चरम आर्थिक संकटकाबीच श्रीलङ्का,पाकिस्तान र बंगलादेशका शेयर बजारमा चमक, शेयर बजार मुलुकको आर्थिक ऐना हुन छाडेको हो ?

Aug 08, 2022 05:58 PM merolagani

सुवास निरौला

कुनै पनि मुलुकको आर्थिक अवस्थाको बारेमा जानकारी लिनु पर्ने भए त्यस देशको शेयर बजारले जनाउ दिन्छ भन्ने मान्यता विश्वमा स्थापित छ। समग्र मुलुकको आर्थिक अवस्थाको बारेमा सूचिकृत कम्पनीहरूले दिने प्रतिक्रियाले त्यस देशको आर्थिक अवस्थाको जनाउ दिन्छ भन्ने गरिन्छ।

तर पछिल्लो ६ महिना यता दक्षिण एसियाली देशहरू एकपछि अर्को गर्दै आर्थिक सङ्कट उन्मुख छन्। जसमा श्रीलङ्का,पाकिस्तान र बंगलादेशको नाम अग्रपंतिमा छ। विश्व भरका आर्थिक मामिला हेर्ने विश्लेषकहरूले ती देशहरू चरम आर्थिक सङ्कटमा रहेको विश्लेषण गरिरहेका छन्। विश्व आर्थिक जगतको ध्यान अहिले तिनै देशहरूमा केन्द्रित भइरहेका छन्। अन्तर्राष्ट्रिय आर्थिक संघ संस्थाले समेत ती देशहरूको आर्थिक अवस्थाको बारेमा चिन्ता व्यक्त गरिरहेका छन्। विश्व बैंकदेखि अन्तर्राष्ट्रिय मुद्रा कोषले ती देशहरूलाई आर्थिक सहयोग गर्ने बाचा गरिरहेका छन् भने कतिले त सम्झौता नै गरिसकेको अवस्था छ। केही मुलुक आर्थिक सहयोगको प्रक्रियामा छन्। बंगलादेशी अर्थमन्त्री ए एच एम मुस्तफा कमालले आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्तालिना जर्जियभालाई पत्र लेख्दै सहयोग मागेकी छन्। उता पाकिस्तानले आइएमएफसँग थप १.२ अर्ब डलर थप ऋण सहायता लिने सम्झौता गरेको छ। उसले जुलाईको सुरुवातमा सम्झौता गरेको हो। श्रीलङ्का अझै सङ्कटबाट बाहिरिन सकेको छैन।

तीन वटै देशको विदेशी मुद्रा संचितिमा धक्का लाग्दै गएको छ। बढ्दो महँगीका कारण इन्धन आयातमा भुक्तानी सन्तुलन नमिल्दा बिद्युत् कटौती हुन थालेको छ। श्रीलङ्काले इन्धनमा कुपन सिस्टम अघि बढाएको छ भने बंगलादेशले लोडसेडिङ बढाएको छ। पाकिस्तान पनि उक्त समस्याबाट अछुतो छैन।

तर तीनै देशका शेयर बजारले भने मुलुक चरम आर्थिक सङ्कट रहेको जनाउ दिएका छैनन्। चरम आर्थिक सङ्कटकाबीच स्थानीय शेयर बजारले घट्नुको सट्टा उल्टो बढ्दो लय समाइरहेका छन्। तीव्र गतिमा बजार बढेर उकालो लागे पनि शेयर बजारले तीव्र गिरावट पनि झेलेका छैनन्। अन्तर्राष्ट्रिय स्तरमा तीनै देशको आर्थिक अवस्थाका बारेमा जुन किसिमको विश्लेषण भइरहेको छ। त्यस अनुसार भने स्थानीय शेयर बजारले कुनै प्रतिक्रिया दिएका छैनन्। बरु तीनै देशका शेयर बजार थोर बहुत बढ्दो लयमा नै छन्।

पाकिस्तानको शेयर बजार ४८ हजारको न्युनतम् बिन्दुबाट ४२ हजारमा उक्लिसकेको छ। गएको एक वर्षमा सबैभन्दा न्युनतम् बिन्दु ४८ हजारमा झरेको कराची स्टक एक्सचेन्जको कारोबार मापक सूचक कराची १०० यति बेला ४२ हजार भन्दा माथि छ। पछिल्लो दुई महिनामै सूचकले चार हजार अंक भन्दा बढीको वृद्धि कायम गरिसकेको छ।

उता बंगलादेशको सूचकमा पनि खासै ठुलो धक्का लागेको छैन। मासिक रुपमा हेर्ने हो भने ढाका स्टक एक्सचेन्जको कारोबार मापक सूचक १६ सयसम्मको न्युनतम् बिन्दुमा झरेको थियो। तर पछिल्लो समय सूचक बढेर २२ सय ६५ अंकमा उक्लिएको छ। गत महिना मात्रै डिएसि ३० सूचक २१४५ अंकमा थियो।

यता श्रीलङ्काको शेयर बजार पनि एक महिना यता बढ्दो लयमा नै छ। एक महिनामा सिएसि अल शेयर करिब एक हजार अंकले बढिसकेको छ। एक महिना अघिसम्म सात हजारको सेरोफेरोमा रहेको सूचक पछिल्लो दिन करिब साढे आठ हजारको बिन्दु नजिक पुगेको छ।  

तीनवटै मुलुकको शेयर बजारले दिँदै आएको प्रतिक्रियालाई हेर्ने हो भने राजनीतिक विचलन र आर्थिक जटिलतालाई शेयर बजारले खासै ठुलो असर गर्न छाडेको छ। छोटो समयको लगानी गर्ने लगानीकर्तालाई त्यसले क्षणिक असर गर्ने गरेको भए पनि दीर्घकालीन लगानीकर्ता भने तीनवटै बजारमा सुरक्षित देखिएका छन्। किनकि एक वर्षको अन्तरालमै बजारले जुन बिन्दुबाट गिर्दो यात्रा सुरु गरेका थिए सोही बिन्दुमा फर्किने क्रममा छन्।

तीनवटै बजारको पछिल्लो अवस्थाले मुलुकको आर्थिक र राजनीतिक अवस्थालाई प्रतिक्रिया दिन छाडेको जनाउको रुपमा लिन सकिन्छ। शेयर बजारको सूचक नै हेरेर मुलुकको आर्थिक र राजनीतिक अवस्था मूल्याङ्कन गर्न भने आउने दिन थप कठिन हुँदै जाने देखिन्छ।  

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।