किसानको उत्पादनलाई सिधै उपभोक्तासँग जोडेर लोकप्रियता कमाउँदै फ्रेस केटिएम, एक वर्षमा नै दुई करोडको लगानी पुग्याे ३५ करोड

Oct 13, 2022 07:16 PM Merolagani

ज्याेति शाह ।

बिचौलियाका कारण तरकारी उत्पादक किसानले मूल्य नपाएको र उपभोक्ता पनि महँगो मूल्य तिर्न बाध्य भएको विषय अब नौलो छैन । बिचौलिया नियन्त्रणका लागि सरकारले उचित कदम नचाल्दा वर्षौंदेखि किसान र उपभोक्ता दुवै मारमा पर्ने गरेको तितो सत्य सबैलाई छर्लङ्गै छ ।

तरकारीमा किसान र उपभोक्ताको दूरी घटाएर यसको उत्पादनमा किसान टिकाउने र सस्तोमा तरकारी खाने वातावरण बनाउने काम सरकारले गर्नुपर्ने हो । तर, सरकारले नगरेको यही कामलाइ फ्रेस केटिएमले गज्जबको व्यवसाय बनाएर काठमाडौं उपत्यकामा फैलाइरहेको छ । किसानबाटै तरकारी किन्ने, त्यसको विषादी र शुद्धता जाँच गर्ने र सस्तोमा उपभोक्तालाई बिक्री गर्ने फ्रेस केटिएमको यो व्यवसाय यतिबेला चर्चा र सफलता उन्मुख छ ।

जापानबाट फर्किएका साथीले दिएको आइडियाबाट सुरू भएको फ्रेस केटिएमको सहरमा तरकारी र फलफूल बिक्री गर्ने व्यवसायको जन्म, लगानी, संघर्ष र सफलताको कथा आजको स्टार्ट अप स्टोरीमा।

जापानको सिकाइ नेपालमा फलिफाप

तनहुँका सन्दिप अधिकारी जापानमा बस्थे । जापानबाट फर्केर नेपालमा नै केहि राम्रो व्यवसाय गर्ने उनको चाहना थियो । सोहि क्रममा आफ्ना चार साथीलाई उनले फ्रेस केटिएमको अवधारणा सुनाए । उनको यो नौलो आईडिया सुनेर काभ्रेका निरोज कुमार थपलिया, काभ्रेकै शिव न्यौपाने र कैलालीका माधव जोशीले उनलाई साथ दिए र अनुसन्धान तथा सर्वेक्षण गर्न सुरु गरे । एक वर्ष भन्दा धेरै नेपालको कृषि, उत्पादन हुने तरकारी, क्षेत्र र कृषकहरुको अवस्था बुझेपछि फ्रेस केटिएमको सुरुवात भयो ।

ताजा खानेकुरा उत्पादन गर्ने भएकाले र त्यो पनि काठमाडौं उपत्यकालाई आधार मानेर आपूर्ति गर्ने हिसाबले फ्रेस केटिएम नामाकारण पनि गरियो ।

नेपालमा पहिलो पटक यस्तो अवधारण लिएर फ्रेस केटिएम २०२० को डिसेम्बरमा दर्ता भएको थियो । दर्ता भएको केहि समयमा नै रातो पुलको स्टोर संचालनमा आयो । गत वर्षको भदौ १९ गते देखि रातोपुल स्टोर संचालनमा आएको हो । भक्तपुरको सूर्यविनायकमा यसको फुलफिलमेन्ट सेन्टर वा वितरण केन्द्र अवस्थित छ । नैकापमा पनि फ्रेस केटिएमको वितरण केन्द्र खोलिएको छ । स्टोरहरु भने उपत्यका भित्र पाँचवटा रहेका छन् । रातोपुल, गोल्फुटार, झम्सिखेल, थसिखेल र भैंसेपाटीमा यसका स्टोरहरु रहेका छन् । जहाँ ताजा तरकारीहरु खरिद गर्न पाइन्छ ।

"स्वाद र सन्तुष्टिको संगम फ्रेस केटिएम" भन्ने स्लोगान बोकेको यस कम्पनीकालागि उपभोक्ताको स्वास्थ्य र कृषकहरुको बजार व्यवस्थापन मुख्य लक्ष्य हो । 'हामीहरु लगाउने लुगाहरु धुलो वा माटो लाग्ला भनेर सोकेसमा सजाएर राख्छौं तर खानेकुराहरु बाटोमा बोरा ओछ्याएर बेचिरहेका र खाइरहेका हुन्छौं । हामीले स्वास्थ्यमा ध्यान दिएनौं,' संस्थापक तथा सीओओ शिव न्यौपाने बताउँछन्।

'स्वस्थकर खानेकुरा सबैंको पहुंचमा हुनुपर्छ । तल्लोदेखि माथिल्लो स्तरका सबैको भान्सा सेफ फुड पुगोस् भन्ने उद्देश्यकासाथ फ्रेस केटिएम खोल्यौं,' उनी थप्छन् ।

गुणस्तर जाँच तथा विषादी परिक्षण गर्नकालागि डिभाईस जापानबाट ल्याएका छन् भने प्याकोजिङका केहि मेसिन चीनबाट ल्याइएको छ ।

हाल फ्रेस केटिएम एग्रो प्रालिका सीईओ सन्दिप अधिकारी, एमडि निरोज कुमार थपलिया,सीओओ शिव न्यौपाने र निर्देशक माधव जोशी रहेका छन् ।

यसरी ल्याइन्छ तरकारी

पाँचखाल, चित्लाङ, पालुङ, धादिङ र चितवनका विभिन्न स्थानमा फ्रेस केटिएमका कर्मचारी आफै बसेर तरकारी जम्मा गर्दछन् । आफ्नै सवारीसाधन लिएर संकलन केन्द्रमा गईन्छ । त्यसपछि तरकारीहरु तौल गरी प्याकेजिङ गरिन्छ र वेयरहाउस भक्तपुरमा ल्याइन्छ । सो वितरण केन्द्रमा ल्याएर सर्टिङ र ग्रेडिङ गरेपछि अन्ततः यी तरकारी तथा फलफूल बजारमा वितरण बिक्री गर्न योग्य मानिन्छन् ।

हाल फ्रेस केटिएमले करिब ३०० बिक्रेताहरुलाई तरकारी तथा फलफूल आपूर्ति गरिरहेको छ । यसबाहेक आफ्नै पाँच स्टोरहरुमार्फत पनि बिक्री गरिन्छ ।

फ्रेस केटिएमले दैनिक जसो २२ टन तरकारी बजारमा बिक्री गर्दछ । यस कम्पनीमा १५० जना कर्मचारी कार्यरत छन् । कम्पनीको आफ्नै फ्रिजयुक्त र फ्रिजविहिन गरी ३५ सवारी साधन संचालनमा रहेका छन् ।

एक वर्षमा नै दुई करोडको लगानी पुग्याे ३५ करोड

दुई करोड रुपैयाँको लगानीबाट सुरु भएको फ्रेस केटिएमको पूँजी एक वर्षमा नै अहिले ३५ करोड रुपैयाँ पुगेको छ । हाल फ्रेस केटिएमले दैनिक कुल १० लाख रुपैयाँको कारोबार गर्ने गर्दछ ।

'सञ्चालन खर्च धेरै भएकोले आम्दानी राम्रो हुन सकेको छैन । जति कमायो, यसैमा लगानी गरिराखेकाले हामी नाफा आर्जन गर्न समय लागिराखेको छ । अझै पनि हामी संघर्ष अवधिमा नै छौं,' उनी भन्छन् ।

यो स्थानसम्म आईपुग्न यति सजिलो भने उनीहरुलाई थिएन । करिब २ वर्षमा नै यी चार सहसंस्थापकहरुले पाएको यो सफलता उनीहरुको निरन्तरता, अथक प्रयास र विभिन्न चुनौतीको सामना गरेर नै भएको हो । विगतमा निर्माण व्यवसायमा संलग्न शिव न्यौपानेलाई मनग्गे आम्दानी नभए पनि तरकारी बिक्री गर्दा निकै सन्तुष्टि मिलेको छ । 'सन्तुष्ट त धेरै छौं। इनर्जी पटक्कै घटेको छैन,' सीओओ न्यौपाने हाँस्छन् ।

साथीभाईले कन्स्ट्रक्सन व्यवसायबाट तरकारी बेचिरहेको भनेर सुरुवातमा खिल्ली उडाएपनि सीइओ न्यौपानलाई यसले असर गरेन । उनी भन्छन्, 'भनिरहन्छन्, अहिले पुरै समय र मेहनत यहिँ लागिराखेको छ । रुची जाग्दै गएपछि गर्न सकिँदो रहेछ भन्ने लागेको छ ।'

'तरकारी बेचेर गर्न सकिन्छ, एउटा ठेलामा तरकारी बेच्नेले पनि त घर बनाएका छन् । कसरी बेच्ने र कसरी किन्ने भन्ने व्यवस्थापन तथा पद्धती नभएकाले उचित मूल्यांकन नहुँदा हालसम्म अव्यवस्थित भएको हो । उत्पादन गर्ने लागत उहिँ हुँदा पनि मूल्य निर्धारणमा मनपरी हुने गरेको छ । तर हामी आफैले उत्पादन गर्दा त्यसमा परिवर्तन ल्याउन सक्छौं भनेर अघि बढिरहेका छौं,' उनी सुनाउँछन् ।

पहिचान पाउन तीन वर्षको समय लाग्ने पुर्व योजना सहित यस व्यवसायमा होमिएका संस्थापकहरु हालसम्म हतोत्साहित भने भएका छैनन् । बरु उनीहरुमा दिनप्रतिदिन उर्जा थपिँदै गएको छ ।

आगामी योजना

'हामी बिस्तारै फार्मिङमा जाँदैछौं । सर्वेक्षण गरिसकेका छौं, चितवनमा वा अन्य कुनै स्थानमा आफै उत्पादन गर्ने योजनामा छौं । त्यसकासाथै अर्गानिक मल पनि उत्पादन गरौं भनेर जैविक मल उत्पादन यहिँ आर्थिक वर्षमा सुरु गर्नेछौं,' न्यौपानेले योजना सुनाएँ ।

व्यवसाय विस्तारका क्रममा भने थप पाँच आउटलेट थपेर १० स्टोर पुर्याउने सोंच यी चार संस्थापकहरुको छ । अब छिट्टै चितवन र पोखरामा आफ्नो स्टोर खोल्न लागेको योजना पनि उनले सुनाए ।

कृषि अवसरको खानी

कृषि अत्यन्तै अवसरयुक्त ठाउँ भएतापनि परम्परागत कृषि गरिरहेकाले नेपाली किसानहरुलाई समस्या परेको संस्थापकको भनाई छ । 'विशेषगरी, बिचौलियाले गर्दा किसानहरु मारमा परेका छन् । किसानले उत्पादन गरेको तरकारी दुई तीन चरण अर्थात् मध्यस्तकर्ता भएर मात्र हामीसम्म आइपुग्छ । उनीहरुले पैसा कमाईरहेका छन् तर कृषकहरु पीडित हुनुहुन्छ । उहाँहरुलाई आफ्नो लगानी कति र नाफा कति भन्ने पनि थाहा छैन । यस्तै, कालिमाटीले तय गर्ने दर पनि वास्तविक हुँदैन ।' यसरी किसानहरुको परिश्रमको मूल्य यथोचित तोकियोस् भन्ने पनि फ्रेस केटिएमको लक्ष्य रहेको न्यौपानेले बताए ।

हालसम्म दुई हजार किसानहरुलाई आवद्ध बनाएको फ्रेस केटिएमबाट किसानहरु निकै सन्तुष्ट रहेको पनि न्यौपानेले बताउछन् ।

किसानले हाँसेर बेचेको तरकारी

फ्रेस केटिएममा पाइने तरकारी, किसानले हाँसेर बेचेको तरकारी हो । यो भनाई फ्रेस केटिएमका सीओओ शिव न्यौपानेको हो । उनी भन्छ्न्, 'किसानहरुलाई नगदमा तरकारी किन्ने हामी एक मात्र कम्पनी हौं । अरुलाई किसानले रोएर तरकारी बेच्नुपर्ला तर हामी तुरुन्तै नगद तिर्छौं ।'

अर्को पाटो फ्रेस केटिएममा ताजा तरकारी पाईन्छ । तर अन्य तरकारी पसलहरु भन्दा यहाँ सस्तो पनि हुने गरेको उनको भनाई छ ।

अर्गानिक तरकारीको सन्दर्भमा उनले भने, 'हामी अर्गानिक शब्दको प्रयोग नै गर्दैनौं,अर्गानिक भनेर कुनै सामान बेच्दैनौं, विषादि प्रयोग नगरिएको खान योग्य भन्छौं । तर अहिले उत्पादन नै कम भएकाले गार्हो भएको छ । हामी सेफ फुड भनेर बेच्छौं,' न्यौपाने खुलाउँछन् ।

ट्रेसेबल सुविधा थपिँदै

कुनै किसानले तरकारी उत्पादन गर्न सुरु गरेदेखि, विषदी प्रयोग गरिएको छ कि छैन, कहिले टिपियो, भान्सासम्म आईपुग्दसम्म क्युआर स्क्यान गरेमा त्यो तरकारी कहिले टिपिएको, कसले फलाएको र कति पुरानो भयो भन्ने जान्न सकिने नयाँ सफ्टवेयर पनि यस कम्पनीले विकसित गरिरहेको छ ।

यस स्टोरमा प्याज र कागती नेपाली किसानहरुको उत्पादनले धान्न नसकेपनि अन्य सबै तरकारी तथा फलफूल नेपालीले नेपालमै गरेको खेतीका छन् । न्यौपाने भन्छन्, 'हाम्रो प्राथमिकता नेपाली उत्पादन नै हो । तर पुर्याउन नसकिने प्याज र कागती भने अलि अलि ल्याउँछौं ।'

फ्रेस केटिएममा बजारमा पाइने प्राय सबै ताजा तथा स्वच्छ तरकारी र फलफूल पाईन्छ । कुनै समयमा बाहिर नपाइने तरकारी तथा फलफूल पनि यहाँ पाइने गरेको छ । यसबाहेक, दूग्ध उत्पादन, मासुका फ्रोजन आइटम, लोकल अण्डादेखि मर,मसला, फ्रेस जुस, मसौरा, कोदोको पिठोसम्म पनि यसको स्टोरमा राखिएको छ ।

उपभोक्ताहरुले खानलाई ताजा र सुरक्षित तरकारी तथा फलफूल किन्नकालागि फ्रेस केटिएमलाई उपयुक्त मानेको सीओओ शिव न्यौपानेले मेरोलगानीलाई बताए ।

अनलाईन डेलभिरीको समेत व्यवस्था

फ्रेस केटिएमले तरकारी तथा फलफूल सर्वसाधारणहरुको घरदैलोमा पुर्याइरहेको छ । भक्तपुरबाट सिधै पसलहरुमा होलसेल मूल्यमा फ्रि डेलिभरी हुन्छ भने स्टोरहरुबाट पनि पायक पर्ने स्थानहरुमा घरघरमा तरकारी लगिन्छ । ताजा र स्वच्छ तरकारी उपभोक्ताहरुले सुपथ मूल्यमा सजिलै किन्न पाउने सुविधा यस फ्रेस केटिएमले दिइरहेको छ ।

हरेक शनिबार फ्रेस केटिएमका स्टोरहरुमा १० प्रतिशत छुटको व्यवस्था गर्ने गरिएको छ । अर्कोतर्फ भक्तपुरबाट खरिद लक्ष्य पुर्याएमा बिक्रेताहरुले पनि छुट पाउने गरेका छन् ।

तरकारी र फलफूल अर्डर गर्नकालागि बेवसाइट, फेसबुक, भाइबर, इन्स्टाग्राम वा फोन कल गर्न सकिनछ । यसैगरी, फ्रेस केटिएमको मोबाइल एप पनि डाउनलोड गरेर तरकारी मगाउन सकिने संस्थापक बताउँछन् ।

फ्रेस केटिएमका स्टोरले बिहान ६ बजेदखि राती ८ बजेसम्म सेवा दिने गरेको छ । तर भक्तपुरमा रहेको आपूर्ति चेन भने २४ घण्टा नै संचालन हुने गरेको छ ।

नेताले गर्नुपर्ने काम भयो

सुरुवातमा सिधैं उपभोक्तासम्म पुग्नेगरी स्टोर खोल्ने यी चारको योजना थिएन । तर श्रोत साधनको पहुँच भइसकेपछि उपभोक्तासम्म नै प्रत्यक्ष रुपमा पुग्ने उद्देश्यले स्टोरहरु पनि सञ्चालनमा ल्याइयो ।
यसमा उपभोक्तादेखि साथीभाईको हौसलाले उनीहरुलाई अघि बढाइरहेको उनीहरु मान्छन् । कतिपयले यी चार साथीलाई भन्छन्, 'नेता र राज्यले गर्नुपर्ने काम तिमीहरुले गर्यौ । फुर्केका त छैनौं तर उर्जा पाइन्छ,' शिव न्यौपाने मुस्कुराउँछन् ।

‘आइसिटी अवार्ड २०२२’ नेपालमा छनौट भएका स्टार्टअपहरुमध्ये उत्कृष्ट १२मा 'फ्रेस केटिएम' पनि परेको छ ।

'हामी आफ्नौ बटोमा हिँडिरहेका छौं । अहिलेसम्म प्रतिस्पर्धालाई ध्यानमा राखेका छैनौं । तर प्रतिस्पर्धा हुनुपर्छ ।' उपभोक्ताहरुकालागि भने यस्ता कम्पनीको स्थापना हुनुपर्नेमा पनि फ्रेस केटिएमका सीओओ न्यौपाने जोड दिनछन् । यद्यपी कृषकहरुबाट सिधै उपभोक्तासम्म तरकारी पुर्याउने यस्तो स्टोर नेपालमा पहिलो भएको उनको दाबी छ ।

फ्रेस केटिएमको तरकारी कतारसम्म

फ्रेस केटिएमको तरकारी विगतमा कतारसम्म पनि पुगेको छ । तर उधारोमा तरकारी किन्न र बेच्न मन नपराउने हुँदा हाललाई निर्यात स्थगित भएको छ । यद्यपी उद्योग वाणिज्य महासंघ र दुतावासमार्फत तरकारी निर्यात गर्न कदम चालेको पनि सीओओ न्यौपानले खुलाए ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।