बलिउडका लोकप्रिय कलाकारहरु बोमन इरानी,अनुपम खेर र परिणीति चोपडा नयाँ हिन्दी फिल्म ‘उचाई’को सुटिङको लागि यतिखेर नेपालमा छन् । विश्वमा नाम चलेका व्यक्तित्व, कलाकार वा चर्चित नेताहरु नेपाल आउँदा त्यसलाई पछ्याएर धेरै पर्यटकहरु साेही देश जाने गरेका छन्। फिल्म रिलिज हुँदा त्यसले थप नेपालकै प्रचार प्रसारमा समेत सघाउ पुग्दछ ।
नेपालका रमणीय दृष्य विदेशीको क्यामेरामा धेरैपटक कैद भए । डकुमेन्ट्री बने । फिल्म बने । बेला बेलामा ट्रिप एडभाइजरको सूचीमा पनि नेपाल पर्दै आइरहेको छ । पर्यटकका लागि भ्रमण गन्तव्य बनिरहेको छ नेपाल । पछिल्ला समय विश्वस्तरका फिल्महरुले नेपालको पर्यटन प्रबर्धन गर्न समेत सघाउ पु¥याएको छ ।
चिनियाँ फिल्म ‘अप इन द विन्ड’ र हलिउड फिल्म ‘एभरेष्ट’ले प्रशस्त सम्भावना देखाएको छ । एभरेष्ट फिल्ममा त सगरमाथाको कथा भएकोले नेपाल छि¥यो । विदेशी फिल्मलाई भर्जिन लोकेसन वा विषय सान्दर्भिक लोकेसन आवश्यक भएर नेपाल छिर्न थालेपछि छायाँकन थलोको रुपमा विकास र सुटिङ सकिएपछि फिल्म पर्यटनलाई प्राथमिकतामा राख्न जरुरी भइसकेको छ ।
एरिक भ्यालीको क्याराभान हेर्ने दर्शक होस् या अमिताभ बच्चनले खेलेको खुदागवाह फिल्म होस् । नेपाल आउने पर्यटक डोल्पा र मुस्ताङ पुग्ने चाहना राख्छन् । एरिक भ्यालीले क्याराभान सिनेमालाई डोल्पाको दृश्यमा उतारे । ओस्कार मनोनित यो फिल्म हेरेपछि फिल्म पछ्याउँदै पर्यटक डोल्पा पनि पुगेका छन् । ग्लोबल प्रडक्टको रुपमा विकाउ हुने हलिउडले एभरेष्ट रिलिज गरेपछि सगरमाथा र नेपाल अझै बढि विश्वमाझ प्रचार भएको छ । त्यस्तै चिनियाँ फिल्म ‘अप इन द विन्ड’ रिलिज भइसकेपछि चिनियाँ माझ नेपाल झन परिचित हुँदै गयो । चीनको एक छिमेकी राष्ट्र भए पनि धेरै चिनियाँलाई नेपालको बारेमा जानकारी छैन ।
धेरै चिनियाँ त सोही फिल्म पछ्याएर नै नेपाल आएका छन् । नेपालका प्रमुख पर्यटकीय सहरमा छायाँकन भएको ‘अप इन द विन्ड’ चीनका विभिन्न शहरहरुमा रिलिज भएपछि नेपालमा त्यसको राम्रै प्रभाव देखिएको थियो । नेपालको बारेमा कहिल्यै नसुनेका चिनियाँहरु पोखरामा गएर प्याराग्लाइडिङ गर्नकै लागि मात्रै भए पनि नेपाल आएको चिनियाँ पर्यटक घुमाउने टुर गाइडहरु बताउँछन् । पोखरा, सौराहा र काठमाडौं उपत्यकामार्फत नेपाल उतारिएको ‘अप इन द विन्ड’को समीक्षकले नेपालको प्राकृतिक सुन्दरतालाई पनि जोडेर समीक्षा गरेका छन् । यसले नेपालको पर्यटनका लागि राम्रो प्रभाव छोडेको थियो ।
ललितपुर उद्योग वाणिज्य महासंघअन्तर्गत पर्यटन तथा संस्कृति प्रबर्धन समितिका संयोजक तथा नेपाल चाइनिज गाइड एसोसिएसनका पूर्व अध्यक्ष अपुलाल अवालेले उक्त चिनियाँ फिल्मले नेपालको पर्यटन बजारमा नयाँ आयाम थपेको बताए । ‘नेपाल भ्रमण वर्ष २०११ पछि नेपालमा पर्यटकीय स्थानहरुलाई समेटेर ‘अप इन द विन्ड’ भन्ने निर्माण भएकाे थियाे । सन् २०१३ को डिसेम्बरतिर रिलिज भएपछि नेपालमा चिनियाँ पर्यटकहरु एकदमै बढेका थिए ।’– उनले भने । फिल्म रिलिजपछि त नेपालमा आउने पर्यटकमध्ये भारतपछिको सबैभन्दा बढी पर्यटक नै चीनबाट आउन थालेका थिए । अहिले ट्राभल एजेन्सी सञ्चालकसमेत रहेका उनले सो समयमा भने पर्यटक गाइडको रुपमा काम गर्थे । ‘फिल्म मात्रै हेरेर नेपाल आएको भन्ने पर्यटकहरु धेरै घुमाइयो । धेरै चिनियाँलाई उक्त फिल्मको माध्यमबाट नेपालमा पोखरा अनि प्याराग्लाइडिङसम्बन्धी मात्र जानकारी थियो । अरु विस्तृत जानकारी मैले नै दिनुपर्थ्यो।’–उनले भने । नेपाल टुर एन्ड ट्राभल एजेन्सी एसोसियन (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईले पनि सो फिल्मको प्रभाव स्वरुप त्यसबेला चिनियाँ पर्यटकहरु बढेको बताए । त्यसबेला फिल्मको प्रभाव स्वरुप टिनएजर चिनियाँ पर्यटकको आगमनमा वृद्धि भएको अवालले बताए । यो वर्ष सेप्टेम्बरमा १० हजार र वर्षभरिमा ७६ हजार ८ सय ६४ पर्यटक नेपाल आएका छन्।
हलिउडको फिल्म लिटिल बुद्ध, द गोल्डेन चाइल्ड, द वाइन्ड हर्स, रेड कर्नरलगायत फिल्मले नेपालको लोकेशनलाई उतारेका छन् । त्यस्तै भारतीय फिल्म हरे राम हरे कृष्ण, युद्ध, घरवाली बाहरवाली, महान, लव इन नेपाल, एक हसिना एक दिवाना, बेकाबु, बेबीलगायत फिल्म पनि छाँयाकन भइसकेका छन् ।
हङकङको फिल्म बोधी ड्रामा, क्यू वा, फ्रान्सको फियोर डेले मिली इ यूना नोट्टे, द कन्क्यूष्ट अफ एभरेष्टलगायत फिल्मले पनि नेपालका सुन्दर दृष्यहरुलाई फिल्ममा उतारिसकेका छन् । त्यस्तै स्पेनिस सिनेमा काठमाडौं मिरर इन द स्काईले पनि नेपालको सुन्दरतालाई सुन्दर ढंगले फिल्ममा उतारेको छ ।
फिल्मको कथा र विषयवस्तु जे भएपनि नेपालमा सुटिङ भएका विदेशी फिल्मले नेपालका प्राकृतिक सुन्दरतालाई दृश्यको भाषामा देखाएका छन् । नेपालको पर्यटनको प्रवद्र्धन गर्न विदेशमा महँगो खर्च गर्नुपर्ने बाध्यतालाई विदेशी फिल्मले सित्तैमा प्रबद्र्धन गरिदिएका छन् । यस्तो अवस्थामा नेपालले त्यसको फाइदा लिन सक्नुपर्छ । नेपाल प्राकृतिक सम्पदाले भरिएपनि प्रचार प्रसारको अभावले पर्यटकको आगमन बाक्लिएको अवस्था छैन । बलिउडको नयाँ फिल्म ‘उचाई’ निर्माण भएर रिलिज भएपछि त्यसले थप भारतीय र अन्य देशका नागरिकलाई नेपाल भ्रमण गर्न आकर्षित गर्ने अपेक्षा गर्न सकिन्छ ।
नेपाल आएको बलिउडको फिल्म टोलीले नेपालको मुस्ताङलगायतका अन्य स्थानहरुमा गएर फिल्मको सुटिङ हुने कार्यक्रम तय गरेको बताइएको छ । नेपालमा करिब ४० दिनको सुटिङपश्चात मुम्बई र दिल्लीमा पनि थप सुटिङ हुने र २०२२ को मार्चसम्ममा फिल्म रिलिज गरिने कार्यक्रम रहेको छ ।
बलिउडका महानायक अमिताभ बच्चनको समेत अभिनय रहने यस फिल्मको सुटिङको लागि बच्चन स्वयम आउने कार्यक्रम थियो तर सुुटिङ समुद्री सतहभन्दा धेरै उचाइमा रहेको स्थानमा गरिने कार्यक्रम रहेकाले अन्तिम समयमा उनले नेपाल आगमनको कार्यक्रम रद्द गरिएको विभिन्न हिन्दी मिडियाहरुले बताएका छन् ।
पारिवारिक घट्नालाई पर्दामा उतार्न सिपालु मानिएका सुरज बाडजात्यले फिल्मको निर्देशन गर्दैछन्। बुढेसकालको मित्रताको कथामा आधारित यस फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी, डेनी डेनजोङपा, सारिकाको समेत भुमिका रहनेछ । ६० वर्ष पार गरेका चार जना मित्रहरुको भुमिकामा बच्चन, खेर, इरानी र डेनजोङपाले अभिनय गर्नेछन् । राजश्री प्रोडक्सनको ब्यानरमा यो फिल्मको निर्माण हुन लागेको हो ।