धौलागिरी लघुवित्तकाे आईपीओमा ४ लाखको ओवदन, १५ गुणा बढी शेयर माग

Aug 09, 2022 05:18 PM Merolagani

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन २४ गते) देखि निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ । आईपीओ निष्काशन गरेको पहिलो दिन मै १५ गुणा बढी आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ः०२ बजेसम्ममा ४ लाख १६ हजार १२९ जना आवेदनबाट ४७ करोड ७१ लाख ८३ हजार रुपैयाँ बराबरको ४७ लाख ७१ हजार ८३० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ८ हजार २९५ कित्ता शेयरको १५.४७ गुणा बढी हुन आउँछ ।

लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत अर्थात ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो ।

त्यसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि मात्रै आवेदन दिन सक्नेछन्

लघुवित्तले निष्काशन गरेको शेयरमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेकोले साउन २९ गतेसम्ममा मात्रै आवेदन दिन सकिनेछ । इन्च्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus