब्जिन थालेको हो।

शेयरबजारमा प्रयोग हुँदै आएका मेरो शेयर र टिएमएस लगायतका पूर्वाधारले राम्ररी काम नगर्दा लगानीकर्ताले पूर्ण रुपमा विश्वस्त हुन नसकेको अवस्था छ। यस्तो अवस्थामा पुनः दुईथरी लाभकर गणना गर्ने विधिमा कुनै त्रुटी भई आफूहरुले धेरै लाभकर तिर्नुपर्ने त होईन? भन्ने लगानीकर्ताहरुको आशंका पनि जायज देखिन्छ।

सरकारले आगामी आर्थिक वर्षदेखि १ वर्षभन्दा कम अवधिमा शेयर खरिदबिक्री गर्ने (अल्पकालीन) लगानीकर्ताबाट ७.५ प्रतिशत र सोभन्दा बढी अवधिमा शेयर खरिदबिक्री गर्ने (दीर्घकालीन) लगानीकर्ताहरुबाट ५ प्रतिशत पूँजीगत लाभकर उठाउने व्यवस्था गरेको छ।

यसका लागि तत्काललै अहिले पूँजीगत लाभकार यसरी गणना गर्न सकिन्छ भनेर भन्न सकिने अवस्था नरहेको सिडीएससिका प्रवक्ता सुरेश न्यौपानेले बताए। लाभकर गणना गर्ने विषयमा अर्थ मन्त्रालय तथा आन्तरिक राजश्व विभागसँग छलफल भईरहेको न्यौपानेले जानकारी गराए। सम्बन्धित सरोकारवाला निकायबाट कसरी गर्न सक्निछ भन्ने जानकारी नआएसम्म अगाडि बढ्न नसकिने न्यौपानेको भनाई छ।

लाभकर गणना गर्ने सम्बन्धमा अर्थ मन्त्रालय तथा आन्तरिक राजश्व विभागसँग आफूहरुले राय सुझावहरु माग गरेको न्यौपानेले जानकारी दिए। उनले भने, एक दुई चरणको छलफलबाट कसरी व्यवस्थापन गर्न सकिन्छ? भन्ने बारेमा केही कुराहरु भएका छन्।

एउटै कम्पनीमा लगानीकर्ताहरुको दीर्घकालीन र अल्पकालीन लगानी रहेको हुन्छ त्यस्तो अवस्थामा करको गणना गर्दा कुन बिधिबाट गणना हुने हो भन्ने विषयमा लगानीकर्ताहरुको चासोको विषय बनेको छ। सिस्टमले लगानीकर्ताको पहिचान गर्ने खालको बनाउनु पर्ने भएकाले आन्तरिक राजश्व विभागको सुझावको पखाईमा रहेको न्यौपानेले जानकारी गराए छ।

लाभकर गणना गर्ने सिस्टमले सहजरुपमा गणना गर्ने विधिको निमार्ण गर्ने न्यौपानेको विश्वास छ। त्यसको लागि आवश्यक प्यारामिटर बनाउनु पर्ने, शेयरको कारोबार कुन प्रकार तथा समस्याहरु पहिचान नगरी अगाडि बड्न नमिल्ने न्योपानेको भनाई रहको छ। त्यसैले सम्बन्धित सरोकारवाल राजश्व विभागको जवाफ नआएसम्म अगाडि बढ्न नमिल्ने उनको बुझाई छ। सबै कुराहरु बुझेर मात्र अगाडि बढ्नु पर्नेमा न्यौपानेको जोड रहेको छ।

अब आज भोलिमा नै कसरी अगाडि बढ्ने? भन्ने सम्बन्धमा टुङ्गो लाग्ने उनले बताए। आगामी आर्थिक वर्ष शुरु भएसँगै यस व्यवस्था व्यवहारमा उतार्नु पर्ने भएको कारणले गर्दा अब छिट्टै यो काम अगाडि बढ्ने उनको भनाइ छ। नयाँ व्यवस्था अनुसारको सिस्टम पनि बनाउनु पर्ने भएको कारणले गर्दा आज भोलिमा नै यसको टुङ्गो लाग्ने प्रवक्ता न्यौपानेको भनाई छ।

पूँजी बजारलाई स्थिरता ल्याउनका लागि सरकारले बजेट मार्फत दुई तरिकाबाट पूँजीगत लाभकर लिने व्यवस्था गरेको जानकारहरुको भनाइ छ। अर्कातर्फ लगानीकर्ताको वर्गिकरण र लाभकर वैज्ञानिक ढंगबाट नगरेको भन्दै लगानीकर्ता आलोचना गरिरहेका छन्।

विगतमा एक वर्षमा नउठ्ने लाभकर अहिले एक महिनामा नै उठन थालेको छ। पछिल्लो समय सरकारले मासिक एक अर्बभन्दा बढी लाभकर पूँजीबजारबाट नै उठाउदै आएको छ।

समय अनुसार पूँजी बजारमा नीतिगत व्यवस्थाहरु परिमार्जन हुँदै आएका छन्। त्यसले शेयर बजारलाई विस्तार सुविधाजनक बनाउनका लागि केही योगदान रहेको भएता पनि पूँजीबजारमा प्रयोग हुँदै आएको पूर्वाधारमा समयसमयमा देखिने समस्या र त्रुटीले लगानीकर्ताको मन जित्न सकेको अवस्था छैन।

यस्तो बेलामा सरकारले दुई थरी लाभकर उठाउने व्यवस्था गरेपछि लगानीकर्ताहरु त्यसमा शंकाले हेर्न थालेका हुन्। पूँजीबजारमा देखिएका समस्या समाधान र गुणस्तरिय सेवा प्रदान कसरी गर्ने? भन्ने तर्फ केन्द्रित नभएर कर कहाँबाट धेरै असुल्न सकिन्छ? भन्नेतर्फ मात्र सरकार केन्द्रित हुनु दुखःद रहेको लगानीकर्ताहरुको भनाई छ।

सरकारले अल्पकालीन र दीर्घकालीन लगानीकर्ताको वर्गिकरण गर्नु सकारात्मक भएता पनि लाभकर समय सापेक्ष नभएको आरोप लागि रहेको समयमा गणना गर्ने विधिमा कुनै त्रुटी भए शेयर बजार प्रति आम लगानीकर्ताहरुको विश्वास घट्न सक्छ। जसले लगानीकर्ता सहित उच्च राजश्व संकलनको स्रोत बन्दै गरेको पूँजीबजारले समेत ठूलो क्षती व्यहोर्नु पर्ने हुन्छ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।