ब्याजदर बढाउँदैमा निक्षेप बढेन, किन खस्किँदो अर्थतन्त्रप्रति कत्ति पनि चिन्तित हुँदैनन् बैंक ?

Dec 08, 2021 05:42 PM merolagani



सुवास निरौला

गएको साउनदेखि बैंकिङ प्रणालीमा तरलता अभाव देखियो। त्यही बेलादेखि बैंकहरुले स्थायी तरलता प्रयोग गर्न थालेका हुन्। कोभिडपछि उकासिँदै गरेको बजारले ऋणको माग बढाउँदै लगेपछि ऋणको माग ह्वात्तै बढ्दै गएको हो।

जति जति ऋणको माग बढ्दै छ। त्यति त्यति सिडि रेसियाेमा प्रेसर पर्दै छ। जति जति सिडी रेसियाेमा प्रेसर बढ्दै छ। त्यति ब्याजदर बढ्दै छ। नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रवारसम्मको सिडी रेसियो ९१ प्रतिशत छ। जुन ९० प्रतिशतसम्म हुनु पर्ने हो। त्यही सिडी रेसियो मेन्टेन गर्न केन्द्रीय बैंकले असारसम्म थप समय दिएको छ। जसलाई मेन्टेन गर्न बैंकहरुले निक्षेप बढाउनु पर्ने हुन्छ। निक्षेप त्यसै बढ्दैन। नेपालमा बैकहरुले निक्षेप बढाउने उपाय भनेको ब्याजदर नै हो। त्यसका अतिरिक्त निक्षेप बढाउने अरू उपाय नेपाली बैंक वित्तीय संस्थाले खासै केही गरेको देखिँदैन। नियमित रुपमा जुन उपाय अख्तियार गरिँदै आएको छ। याे उपाय बाहेक अरू उपाय निकाल्ने हैसियतमा नेपाली बैंक वित्तीय संस्थाहरूका सिइओहरू छैनन्। झन् बैंक वित्तीय संस्थाका सञ्चालकले उपाय निकाल्ने आशै भएन।

ल्याकत भएको भए पटक पटक यस्तो अवस्थाको सामना बजारले गरी राख्नु पर्ने थिएन। सिडी रेसियोको कारण बैंकहरुले यस्तो अवस्था आएको भन्ने गरेका भए पनि सिसिडि रेसियोको प्रचलन हुँदा समेत यस्तो अवस्था नआएको भने होइन। सिसिडि रेसियो प्रचलनमै रहेको बेलामा पनि पटक पटक क्रेडिड क्रन्चको अवस्था नेपाली बजारले भोगिसकेको छ।

अहिले टाइट हुँदै गएको सिडी रेसियो मेन्टेन गर्न पुरानै उपायमा बैंकहरुले काम गरिरहेका छन्। असोजदेखि नै उनीहरूले निक्षेपको ब्याज बढाउँदै आएका छन्। जसले मंसिरसम्म निरन्तरता पाउँदै आएकोमा अब आउने पुसमा पनि त्यो क्रमले निरन्तरता पाउने निश्चित छ। “सिडी रेसियो जसरी टाइट हुँदै गएको छ। त्यसले आउने पुसमा पनि ब्याजदर नबढाउनुको विकल्प छैन। पुसमा निश्चित ब्याजदर पुनः बढ्छ ” एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले मेरो लगानी सँग भने।

तर जसरी बैंकहरुको निरन्तर ब्याजदर बढेको छ। त्यही अनुपातमा निक्षेप भने कत्ति पनि बढ्न सकेको छैन। बरु ब्याजदर कम भएको अवस्थामा सङ्कलन भएको जित पनि बैंकहरुले निक्षेप सङ्कलन गर्न सकेका छैनन्। गएको भदौदेखिको तथ्याङ्क अनुसार कार्तिकसम्म बैकहरूको निक्षेप जम्मा जम्मी ६२ अर्ब रुपैयाँ बढेको छ। जबकि सोही अवधिमा गत वर्षको वृद्धि एक सय ५३ अर्ब रुपैयाँ रहेको थियो।

तर बैकहरुले त्यस बेलाको निक्षेप वृद्धिको अवस्था र अहिलेको अवस्थामा निक्कै फरक रहेको बताउने गरेका छन्। त्यसबेला ऋणको माग रहेको थिएन भने अहिले ऋणको माग तीव्र गतिमा बढेको छ। त्यसले पनि गत वर्ष र अहिलेको अवस्था तुलना गर्न नसकिने बैंकरहरुको तर्क छ। जसले गर्दा पनि ऋण प्रवाह गर्न निक्षेप आवश्यक छ। निक्षेपको लागि ब्याज बढाउनै पर्ने उनीहरूको तर्क छ। “बजारको सामान्य सिद्धान्तले माग बढ्दा मूल्य बढ्ने माग घट्दा मूल्य घट्छ भन्छ। त्यस आधारले पनि यति बेला ऋणको माग बढेको छ। बढेको माग अनुसार त्यसको मूल्य पनि बढ्ने नै भयो। ब्याजदर भनेको आखिर मूल्य नै त हो। त्यसैले लगातार मूल्य बढ्दै जाने निश्चित छ” ती प्रमुख कार्यकारी अधिकृतले थपे।

उनले ब्याजदर बढ्ने दाबी गर्दै गर्दा उनले ऋणीलाई पार्ने प्रभावको बारेमा थोरै पनि चिन्ता गरेनन्। बढेको ब्याजदरले समग्र अर्थतन्त्रमा नै समस्या पार्ने विषय उनलाई थाहा नभएको पनि होइन। उनी आफै भन्छन् “ब्याजदर बढ्नु अर्थतन्त्रको लागि फाइदा हुँदैन। फाइदा हुने भनेको निक्षेपकर्तालाई मात्रै हो। निक्षेपकर्तालाई फाइदा भएर त्यसले खासै महत्त्व राख्दैन। तर बजारको अवस्था भन्दा बाहिर पनि जान सकिदैन” उनले भने।

उनले बजारको अवस्था भन्दा बाहिर जान सकिदैन भनेको ब्याजदर बढाउनु बाहेक अर्को विकल्प छैन भनेको हो। जब मुलुकलाई फाइदा गर्दैन भने किन उनीहरू त्यही बाटो अख्तियार गर्न बाध्य हुन्छन् ? के उनीहरूलाई खस्कदो अर्थतन्त्रप्रति कत्ति पनि चिन्ता हुँदैन ? भन्ने मेरो लगानीको प्रश्नको उत्तर दिँदै ती बैकर भन्छन्। “व्यक्तिगत चिन्ता कसलाई हुँदैन। मुलुक सबैको हो। साँच्चै चिन्ता गर्ने हो भने बैकहरुले ब्याजदरको विषयमा भद्र सहमति गर्नु पर्ने हुन्छ। तर उक्त सहमति अहिले आएर गर्ने कसले ? कोही त्यस्तो सहमति गर्न तयार देखिँदैनन्। फेरि सहमति गर्दा कार्टेलिङको आरोपको सामना पनि गर्नु पर्ने हुन्छ। जसलाई मुलुकको खस्कदो अर्थतन्त्र भनेर कसैले उक्त अवस्था सामना गर्न चाहँदैनन्। जसले गर्दा पनि निक्षेप बढोस् या नबढोस् तर ब्याजदर चाहिँ बढ्छ नै ।”