इलेक्ट्रिक स्कुटरको मूल्य सुन्ने बितिकै नाक खुम्च्याउछन ग्राहक, व्यवसायी भन्छन ‘किन्ने भन्दा सोधपुछ गर्ने धेरै’

Jun 27, 2022 11:49 AM Merolagani

नेपालमा पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल १९२ रुपैयाँ पुग्दा सबैको मन अतालियो । इन्धनको मूल्य इतिहासकै सबैभन्दा उच्च दरमा पुग्दै गर्दा मानिसहरु वैकल्पिक बाटो खोज्न तिर लागे ।  कतिपयले इन्धनबाट चल्ने सवारी बिक्री समेत गरे ।

नेपालमा भर्खर भर्खर विद्युतीय सवारी साधनको ट्रेन चलेको समयमा इन्धनको मूल्य बढेर थप सहयोग पुग्यो ।

विद्युतीय चारपाँग्रे सवारी साधनलाई भने ग्राहकले विश्वास गरे पनि दुईपाँग्रे विद्युतीय सवारीलाई ग्राहकले अझै विश्वास गरेको पाइँदैन ।

विद्युतीय गाडीतर्फ भने नेपालमा झण्डै आधा दर्जन कम्पनीले एकाधिकार नै जमाइसकेको भन्दा फरक पर्दैन ।तर, नेपालमा सबैभन्दा बढी गुड्ने र धेरै दर्ता भएको दुईपाँग्रे तर्फ भने खासै आकर्षण छैन । आकर्षण भए पनि खरिद गर्ने ग्राहक कमै भेटिन्छन् ।

विद्युतीय दुईपाँग्रे सवारी विक्रेता कम्पनीहरुमा इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर भरिभराउ भएपनि सडकमा फाट्टफुट्ट मात्रै देखिन्छन् ।

इन्धनको मूल्य २०० रुपैयाँ हाराहारीमा पुग्दा पनि दुई पाँग्रे इलेक्ट्रिक सवारीसाधनलाई किन ग्राहकले विश्वास गरिरहेका छैनन् भन्ने प्रश्न उठिरहेको छ ।

नेपालमा ठूला व्यवसायिक घरानादेखि साना व्यापारीसम्मले विद्युतीय बाइक तथा स्कुटर बेच्ने थालिसकेका छन् ।

नेपालमा हाल एक दर्जन कम्पनी दुई पाँग्रे विद्युतीय सवारी व्यापारमा प्रवेश गरे पनि ग्राहकको विश्वास जित्न सकेका छैनन् ।

‘सोधपुच्छ गर्न मात्रै आउछन ग्राहक’

सरकारले गत हप्ता पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पुर्याएपछि विद्युतीय दुईपाँग्रे सवारीसाधनका सोरुमहरुमा एकाएक भीडभाड बढ्यो ।

व्यवसायीहरुलाई फोन,म्यासेज लगायत विभिन्न माध्यमबाट विद्युतीय स्कुटर सोधपुछकाे लागि फोन आउन थाल्यो ।

तर,खोजे जस्तो इलेक्ट्रिक स्कुटर तथा बाइक नभएपछि ग्राहक इनक्वाइरी गरेर मात्रै फर्किने गरे । सेवाग्राही इलेक्ट्रिक स्कुटर हेर्न गए पनि ती सवारीको डिजाइन,लुक्स र मुल्य चित्तबुझ्दो नभएको भन्दै फर्किने गरेका छन् ।

जम्वो मोटर्स प्रालिका अध्यक्ष बिनाद न्यौपानेले सोधपुछ गर्न आउने मध्ये एक प्रतिशतले मात्रै इलेक्ट्रिक स्कुटर खरिद गर्ने गरेको बताउँछन ।

‘सरकारले तेलको मुल्य एकैपटक बढाएकाेले शोरुम भिजिट गर्ने, साेधपुछ गर्ने ह्वातै बढेको हो’ न्यौपानेले मेरोलगानीसँग भने ‘रेन्ज र मुल्यसँग ठोकिएर ग्राहक खालीहात फर्किने गरेका छन् ।

उनले सरकारले दुईपाँग्रे सवारी चढ्न प्रोत्साहन र सहुलियत नदिएसम्म ग्राहकले विद्युतीय दुईपाँग्रे सवारीमा विश्वास गर्ने वातारण नबन्ने बताए ।

‘मूल्य सुन्ने वित्तिकै नाक खुम्च्याउँछन्’

नेपालमा अहिले फरक फरक क्षमताका विद्युतीय स्कुटर उपलब्ध छन। अधिकांश स्कुटर १०० किलोमिटर भन्दा तल कै रेन्ज दिने पाइन्छ । तर,अहिलेसम्म लङ रेन्ज गुड्ने स्कुटर नेपालमा भित्रिएका छैनन् ।

व्यवसायीहरुका अनुसार ग्राहकले कम्तीमा २५० किलोमिटर माथि गुड्ने स्कुटर खोजी गर्ने गरेको व्यवसायीको भनाई छ ।

नेपालमा हाल भित्रिएका विद्युतीय स्कुटरले एक पटकको फुलचार्जमा १५० हाराहारीमा माइलेज दिन्छन । कतिपय कम्पनीले २०० माथि कै रेन्ज दिने समेत बताउँदै आएका छन ।

नेपाल भित्रिएका विद्युतीय स्कुटरको मूल्य कम्तिमा दुई लाख ५० हजार माथि  छ । सय किलोमिटर माथि रेन्ज दिने स्कुटरको मुल्य ४ लाख ५० हजारसम्म पर्ने व्यवसायी बताउँछन ।

न्यौपाने भन्छन् ‘हामीले स्कुटरको मूल्य सुनाउने वित्तिकै ग्राहकले नाक खुम्च्याउने गर्छन, विद्युतीय स्कुटरको मुल्यसँग इन्धनबाट चल्ने सवारीसँग तुलना गर्ने चलन ग्राहकको छ ।’

इन्धनबाट चल्ने सवारीको खर्च र विद्युतीय सवारीको खर्चसँग तुलना नगरी ग्राहकले मूल्य बढी भन्ने गरेको न्यौपानेको भनाई छ ।

ग्राहकहरूले मुल्य अनुसार स्कुटरको माइलेज र पावर नभएको गुनासो सबैभन्दा धेरै गर्ने गरेका छन् । नेपालमा विद्युतीय गाडी तथा स्कुटर विक्री गरे पनि मर्मत सम्भारको लागि कुनै पूर्वाधार बनाएका छैनन् ।

 

‘छैन स्पष्ट नीति’

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै ग्राहकले विद्युतीय दुईपाँग्रे सवारीमा आकर्षण देखाए पनि सरकारबाट यस बिषयमा कुनै पहल हुन नसकेको व्यवसायीहरुको आरोप छ ।

योमा इलेक्ट्रिक मोटर्सका प्रबन्ध निर्देशक सञ्जिव शिल्पकारले नेपालमा चारपाँग्रे सवारी मात्रै विद्युतीय सवारी साधन हो भन्ने हिसाबले सरकार अघि बढेको बताउँछन ।

‘चारपाँग्रे सवारीको लागि सडकदेखि सदनसम्म विरोध र बहस हुन्छ तर, सबैभन्दा बढी गुड्ने दुईपाँग्रेको बिषयमा सरकार गम्भीर बन्न सकेन’ ।

‘नेपालमा फस्टाउन लागेको विद्युतीय दुईपाँग्रे सवारीमा कर लगाउछ तर, प्रोत्साहन गर्ने कुनै नीति ल्याउदैन’ सञ्जिवले भने ।

दुईपाँग्रे विद्युतीय सवारीको अहिलेसम्म पनि स्पष्ट नीति छैन जसको कारण ग्राहकले यस्ता सवारी साधनलाई विश्वास गर्न सक्ने अवस्था नबनेको व्यवसायीको भनाई छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।