सम्भावित प्रतिफलसँग शेयरमूल्यको सम्बन्ध

Jun 14, 2021 06:12 PM Merolagani

रमेश घिमिरे

कम्पनीहरुको शेयरमूल्य बढ्ने एउटा महत्वपूर्ण आधार वर्तमान र भविष्यमा दिने प्रतिफलको अनुमान हो। यस लेखमा विभिन्न समूहका केही प्रतिनिधिमूलक कम्पनीहरुको चालु आर्थिक वर्षमा दिनसक्ने प्रतिफल र शेयर मूल्यको विश्लेषण गरिएको छ। प्रतिफलको तुलनामा कुनै कम्पनी महँगा र कुनै सस्ता देखिन्छन्।

चालु वर्षमा प्रतिफल दिनसक्ने क्षमताको आधारमा हेर्दा कृषि विकास बैंक र नेपाल बैंकको शेयर सस्तो देखिन्छ भने एनआइसी एसिया बैंक महँगो देखिन्छ। फाइनान्सतर्फ रिलायन्स फाइनान्स सस्तो छ भने गुडविल फाइनान्स महँगो।

कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ७ करोड खुद मुनाफा गरेको छ। त्यसमध्ये १ अर्ब १० करोड वितरणयोग्य छ। चौथो त्रैमाससम्म वितरणयोग्य नाफा १ अर्ब ४३ करोड पुग्ने अनुमान गर्न सकिन्छ। कृषि विकास बैंकमा ५ अर्ब ४३ करोडको प्रिफरेन्स शेयर रहेको छ। त्यसलाई ६ प्रतिशत लाभांश दिंदा ३३ करोड रुपैयाँ जान्छ।

चालु आर्थिक वर्षको नाफाबाट बैंकले शेयरधनीलाई १ अर्ब १० करोड रुपैयाँ वितरण गर्न सक्छ। बैंकले अघिल्लो वर्षको वितरणयोग्य ४ अर्ब नाफा वितरण नगरी राखेको छ। बैंकको साधारण शेयर ११ अर्ब छ। ४ अर्ब र १ अर्ब १० करोड गरेर वितरण गर्दा बैंकले ५० प्रतिशत प्रतिफल दिन सक्छ। जेठ २७ गते कम्पनीको शेयरमूल्य ४५७ रुपैयाँ रहेको छ। यो मूल्य यो वर्ष बैंकले दिनसक्ने प्रतिफलको ९ गुणा मात्र बढी हो।

चालु आर्थिक वर्षको मात्र नाफालाई हेर्ने हो भने वार्षिक प्रतिशेयर आम्दानी २५ रुपैयाँ हुन्छ। त्यसको आधारमा मूल्य आम्दानी (पिई) अनुपात १८ हुन्छ। आम्दानीको तुलनामा बैंकको शेयरमूल्य १८ गुणा बढी छ। यो वर्षको वितरणयोग्य नाफा १३ प्रतिशत छ। यसको आधारमा शेयरको मूल्य ३४ गुणा बढी छ।

सबैभन्दा बढी प्रतिफल दिनसक्ने क्षमता भएको बैंक नबिल बैंक हो। यसले अघिल्ला वर्ष वितरण नगरेको ३ अर्ब ६८ करोड नाफा र चालु आवमा हुने ५ अर्ब ७ करोड वितरणयोग्य मुनाफा गरी ६५ प्रतिशत प्रतिफल दिन सक्छ। यसको शेयरमूल्य १३०४ रुपैयाँ छ। यो मूल्य यो वर्ष दिनसक्ने प्रतिफलको २० गुणा बढी हो।

यो वर्षको मात्र वितरणयोग्य नाफा हेर्दा पनि सबैभन्दा अघि नबिल बैंक नै छ। यसको वितरणयोग्य नाफा ३८ प्रतिशत छ। यसको आधारमा शेयरको मूल्य भने ३५ गुणा बढी छ।

चालु आर्थिक वर्षमा मात्र गरेको खुद मुनाफामा एनआईसी एशिया पनि नबिल बैंकसँग बराबर छ। यस बैंकको प्रतिशेयर आम्दानीलाई वार्षिकीकरण गर्दा ३६ रुपैयाँ हुन्छ। त्यसबाट वितरणयोग्य नाफा भने यस बैंकको १४ प्रतिशत मात्र छ। अघिल्लो वर्षको बाँकी नाफा जोड्दा यस वर्ष यो बैंकले २५ प्रतिशत प्रतिफल दिन सक्छ। सम्भावित प्रतिफलको तुलनामा बजार मूल्य ३६ गुणा बढी छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गरेको नाफालाई वार्षिकीकरण गर्दा १ अर्ब ५८ करोड हुन्छ। त्यसमध्ये वितरणयोग्य आय १ अर्ब २७ करोड हुनेछ। बैंकले अघिल्ला वर्षको नाफाबाट १ अर्ब ७५ करोड नाफा वितरण नगरी राखेको छ। यस आधारमा बैंकले चालू आर्थिक वर्षमा ३५ प्रतिशत प्रतिफल दिन सक्छ।

यसैगरी, चालु आर्थिक वर्षमा एभरेष्ट बैंकले ४३ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशनलले ३५ प्रतिशत, प्रभु बैंकले ३४ प्रतिशत, नेपाल बैंकले ४९ प्रतिशत, लक्ष्मी बैंकले २४ प्रतिशत, माछापुच्छ्रेले २३ प्रतिशत, मेगाले २५ प्रतिशत, एनएमबीले ३६ प्रतिशत र प्राइम कमर्सियलले ३१ प्रतिशत प्रतिफल दिन सक्ने वित्तीय क्षमता छ।

 

बैंकहरुको सम्भावित प्रतिफल र बजारमा शेयर किन्दा गर्नुपर्ने लगानी हेर्दा लगानीको कृषि विकास बैंकबाट ११ प्रतिशत, नेपाल बैंकबाट ११ प्रतिशत, एनएमबीबाट ८ प्रतिशत, प्रभु बैंकबाट ७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट ६ प्रतिशत र एभरेष्ट बैंकबाट ६ प्रतिशत प्रतिफल आउँछ हुन्छ भने नबिल बैंकबाट ५ प्रतिशत र एनआइसी एशियाबाट ३ प्रतिशत मात्र आउँछ।

फाइनान्स कम्पनीतर्फ रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा गरेको खुद मुनाफालाई वार्षिकीकरण गर्दा १२ करोड हुन्छ। यसको वार्षिक वितरणयोग्य आय भने खुद मुनाफाभन्दा पनि बढी छ। फाइनान्सले १४ करोड वितरण गर्न सक्ने देखिन्छ। अघिल्ला वर्षको नाफाबाट २१ करोड रुपैयाँ वितरण नगरी राखेको छ। यस आधारमा चालु आर्थिक वर्षमा फाइनान्सले ४३ प्रतिशत प्रतिफल वितरण गर्न सक्छ। बजारमा शेयर मूल्य ५११ छ। यसबाट ८ प्रतिशत प्रतिफल पाउने देखिन्छ।

 

गुडविल फाइनान्सको सम्भावित प्रतिफल वितरण क्षमता २४.५ प्रतिशत छ। चालु आर्थिक वर्षको प्रतिशेयर आम्दानी पनि २३ रुपैयाँ छ। यो प्रतिफल आकर्षक हो। तथापि यसको शेयरमूल्य आकासिएर ७३३ पुगिसकेको छ। यस आधारमा यसको शेयर लगानीबाट ३ प्रतिशत प्रतिफल आउने देखिन्छ।

बैंक तथा वित्तीय संस्थाको मात्र वितरणयोग्य मुनाफाको जानकारी सार्वजनिक हुन्छ। अन्य कम्पनीको खुद मुनाफा मात्र सार्वजनिक हुन्छ। अघिल्ला वर्षको कति वितरणयोग्य बाँकी छ र यो वर्ष कति वितरणयोग्य छ भन्ने थाहा हुँदैन। खुद मुनाफा र शेयरमूल्यको आधारमा सस्तो महँगो छुट्याउनुपर्ने हुन्छ।

आरम्भ चौतारी लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३६ रुपैयाँ छ। यसको बजार मूल्य १६०० रहेको छ। यसको पिई रेशियो ४४ रहेको छ। त्यस्तै लक्ष्मी लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ६६ रुपैयाँ छ। उक्त मितिमा यसको मूल्य २२८८ रहेको छ। यसको पिई रेशियो ३५ रहेको छ। नयाँ लघुवित्तले बोनस शेयर दिने अर्थात भविष्यमा अहिलेभन्दा प्रतिफल बढी हुने अपेक्षामा अहिले नै मूल्य बढी हुने गरेको छ।

पुराना लघुवित्ततर्फ निर्धन उत्थान बैंक हेर्दा वार्षिक प्रतिशेयर आम्दानी ५६ रुपैयाँ देखिन्छ। यसको बजार मूल्य १७७५ रहेको छ। जसअनुसार पिई रेशियो ३० हुन्छ। त्यस्तै छिमेक लघुवित्तको प्रतिशेयर आम्दानी ७० रुपैयाँ रहेको छ। यसको मूल्य १७८० रहेको हुँदा पिई रेशियो २६ देखिन्छ।

जीवन बीमातर्फ गुराँस लाइफ इन्स्योरेन्सको मूल्य हेर्दा महँगो देखिन्छ। यसको प्रतिशेयर आम्दानी ७ रुपैयाँ मात्र छ। निकट भविष्यमा प्रतिफल बढ्ने संकेत पनि सार्वजनिक भएको छैन। यसको मूल्य ८८३ सम्म पुगेर अहिले ८४६ भएको छ। अहिले यसको पिई रेशियो १२५ छ।

अपर तामाकोशीले २०७६/७७ मा ३८ रुपैयाँ, २०७७/७८ मा २० रुपैयाँ २०७८/७९ मा २७ रुपैयाँ प्रतिशेयर आम्दानी हुने प्रक्षेपण २०७५ असारमा गरेको थियो। त्यतिखेर २०७५ पुसमा विद्युत उत्पादन शुरु हुने प्रक्षेपण थियो। लागत अनुमान ३५ अर्बबाट संशोधन गरेर ४९ अर्ब पुगेको थियो। कम्पनीको वेभसाइटमा आर्थिक वर्ष २०७४/७५ पछिको लेखापरीक्षण प्रतिवेदन नभएको कारण त्यसपछिको वास्तविक वित्तीय अवस्थाबारे थाहै छैन।

अहिलेसम्म उत्पादन अवधि लम्बिएकोले लागत अझै बढ्न गएको छ। अपर तामाकोशीले विविध कारणले अपेक्षित नाफा र नगद प्रभावमा ठूलो असर परेको भनी पछिल्लो त्रैमासिक वित्तीय विश्लेषणमा आफैंले सार्वजनिक गरेको छ। अहिलेसम्म प्रतिशेयर आम्दानी शून्य रहेको उल्लेख गरेको छ। यस कम्पनीको शेयरको मूल्य भने ९३३ रुपैयाँसम्म पुगेर ७७१ रुपैयाँमा आएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।