अहिले राष्ट्र बैंकको आँखा विदेशी मुद्रा सञ्चितिमा मात्रै छ

Jun 30, 2022 05:37 AM Merolagani

  • पर्शुराम कुँवर क्षेत्री, बैकर

देशको ठूलो समस्या भनेको विदेशी मुद्रासञ्चिति घट्दै जानु हो । अहिले राष्ट्र बैंकले मुद्रा सञ्चिति बचाउने र बढाउनेमै केन्द्रित हुनुपर्छ । सञ्चिति बढाउन सकिंदैन भने पनि घट्न दिनु भएन । यसको लागि आयातलाई घटाउनुपर्यो वा आयातलाई प्रतिस्थापन गर्नुपर्यो । यस्तै खालका नीतिहरु मौद्रिक नीतिमा आउनुपर्छ। 

 


देशबाट जति विदेशी मुद्रा बाहिर जान्छ, चाहे आयातको नाममा होस् वा घुम्न जाने नाममा होस वा विदेश अध्ययन वा अन्य कुनै नाममा, त्यति नै पैसा प्रणालीमा थपिनुपर्छ । त्यति नै पैसा थपिएन भने त भएको पैसा विस्तारै सिद्धिन्छ, आगामी केही वर्षमा त यो श्रीलंका जस्तै बन्ने दिशामा जाने लक्षण हो । विदेशी मुद्रा बचाएन भने हरेक किसिमले नेपाललाई श्रीलंकाको नजिक नजिक पुर्याउने हो । जति पैसा बाहिर गयो, त्यति नै बराबरको पैसा नेपालमा थपिनुपर्छ, त्यो थपिने भनेको रेमिट्यान्स, निर्यात, विदेशी ऋण वा अनुदान आदि हुन सक्दछ । तर जति पनि नेपालमा विदेशी मुद्रा भित्रिने स्रोतहरु छन्, त्यो भित्रिन त्यति सजिलो भने छैन । अहिले वैदेशक अनुदान घटिरहेको छ भने विदेशी अनुदान चाहिँदैन भन्नेहरु समेत छन् । ऋण पनि चाहिँदैन भन्नेहरु छन् । अनि नेपालको अर्थतन्त्र कहाँबाट चल्छ ? जुनसुकै माध्यमबाट भए पनि विदेशी मुद्रा सञ्चिति बचाउने खालकै मौद्रिक नीति आउनुपर्छ ।

राष्ट्र बैंकले अहिले ऋण विस्तार हुन दिएको छैन । ऋण विस्तार भयो भने त्यसको असर फेरि पनि आयात बढ्ने र विदेशी मुद्रा सञ्चिति घट्ने नै हो । ऋण विस्तार गर्दा विदेशी मुद्राको सञ्चिति घट्ने क्रम बढेपछि केन्द्रीय बैंकले ऋण विस्तारमा कडाई गरेको हो । ऋण प्रवाह गर्दा पनि आयात नबढने र आन्तरिक उत्पादनमा वृद्धि हुने खालको कर्जा नीति ल्याएमा म अचम्मित हुन्न । अहिलेको अवस्थामा हुनुपर्ने पनि त्यही हो । अहिले बैंकको ऋणले देशमै उपलब्ध कच्चा पदार्थको उपयोग गरेर उत्पादन गर्ने र यहीबाट रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गर्ने, आयात बढाउने हुनुपर्छ। यस्तो प्रकारको उत्पादनमुखी उद्योगहरुलाई मात्रै ऋण दिने र यो बाहेक अन्य ऋण दिन नपाउने नीति राष्ट्र बैंकले लिन सक्छ । यस्तो उद्योग खोल्ने सिलसिलामा पनि केही मात्रामा आयात त गर्नैपर्ने हुन्छ, कृषि क्षेत्रको लागि मल किन्नुपर्छ, हाइड्रोपावरकै लागि पनि विभिन्न पार्टपुर्जाहरु आयात गर्नुपर्छ। सिमेन्ट निर्यातमा नगद प्रोत्साहन दिने भनेका छौं, त्यसको लागि पनि मेसिनरी आयात गर्नैपर्ने हुन्छ । यस्ता सामानको आयातमा राष्ट्र बै‌कले रोक लगाउनु भएन ।

तर महंगा घडी, मोबाइल, टिभी ऋण प्रयोग गरेर आयात गर्ने र अनि भएको डलर पनि सकाउने चाँहि गर्नुभएन । १० महिनामा नेपालसँग भएको डलर २१ प्रतिशतले घटेको छ । यही दरले डलर रित्याउने हो भने त ३–४ वर्षमा नेपालको डलर सञ्चिति शुन्य हुन्छ ।

अहिलेको अवस्थामा डलरको बचत गर्ने र डलरको सञ्चिति बढाउने कुरा आर्थिक वृद्धि भन्दा पनि महत्वपूर्ण जस्तो लाग्छ । हामीजस्तो आयातमा निर्भर रहेको देशलाई यो दुर्भाग्य हो । विदेशी मुद्रा सञ्चितिको कारणले हामीले आर्थिक वृद्धिलाई बलिदान गर्नुपर्ने अवस्था छ । यो हाम्रो लागि निकै नै चुनौतीपूर्ण छ । राष्ट्र बैंकले बाह्य क्षेत्र स्थायित्वमा नै बढी केन्द्रित हुनुपर्छ । बाह्य क्षेत्रले विदेशी मुद्रा सञ्चितिलाई असर गर्ने गर्दछ ।

सरकारले केही हदसम्म आयात नियन्त्रण त गरेकै अवस्था छ । अर्को विकल्प भनेको आयात प्रतिस्थापन गर्ने नै हो । आन्तरिक उत्पादनमा वृद्धि गरेर आयात घटाउने नै हो । अहिले स्थानीय निकायको चुनाव भएर निर्वाचित पदाधिकारीले भर्खरै कार्य शुरु गरेको अवस्था छ । स्थानीय निकायहरुलाई भनेर स्वदेशी नै उत्पादन गर्ने, स्वदेशी नै प्रयोग गर्ने, विदेशी प्रयोग गर्दैनौ भन्न सक्नुपर्यो ।

हाइड्रोपावरमा जुन हाम्रो उत्पादन बढ्दै गइरहेको अवस्था छ । विद्युत वितरणसँग सम्बन्धित पूर्वाधारलाई सुधार गरेर तत्काल नै ग्याँसको प्रयोगलाई प्रतिस्थापन गर्न सकिने अवस्था छ । ग्याँस प्रतिस्थापनको क्रममा सबैले बिजुलीको प्रयोग गरेर खाना पकाउँदा ट्रान्सफरमर पड्किने लगायतको समस्याहरु आउन सक्छ । आउने दिनमा विद्युत प्राधिकरणले ट्रान्सफरमरको क्षमता अभिवृद्धिमा लगानी गर्नुपर्छ । यस्तो समस्या हल गर्न अहिलेदेखि नै काम थाल्ने हो भने एक–डेढ वर्षमा पुरै ग्याँसलाई विस्थापन गर्न सक्छौं । यो भनेको विदेशी मुद्राको सञ्चिति बढ्नु नै हो ।

धान, चामल, तरकारी आयात गर्नुको सट्टा यही उत्पादन गरेर उपभोग गर्नुपर्छ । कृषि उत्पादनमा लागत नै बढी पर्न जाने र उत्पादन बजारमा जाँदा आफ्नो लागत पनि उठ्न नसक्ने समस्या छ । कृषि क्षेत्रमा उत्पादकत्व पनि बढाउन सकेको छैन । चाहिएको बेला मल पाइँदैन । कृषियोग्य जमिनमध्ये एक तिहाई जमिनमा मात्रै सिंचाई सेवा उपलब्ध छ । दुई तिहाई कृषियोग्य जग्गामा आकाशे पानीमा भर पर्नुपर्ने अवस्था छ । कृषिमा पनि चुनौती धेरै छन् । व्यवहारिक कठिनाईहरु प्रशस्त छन् ।

अहिलेको अवस्थामा सरकारले बजेटमा ल्याएको ८ प्रतिशतको आर्थिक वृद्धि हासिल हुनेमा शंका नै छ । यस्तो वृद्धि दर हासिल गर्न त बैंकहरुले नै २०–२२ प्रतिशतको ऋण बढाउनुपर्छ । असार मसान्तसम्म ५० खर्बको निक्षेप हुन सक्ला । त्यसको २० प्रतिशत मात्रै भए पनि १० खर्बको ऋण बढ्नुपर्छ । १० खर्बको ऋण बढ्नको लागि झन्डै साढे १२ खर्बको निक्षेप बढ्नुपर्छ । यति ठूलो मात्रामा निक्षेप बढ्ला जस्तो लाग्दैन । यो वर्ष धेरै निक्षेप बढे भने ४ सय अर्र्बको हाराहारीमा निक्षेप बढ्न सक्छ । ४ सय अर्बबाट अर्को वर्ष साढे १२ सय अर्बको निक्षेप बढ्छ भन्ने आधार छैन । त्यति निक्षेप नभईकन २० प्रतिशतको ऋण पनि बढ्दैन । ऋण नै नबढिकन कहाँबाट ८ प्रतिशतको आर्थिक वृद्धि हुन्छ ? त्यो त सम्भावना नै छैन । राष्ट्र बैंकले त आर्थिक वृद्धि हेरेको पनि छैन होला । अहिलेको अवस्थामा राष्ट्र बैंकको आँखा विदेशी मुद्रा सञ्चितिमा मात्रै छ ।

अहिले नै मुद्रास्फिति ७.५ प्रतिशतको हाराहारीमा छ, डलरको भाउ बढेर नेपाली मुद्रा अवमुल्यन भएको भई छ । कच्चा तेलको मूल्य पनि खासै घट्न सकिरहेको छैन । यस्तो अवस्थामा मुद्रास्फितिलाई ७ प्रतिशतको सीमामा राख्न पनि चुनौती नै देखिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।