अर्काका नाममा शेयर भर्नेलाई लगाम, साउनबाट बायोमेट्रिक सेन्ट्रलाइज केवाइसी,सबैले केवाइसी अपडेट गर्नुपर्ने

Apr 25, 2022 06:29 PM merolagani



सुवास निरौला

अर्काका नाममा शेयर भर्नेहरूलाई केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले नयाँ आर्थिक वर्षबाट लगाम लगाउने भएको छ। सीडिएससीले नयाँ आर्थिक वर्षबाट बायोमेट्रिक सेन्ट्रलाइज केवाइसी कार्यान्वयनमा लगेर अर्काका नाममा शेयर भर्नेहरूलाई  लगाम लगाउन लागेको हो।

“हामीले बायोमेट्रिक सेन्ट्रलाइज केवाइसी सफ्टवेयर निर्माण गरिसकेका छौ। आउने नयाँ आर्थिक वर्षबाट कार्यान्वयनमा लैजान जोडतोडले काम गरिरहेका छौ। बायोमेट्रिकसहितको सेन्ट्रलाईज केवाइसी आएपछि वास्तविक लगानीकर्ताको अझै राम्रो गरी पहिचान हुनेछ। अर्काका नाममा शेयर भर्नेको दिन करिब करिब सकिने छ” सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले मेरो लगानीसँग भने।

 

यस अघि सीडिएससीले सि-आस्वा मार्फत अर्काका नाममा शेयर भर्नेहरूलाई कडाइ गरेको थियो। त्यसले अर्काका नाममा शेयर भर्नेहरू कम भएपनि पूर्ण रुपमा न्यूनीकरण नभएको भन्दै यसपटक भने बायोमेट्रिक नै गर्न लागेको जनाएको छ।

सीडिएससीले बायोमेट्रिकसहितको सेन्ट्रलाइज केवाइसीको काम करिब करिब अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। बीचमा कुनै अवरोध नआए नयाँ सेन्ट्रलाइज केवाइसी आउने नयाँ आर्थिक वर्षबाट कार्यान्वयनमा जाने बताइएको छ। जसको लागि सिडिएससीले सफ्टवेयर बनाउने काम सकेर अन्तिम परीक्षण गरिरहेको छ। सफ्टवेयर निर्माता कम्पनीले बनाएको सफ्टवेयरमा केही त्रुटी देखिएकोले हाल सिडिएससीले आफ्नै कार्यालयमा नै सफ्टवेयर निर्माता कम्पनीलाई ठाउँ उपलब्ध गराएर सफ्टवेयरमा सुधार गर्नुपर्ने विषयलाई सुधार्न लगाउँदै आएको बताएको छ। “हामीलाई जतिसक्दो चाँडो काम सकाउनु पर्नेछ। उनीहरूकै कार्यालयमा बसेर काम गर्दा झन् ढिला हुने भएकाेले आफ्नै कार्यालयमा राखेर काम गर्न लगाउनु परेकाे  हो” आचार्यले भने।

नयाँ वर्षदेखि कार्यान्वयनमा लैजाने भनिएको बायोमेट्रिक सेन्ट्रलाइज केवासीको लागि चाहिने निर्देशिका समेत बोर्डले स्वीकृत गरिसकेको छ। केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाइसी) सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०७७ स्वीकृत बोर्डले स्वीकृत गरेको हो। उक्त निर्देशिका अनुसार सेन्ट्रलाइज केवाइसीकाे बिशेषतामा “प्रणालीमा ग्राहकको विद्युतीय व्यक्तिगत परिचय विवरण, फोटो, औँठा छापको छाया चित्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि लगायतका ग्राहकको परिचय खुल्ने प्रमाणपत्रसहितको केवाइसी विवरण विद्युतीय रुपमा प्रविष्ट हुने छ” निर्देशिकामा उल्लेख छ। सर्वसाधारण उक्त केवाइसी अधिकार प्राप्त केवाइसी प्रतिनिधिको सहयोगमा घरैबाट समेत भर्न सक्नेछन्। ग्राहकले विद्युतीय केवाइसीका लागि आवेदन दिए पश्चात् प्रणालीबाट पृथक् केवाइसी आइडी प्राप्त गर्नेछन्। उक्त आइडी मार्फत धितोपत्र बोर्डले स्वीकृति दिएको कुनै पनि संस्थामा उक्त केवाइसी प्रयोग गर्न सक्ने छन्। जसको लागि  सर्वसाधारणले केही निश्चित शुल्क भने तिर्नुपर्ने छ। निश्चित शुल्क तिर्नु पर्ने भए पनि लगानीकर्ताले पटक पटक केवाइसी भर्नुपर्ने झन्झटबाट भने मुक्ति पाउनेछन्।

नयाँ आर्थिक वर्षबाट सबैले अनिवार्य रुपमा सेन्ट्रलाइज केवाइसी नै चलाउनु पर्नेछ। त्यसपछि यस अघि भरिँदै आएको भौतिक केवाइसी फेज आउट हुनेछ। पुराना लगीकर्ताले पनि नयाँ केवाइसी नै अपडेट गर्नु पर्नेछ। तर पुरानाका हकमा भने सिडिएससिले केही लचकता अपनाउने बताएको छ। उसले पुरानालाई अपडेट गर्न निश्चित समय दिने बताएको छ। “नयाँ आर्थिक वर्षबाट नयाँ  केवाइसी प्रचलनमा आउने छ। पुरानाका हकमा भने हामी अपडेट गर्ने निश्चित समय दिने तयारीमा छौ” आचार्यले मेरो लगानीसँग भने। 




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।