भेडाकाे ऊनकाे जुत्ताकाे कमाल,१० हजार रुपैयाँकाे लगानीबाट खुलेकाे "झिगु सुज"ले कमाउँछ महिनामै ३ लाख

Sep 15, 2022 06:46 PM Merolagani

ज्याेति शाह

"झिगु सुज" अर्थात् हाम्रो जुत्ता । शिखा तण्डुकार र मिलेश तण्डुकारले मिलेर स्थापना गरेको झिगु सुज नेपालमा पहिलो पटक भेडाको ऊनबाट बन्ने जुत्ता उत्पादन गर्ने र नेपालीलाई नै बिक्री गर्ने पहिलो कम्पनी हो ।

२ वर्ष अघि कोरोना महामारीको समयमा आयात बन्द हुँदा नेपाली बजारमा सामान अभाव भएको शिखा र मिलेशले देखे । आफ्नै केहि गर्ने सोंच लिएर हिँडेका दुई साथीहरुले नेपाली वस्तु के उत्पादन गर्ने भनेर खोजी गर्न थाले ।

सोही क्रममा वडामा भइरहेका तालिमको बारेमा शिखाले जानकारी लिइन् । महिलाहरुले भेल्भेटका जुत्ता वा चप्पल बनाइरहेको शिखाले देखिन् । यसरी महिलाहरुका लागि लक्षित गरेर भेल्भेटका जुत्ता बनाउने उनले लक्ष्य राखिन् । उनलाई साथ दिए मिलेशले ।

स्वदेशमा नै उत्पादन गरेर स्वदेशमा नै बिक्री गर्ने उनीहरुको इच्छा तब पुरा भयो जब उनीहरुले दुई महिला कर्मचारीसँग मात्र १० हजार रुपैयाँको लगानीमा भक्तपुरमा जुत्ता उद्योगको स्थापना गरे । "नेपाली बजारमा नेपाली सामान नै किन नबनाउने र नेपाली नै किन प्रयोग नगर्ने ? भन्ने सोच्यौं त्यसरी २०२० मा झिगु सुज सुरु गर्याैं ।", उनीहरू भन्छन् ।

"दुबैजना नेवार भएकैले नेवारी नाम राखियो । शुद्ध नेवारी नाम राख्ने भनेर झिगु सुज राख्यौं,झिगुको अर्थ हाम्रो हो । सुज अंग्रेजी शब्दको नेपाली अर्थ जुत्ता", मिलेशले खुलाए ।

फेल्ट सुज नेपालकालागि त्यति नौलो नभएपनि नेपाली उत्पादन नेपालमा नै बिक्री गर्ने पहिलो कम्पनी झिगु सुज भएको शिखा र मिलेश दाबी गर्छन् ।

१० हजार रुपैयाँकाे लगानीबाट तीन लाखकाे आम्दानी

जागिर गरेर बचत गरेको पैसाले नै जुत्ता र चप्पल बनाउन लागी परे यी दुई साथी । बिस्तारै आम्दानीबाट नै लगानी बढाउन थाले । पहिलो पटक अर्बान गर्लबाट अनलाइन बिक्री शुरु गरेका शिखा र मिलेशलाई राम्रो आम्दानी भएपछि थप उर्जा मिल्यो ।

१० हजार रुपैयाँबाट मात्र सुरु भएको झिगुले अहिले मासिक तीन लाख रुपैयाँसम्मको जुत्ता बिक्री गर्दछ । दुई वर्षको छोटो अवधिमा नै वार्षिक ३० लाख रुपैयाँको कारोबार गर्न सफल भए शिखा र मिलेश । यहाँबाट दैनिक रुपमा ४० पिस जुत्ता र चप्पलहरु डेलिभर हुने गरेको छ ।

भेल्भेटका जुत्तादेखि फेल्ट जुत्तासम्म हुन्छ उत्पादन

झिगु सुजमा महिलाहरुले चाडपर्वमा लगाउने भेल्भेटका जुत्तादेखि घरभित्र लगाउने फेल्ट जुत्तासम्म पाइन्छ । शिखाका अनुसार झिगुका जुत्ताहरु विभिन्न रंगमा उपलब्ध छन् । कालो,ग्रे, मरुन, टफी, रोजमेरी, मिक्स रंग भएका ऊनीका जुत्ताहरु यहाँ पाउन सकिन्छ ।

बालकदेखि वृद्धसम्मले नेपालमै बनेका झिगुका जुत्ताहरु लगाउन सक्छन् । बालकहरुकालागि ऊनीमा विभिन्न डिजाइनका बुट पनि उपलब्ध भएको मिलेशले मेरोलगानीलाई जानकारी दिए ।

बालबालिकाकालागि २२ देखि ३५ साइजसम्मका जुत्ता यहाँ उपलब्ध छन् । यसैगरी,वयस्कहरुको ३५ देखि ४० साइजसम्मको जुत्ता पाईन्छ ।

तीजमा भेल्भेटका रंगीबिरंगी जुत्ताहरु ग्राहकले किन्न रुचाउँछन् । यसैगरी, भाइटिका, दशैंं, विवाहको मौसम र क्रिसमसमा पनि धेरै अर्डर आउने शिखाले सुनाइन् ।

 

के हो फेल्ट सुज ?

हामीमध्ये धेरैलाई फेल्ट सुजको अर्थ थाहा नहुन सक्छ । फेल्ट अर्थात् शुद्ध ऊन र भुवाबाट बनेको कपडा हो । ऊनबाट बनेको जुत्ता नै फेल्ट सुज हो । "हामीले बनाउने जुत्ताहरुमा शुद्ध भेंडाको ऊनकाे प्रयोग हुन्छ", शिखा सुनाउँछिन् ।

फेल्ट सुज बनाउन त्यति सजिलो भने छैन । यसकालागि समय र मेहनत धेरै नै लाग्ने गरेको मिलेश बताउँछन् । "साबुन पानीले हातमा ऊन र मोल्ड माड्दै यो आकारमा ल्याउनुपर्ने हुन्छ । बनाउन दुख छ ।"

भेडाको ऊनले बनाइएको यो जुत्ताको सोल भने लेदर राखेर सिलाइएको छ ।

फेल्ट सुज, कपडा भिजाएर पुछेर घाममा सुकाउँदा नै सफा हुने सिखा सुनाउँछिन् । यसलाई धोइराख्नुपर्दैन ।

फेल्ट सुज अन्य मौसमका लागि उपयुक्त भएको उनको भनाई छ । उनी भन्छिन्, "यो जुत्ता न्यानो र सजिलो छ । गर्मीमा पनि पसिना सोस्न सक्छ । १०० प्रतिशत न्याचुरल र नेपाली हो ।"

तर पनि शुद्ध भेडाको उनबाट बनाइएका यी जुत्ता विशेषगरी जाडो मौसममा धेरै मगाउने गरिएको छ ।

कतिकाे महंगाे ?

झिगुका जुत्ताहरु ७५० रुपैयाँदेखि तीन हजार ५०० रुपैयाँसम्मका छन् । भेल्भेटका जुत्ता ७५० रुपैयाँदेखि पाइन्छ।

यसैगरी, फेल्ट सुजको मूल्य एक हजार १०० रुपैयाँदेखि सुरु हुने गर्दछ । झिगु सुजले ग्राहकहरुको चाहना अनुसार जुत्ता कस्टमाईज पनि गर्ने गर्दछ । जस्तै, चाडपर्वको समयमा चाहना अनुसारको डिजाइनमा जुत्ता बनाइन्छ । हालसम्म क्रिसमसमा कस्टमाइज जुत्ताको माग बढी हुने गरेको शिखा बताउँछिन्,"कस्टमाइज गर्दा आफ्नो डिजाइन दिनुभयो भने त्यही अनुसार बनाउँछौ तर त्यसमा मेसेजहरु भने अहिलेसम्म लेखेका छैनौं । तर त्यस्तो अर्डर आएमा हामी लेख्छौं ।"

कस्टमाइज गर्दा भने मूल्य थप गर्नु पर्ने हुन्छ । यसको मूल्य तीन हजार ५०० रुपैयाँसम्म पर्न जान्छ ।अहिलेसम्म पनि झिगु सुजले मार्जिन धेरै राख्ने नगरेको यी दुईले सुनाए । ":नेपाली सामान बजारमा चिनाउनका लागि मात्र लागि परेका हौं । मार्जिन कहाँ छ भनेर खोज्न नै पर्छ", शिखा हाँस्छिन् ।

यद्यपि नाफा भन्दा पनि आफूहरु गुणस्तरमा ध्यान दिने गरेको उनीहरूले बताए । झिगुमा पाइने ऊनीका जुत्ताहरु पाँच वर्षसम्म टिक्नेमा उनीहरु विश्वस्त छन् । यस्तै भेल्भेटका जुत्ताहरु पनि कम्तिमा एक वर्ष टिकाउ हुने ग्यारेण्टी दिन्छन् ।

मिलेश भन्छन्, "पहिले हाम्रा जुत्ताकाे मूल्य धेरै भयो भनेर गुनासो आएको थियो तर हामी क्वालिटिमा कुनै कम्प्रमाईज गर्दैनौं । त्यसैले त्यति पर्न जान्छ । त्यसमाथि नै यस्तै जुत्ताहरु उच्च मूल्यमा निर्यात मात्र गरिन्छ । तर हामी त्यही क्वालिटिका जुत्ताहरु नेपालीलाई नै कम मूल्यमा दिइरहेका छौं । नेपालमा बन्ने उत्पादनहरु नेपालीले नै प्रयोग गर्न पाउनु अधिकार हो नि, त्यहिँ कुरा खड्किएर नै हामीले फेल्ट सुज बनाउन सुरु गरेका थियौं ।"

समयसमयमा झिगुका जुत्ता तथा चप्पलहरुमा अफर अनुसार छुट पनि दिइने गरेको छ ।

अनलाईन मार्फत बिक्री

झिगु सुजले आफ्ना उत्पादनहरु अनलाईनमार्फत बिक्री गर्ने गरेको छ । ग्राहकले सामाजिक संजाल फेसबुक वा इन्स्टाग्राम मार्फत मन पर्ने जुत्ताहरु अर्डर गर्न सक्छन् । हाल अर्डर नेपालभरबाट नै लिने गरेको मिलेश सुनाउँछन् । विशेषगरी, पोखराबाट फेल्ट सुजको माग हुने गरेको छ ।

यसबाहेक दराज,ग्यापु आदि अनलाइन सपिङ बजारबाट पनि झिगुका जुत्ता चप्पल मगाउन सकिन्छ । "लाबिम मल, स्याटर्डे मार्ट, ले शेर्पा मार्केट लगायतमा पनि हामी छौं," शिखा भन्छिन् ।

झिगुका जुत्ताहरु नेपालीले मात्र नभएर विदेशीले पनि उत्तिकै मनपराउने गरेका छन् । विदेश जाँदा आफ्ना आफन्तका लागि पनि जुत्ता लैजाने गरेको शिखाले मेरोलगानीलाई बताइन् ।

शिखा र मिलेशले बिस्तारै आफ्नो सेवा विस्तार गर्दै टि म्याट,डोर म्याट र योगा म्याट बनाउने योजना बनाएका छन् ।

तर कुनै आउटलेट वा स्टोर भने खोल्ने विचार उनीहरुको छैन । "हामी सकेसम्म मूल्य घटाउने कोशिष गरिरहेका छौं । यस्तो अवस्थामा आउटलेट खोल्दा सामानहरु थप महंगो हुन जान्छ । त्यसैले, हामीले त्यसमा जोड दिएका छैनौं", मिलेशले खुलाए ।

महिलाहरुले बनाउने झिगु सुज

पहिलो पटक वडाहरुमा महिलाहरुले चप्पल तथा जुत्ता बनाइरहेको देखेपछि जुत्ता चप्पल बनाउने आइडिया फुरेको थियो । सोही समयमा शिखामा ती महिलाहरुलाई नै रोजगारी दिएर उद्योग सुरु गर्ने सोंच विकाश भयो । "वडामा भेल्भेटका चप्पलहरु लोकल महिलाहरुले बनाएको देख्यौं,उहाँहरुकै कामलाई अगाडि बढाऔं भन्ने हिसावले त्यसरी जुत्ता बनाउने सोच्यौं," शिखा सम्झिन्छिन् । त्यसमा मिलेश थप्छन्,"वडामा जनशक्ति उत्पादन भएपनि व्यवसायीकरण नभएकाले एक पटक कोशिष गरौं न भनेर शुरु गयौंं ।"

"हातैले बनाएका भेल्भेटका जुत्ता बनाउँदा बनाउँदै हामी फेल्ट सुजतिर लाग्यौं ।" नेपालमा नेपालीले नै बनाउने उत्पादनमा जोड दिने उद्धेश्यकासाथ शुरु गरिएको थियो झिगु सुज ।

हाल भक्तपुरस्थित झिगुको कारखानामा ८ जना महिला कार्यरत छन् भने थसिखेलमा रहेको कार्यालयमा चार जना काम गर्दछन् ।

भेल्भेट चप्पल बनाउनकालागि भेल्भेट भारतबाट आयात हुने गर्दछ । भेडाको ऊन नेदरल्याण्डबाट मगाइने गरिन्छ । "नेपालमा पाइने ऊन कडा हुने भएकोले प्रयोग गर्दैनौं," शिखा खुलस्त पार्छिन् ।

एनजीओको जागिर छोडेर जुत्ता चप्पल बिक्रीमा व्यस्त

एमबीएस गरिरहेकी कुपण्डोलकी शिखा तण्डुकार यसअघि एनजीओमा कार्यरत थिइन् । आफ्नो व्यवसाय सुरु गर्नकालागि नै उनले जागिर त्यागिन् । अर्कोतर्फ कुसुन्तीका मिलेश तण्डुकार कम्प्युटर इन्जिनियर हुन् । २८ वर्षका मिलेश पनि राम्रो कर्पोरेट जागिर छोडेर नै झिगु सुजमा मेहनत गरिरहेका छन् ।

जोखिम भए पनि यी दुईले आफ्नै स्टार्टअपमा लगानी गरे । "परिवारले भएको राम्रो जागिर छोडेर किन रिस्क लिने भनेर अझै पनि भन्नुहुन्छ । कोशिष गरौं न, क्वालिफिकेसन भएपछि जब फेरि पाईन्छ नि भनेर आँट्यौं," शिखा सुनाउँछिन् । झिगुका ग्राहकहरु सन्तुष्ट भएकोमा संस्थापकद्धय खुशी छन् ।

नयाँ व्यवसाय सुरु गर्दा नेपालीहरुलाई सम्झाउन समस्या भएकोमा मिलेश गुनासो गर्छन् । "फेल्ट सुजको अर्थ बुझाउन नै समय लाग्छ भन्ने हामीलाई पहिले नै थाहा थियो ।" "नयाँ भएकोले प्रगति गर्न पाँच देखि आठ वर्षसम्म लाग्छ, हामी सिक्ने चरणमा छौं," शिखा दृढ सुनिन्छिन् ।

स्टार्ट अप गर्न चुनाैतिपूर्ण भएको उनीहरु मान्छन्, "सुरुवातमा व्यवसाय कस्तो हुने भनेर थाहा हुँदैन, मानिसहरुलाई सम्झाउन समय लाग्छ । च्यालेन्जिङ हुन्छ," शिखा भन्छिन् । "तर बिक्री हुँदा र राम्रो फिडब्याक पाउँदा प्रेरणा मिल्छ,"मिलेश थप्छन् ।

अब बिस्तारै विदेशमा पनि आफ्ना उत्पादनहरु निर्यात गर्ने सहसंस्थापक सिखा र मिलेशले लक्ष्य राखेका छन् । र पनि झिगु सुज खासगरी, नेपालीहरुकैलागि उत्पादन गरिएकाले उनीहरुले नेपालीहरुको साथ र समर्थन माग्छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।