बालकदेखि वृद्धकाे राेजाइ बन्दै एलिजाकाे अजाइल चकलेट्स, युट्युब बन्यो गुरु

Jun 30, 2022 06:28 PM Merolagani

 

ज्याेति शाह

एलिजा शाक्यले युट्युबबाट चकलेट बनाउन सिकिन् । एलिजाको चकलेट घरपरिवार भित्र मात्र चाखिएन । अहिले उनले बनाएका चकलेट कैयौं नेपालीहरुको रोजाइ बनेको छ । गुरु युट्युबबाट शिप सिकेर नै एलिजाले अजाइल चकलेट्सको सुरुवात गरिन् ।

सुन्दा अचम्म लाग्न सक्छ तर एलिजा शाक्यले यो प्रमाणित गरेकी छिन् । सन् २०१९मा एलिजाको दैनिकी नै युट्युब हेरेर चकलेट बनाउने रहेको थियो । हरेक दिन युट्युब हेर्ने, चकलेट बनाउने र परिवार तथा इष्टमित्रलाई चखाउँथिइन् उनी । सबैबाट राम्रो प्रतिक्रिया पाएपछि आफ्ना निकट व्यक्तिहरुमार्फत उनले चकलेट बिक्री गर्न सुरु गरिन् । उनको पहिलो ग्राहक बने बहिनीका साथी जसले ५०० रुपैयाँको डार्क चकलेट किने । अनि सुरु भयो अजाइल चकलेट्सको व्यवसायिक यात्रा ।

३० वर्षकी एलिजा शाक्यले मंगलबजारस्थित आफ्नै घरमा चकलेट बनाउँछिन् । उनलाई साथ दिन्छन् एलिजाका श्रीमान सचिनराज बज्राचार्य र उनकी बहिनी अनु शाक्यले । अजाइल चकलेटको माग अनलाइनबाट नै हुने गर्छ । विशेष गरी इन्स्टाग्राम र फेसबुकमा नै एलिजाका चकलेटहरु बिक्री हुने गर्छन् ।

चकलेटका थरिथरिका स्वाद 

अजाइल चकलेट्समा डार्क, मिल्क र व्हाइट चकलेटमा फिलिंग भरिन्छ । चकलेटमा क्यारामाइल, लिक्वेर, नट्स, कफि, पिनट्स, कुकियन क्रिम टफल्स लगायतका फ्लेबर भरेर एलिजाले चकलेट तयार पार्छिन् । हाल उनी बार चकलेटमा केन्द्रित रहेकी छिन् ।

बार चकलेटको १५० रुपैयाँदेखि २५० रुपैयाँ पाईन्छ । चकलेट बक्सको मूल्य भने ४५० देखि दुई हजार रुपैयाँसम्म पर्दछ ।

यसबाहेक ग्राहकको रोजाइ अनुसार चकलेटमा नै विशेष सन्देश भरेर पनि उनले चकलेट घरमै पुर्याइदिन्छिन् । जस्तै जन्मदिनकाे शुभकामना, माया साटासाट र विवाहकाे निमन्त्रणा वा सगुनकाे रूपमा चकलेटकाे कभरमा सन्देश पनि दिन सकिन्छ । र अर्डर भने २ दिन अघि दिइ सक्नुपर्छ ।

"कसैले महंगो भन्नुहुन्छ तर प्रायले यति मूल्यलाई ठिकै मान्नुहुन्छ । हामीले किन्ने सामान महंगो नै छ । मेहनत पनि धेरै गर्नुपर्छ । कस्टमाइज गर्दा स्पेशल हुन्छ । त्यसमाथि प्याकेजिङ पनि महंगो नै पर्ने भएकाले अलि महंगो हुन गएको हो," एलिजा प्रस्टाउँछिन् ।

रहर बन्यो पेशा

बाल्यकालदेखि नै एलिजालाई थरिथरिका खाना पकाउन रहर लाग्थ्यो । उमेरसँगै उनको रहर पनि बढ्दै गयो । आफ्नो यो रहरलाई नै पेशा बनाउने एलिजालाई सोंच आयो र चकलेट्समा नै भविष्य बनाउने दौडमा उनी लागिन् ।

"कला क्षेत्रमा पहिलेदेखि मेरो रुची थियो । आफ्नै केहि गरौँ भन्ने लागिराथ्यो । युट्युबबाट चकलेट बनाउन सिकेँ र बनाउन सुरु गरेँ । त्यसमा नै रमाइलो लाग्यो । गरे हुने रहेछ नि भन्ने भएपछि यसैलाई काम बनाएँ," एलिजा सुनाउँछिन् ।

१० हजारको लगानीबाट मासिक डेढ लाखसम्म आम्दानी

एलिजाले केवल १० हजार रुपैयाँबाट अजाइल चकलेट्सको सुरुवात गरेकी थिइन् । सुरुवातका दिनमा काठमाडौं उपत्यकाभित्र उनी आफै चकलेट डेलिभर गर्न जान्थिइन् । उनीसँग बिहान ६ बजे सांगासम्म पुगेर पनि चकलेट पुर्याएको अनुभव छ ।

भ्यालेन्टाइन्स डेको समयमा उनी आफै एकैदिन २० भन्दा धेरै फरक फरक स्थानसम्म पुगेको दिन सम्झिदै मेरोलगानीलाई भनिन्,"आफै चकलेट बनाएर २० भन्दा धेरै ठाउँमा गएर समयमा आफै पुर्याए । अति थकाइ लाग्यो तर रमाइलो पनि लाग्यो । राम्रो फिडब्याक आउँदा थप मोटिभेट भएँ ।"

भ्यालेन्टाइन्स डे, आमाको मुख हेर्ने दिन, बुवाको मुख हेर्ने दिन, फ्रेण्डसिप डे, रक्षा बन्धन, विवाहको सिजन, दशैँ र तिहारको समयमा उनले बनाएको चकलेटहरुको माग धेरै हुने गरेको छ । यद्यपी अहिले अफ सिजन भएतापनि जन्मदिन लगायतका अन्य विशेष दिनकालागि अर्डर आउने गर्छ ।

सिजनको समयमा एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने एलिजाले अफ सिजनमा पनि कम्तिमा ५० हजार रुपैयाँ कमाउने गरेको बताउँछिन् । एलिजाले मासिक रुपमा बारहरु बाहेक ५० भन्दा धेरै चकलेट बक्स बिक्री गर्ने गरेकी छिन् ।

नेपाली भान्सामा आधुनिक चकलेट

एलिजाले बनाउने चकलेट नेपालकालागि नौलो अभ्यास हो । प्राय नेपालीहरुलाई चकलेट भन्नासाथ विदेश याद आउँछ । नेपाली बजारमा पाइने आधुनिक चकलेटहरु पनि प्राय विदेशबाट नै आयात गरिएका हुन्छन् र नेपाली चकलेटलाई विश्वास गर्नेको संख्या पनि कम छ । तर यी सबै मानसिकतालाई चिर्दै एलिजाले अजाइल चकलेट्सलाई स्थापित गरिदिएकी छिन् ।

मंगलबजारस्थित आफ्नै घरको भान्सामा चकलेट बनाइरहँदा भेटिन्छिन् एलिजा । एलिजाले प्रयोग गर्ने सामाग्री र तरिका आधुनिक भएपनि नेपालीपन मिसाएको उनी बताउँछिन् ।

एलिजाले यससम्बन्धि कुनै तालिम लिएकी छैनिन् । युट्युबबाट सिक्दै, त्यसैमा अभ्यास गर्दै, सुधार्दै त्यसमा आफ्नोपन दिएको एलिजाको भनाई छ । "मूख्यतः हामी चकलेट घरमै फ्रेस बनाउँछौँ । हेण्ड क्राफ्टेड हुन्छ, त्यसमाथि कस्टमाइज पनि गर्न सकिन्छ," उनले सुनाइन् ।

नेपाली चकलेटमाथि विश्वसनियताको प्रश्न

चकलेट मन नपराउने को होला ? बालकदेखि वृद्धलाई मनपर्ने चकलेटमा केहि आधुनिकता मिसाएर पस्किने एलिजामाथि सुरुवातमा विश्वास गर्नेको संख्या निकै कम थियो । एलिजालाई नपत्याउँदा दुख लाग्ने गरेको छ । "विदेशको चकलेट जस्तै वा अझै मिठो टेस्ट हुन्छ भन्नेमा नै मान्छेहरु विश्वास गर्नुहुन्न," उनी दुखी हुन्छिन् । मानिसहरुलाई विश्वास दिलाएर चकलेट बिक्री गर्नु पनि एलिजाकालागि चुनौती बन्यो । यसबाहेक अनलाइन अर्डर गरेर क्यान्सिल गर्ने स्वाभावका ग्राहक र डेलभरीमा पनि केहि चुनौती हुने उनको अनुभव छ ।

यद्यपी थोरै लगानीबाट आफ्नै व्यवसाय सुरु गरेर यो अवस्थामा आउँदा एलिजा सन्तुष्ट छिन् । "थोरै लगानीमा पनि सुरु गर्न सकिने रहेछ भन्ने विश्वास भयो । रमाइलो लाग्छ । हामी ग्रोइंग स्टेजमा छौं । अझै ग्रोथ गर्नुछ," उनी सुनाउँछिन् ।

चकलेट बनाउन कति कठिन ?

एलिजाले यो व्यवसाय सुरुगर्नु अघि धेरै रिसर्च गरेको बताउँछिन् । "अजाइल चकलेट्स सुरु गर्न मलाई धेरै समय लाग्यो । सामान पाइँदैन, खोजनुपर्यो । अहिले पनि दिनमा चकलेट बनाउन मलाई चार वा पाँच घण्टा लाग्ने गरेको छ," उनले थपिन् ।

चकलेट बनाउन कतिको कठिन छ ? भन्ने प्रश्नमा एलिन जवाफ दिन्छिन्, "सजिलो त केहि गर्न पनि छैन । कहिलेकाहिँ असफल पनि भइन्छ । एकैपटक नाफा नपाउन नि सकिन्छ । तर हार मान्नुहुन्न ।" व्यवसायमा धैर्यता महत्वपुर्ण भएको उनको भनाई छ ।

 

अबको योजना

अजाइल चकलेट्सका चकलेटहरु हाल सजिलै काठमाडौं उपत्यकामा डेलिभर हुने गरेको छ । यसबाहेक उनीहरुले उपत्यका बाहिर धरान, इटहरी र पोखरामा पनि चकलेट डेलभरी गर्ने गरेका छन् । हाल ठमेलको एक डिपार्टमेन्टल स्टोरमा यी चकलेटहरु पाइन्छ ।

सोहि क्रममा, अब अन्य डिपार्टमेन्टल स्टोरहरुमा पनि अजाइल चकलेट पुर्याउने विषयमा छलफल भइरहेको एलिजाले मेरोलगानीलाई बताइन् । उनले नेपालभर आफ्ना चकलेट पुर्याउन काम भइरहेको पनि सुनाइन् । एलिजाले बनाएका चकलेट अब अनलाईनमा मात्र सिमित नरहेर बजारमा पनि छिट्टै पुग्दैछ ।

कर्मचारी थपेर व्यवसाय विस्तार गर्ने पनि उनको सोंच रहेको छ । आफ्ना थप योजनाका बारेमा एलिजाले थप खुलाइन्,"फिजिकल स्टोर खोल्नेछु", उनी मुस्काउँछिन् । "भविष्यमा तालिमा पनि दिन सक्छु कि ?" उनी प्रश्न तेर्साउँछिन् ।

"वेबसाइटमा नै अर्डर गर्न मिल्ने गरी डेभलप गर्दैछौँ । फ्लेवरहरु पनि थप्ने सोचिराछु," श्रीमान सचिनलाई हेर्दै एलिजा योजना खुलाउँछिन् ।

नाम उल्टाउँदा जुरेको नाम

एलिजाले आफ्नो कम्पनीकालागि धेरै नामहरु सोचिन् । तर अरु नाम उनलाई खासै मन परेन । अचानक आफ्नो अंग्रेजीमा नाम एलिजालाई उल्टाउँदा अजाइल बन्यो । अन्ततः अजाइल चकलेटको नामाकरण भयो । उनलाई त्यहिँ नाम मेरो नामको ठ्याक्क उल्टाउदा अजाइल हुन्छ । के नाम राखुँ भनेर धेरै नाम साचें । चित्त बुझेन र यहिँ नाम राखेँ, उनी हाँस्छिन् ।

एलिजाका अनुसार उनकालागि विवाहले भाग्य खाेलेकाे छ । उनी भन्छिन्, "विवाहपछि कति परिवारले काम गर्न नदिने पनि हुन्छ । तर मेरो ठ्याक्कै उल्टो भयो । विवाहपछि नै मैले काम सुरु गरेँ । मलाई धेरै साथ र सहयोग मिल्यो । विवाह मेरोलागि प्लस पोइन्ट भयो । परिवारको पुरै साथ र सहयोग छ त्यसैले काम गर्न संभव भएको छ ।"

एलिजाका श्रीमान् सचिनलाई भने आफ्नी श्रीमतीको परिश्रम देखेर गर्व गर्छन् । उनी भन्छन्, "मेरो हरेक किसिमले उसलाई साथ थियो र छ । उसको मेहनत र सफलता देखेर खुशी लाग्छ ।"

फुर्सदमा श्रीमान सचिनलाई एलिजाले पेन्टिंग बनाउन सघाउँछिन् । सचिन व्यवसायिक रुपमा नै ललितकलामा आवद्ध छन् ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।