सांसदका लागि केही नयाँ अनुहार छन् भने केही पुराना। पहिले संसद् भित्र सुनिने आवाजहरू जति मसिनो गरि सुनिने गर्थ्यो, त्यो भन्दा निक्कै ठुला स्वरहरू संसदमा पक्कै गुन्जिने छन्। किनकि फरक मत राख्ने प्रभावशाली नेताहरू संसद् छिर्दै छन्। जसमध्येमा ज्ञानेन्द्र शाही, रवि लामिछाने, गगन थापा, हरि ढकाल, विश्व प्रकाश शर्मा, सिके रावत उदाहरण हुन्। उनीहरू मध्ये केहिले वर्षौँ देखिको राजनीतिक विरासतलाई चुनौती दिँदै संसदमा प्रवेश पाउने छन्।
उनीहरूले संसदमा किन प्रवेश पाउँदै छन् ? भन्ने प्रश्नको उत्तर खोज्न धेरै घोत्लीरहनु पर्दैन। राजनीतिक दलका नाममा राष्ट्रको सार्वभौम, प्रजातन्त्र र सम्मानमा ह्रास गराउने कार्य भएको भन्ने आम जनमानसको आरोप छ। व्यक्तिगत र राजनीतिक स्वार्थमा नेताहरू केन्द्रित हुँदा मुलुकले गरिबी र पर निर्भरताको अवस्था झेल्न पर्यो। कुनै पनि देशको उन्नति, प्रगति, विकास र समुन्नति आधार भनेको नै युवा पुस्ता हो। नयाँ पुस्तालाई उचित अवसर जिम्मेवारी नदिएसम्म मुलुकको मुहार फेरिँदैन। राष्ट्रमा अमन चैन स्थायित्व र विकास हासिल गर्न सकिँदैन। यिनै तथ्यलाई कुनै पनि पार्टी होस वा सङ्गठनले मनन नगरेका कारण परम्परागत दल धराशायीको अवस्थामा पुगेको भन्ने आम धारणा व्याप्त पाइन्छ । जसलाई यसपालीको आम निर्वाचनले पनि केही हदसम्म प्रमाणित गर्ने कोसिस गर्यो।
यही जनमानसको असन्तुष्टिको भर्याङ्ग चढ्दै उनीहरू संसद् उक्लिँदै छन्। भ्रष्टाचार, ढिला सुस्ती, सडक आन्दोलन र सडकबाटै परिवर्तन गर्नका लागि दबाब दिन सक्ने क्षमता भएका युवा नेता आधिकारिक रुपमा जनताको भारी मत प्राप्त गर्दै संसदमा पुगेपछिको अवस्था झनै पेचिलो हुने अनुमान अहिले नै गर्न सकिन्छ।
सदनमा प्रतिनिधित्व गर्दै आउने जोसिला युवा र उनीहरूको संसदमा हुने प्रतिनिधित्वलाई आम जनताले खुबै महत्वका साथ हेरिएका छन् । तथ्यमा बोल्ने, उग्र आक्रामक प्रस्तुति, सत्य उजागर गर्ने र समस्या समाधान गर्न तत्काल सक्रिय भई हाल्ने भावना भएका युवाहरूको सामना गर्न पुराना राजनीतिक दलका नेताहरूलाई धौ धौ पर्न सक्छ।
देशको प्रमुख चुनौतीको रुपमा रहेको भ्रष्टाचारलाई प्रमुख मुद्दा बनाएर चुनावी मैदानमा उत्रिएका र जनमत प्राप्त गरी चुनिएका यी युवा नेताहरू प्रति जनताले ठुलै आशा गरेका छन्। अबको अवस्थामा तिनले संसदमा उठाउने त्यस्ता पेचिला विषय वस्तुले भोलिको संसद्को मौनतालाई चिर्न सक्छ कि सक्दैन भन्ने अबको मूल प्रश्न हो। आम जनताको बलियो विश्वास प्राप्त गरी संसदसम्म पुगेका यी नेताहरुको यात्रा अवश्य सहज भने हुने छैन। त्यसमा उनीहरू आम मतदाताहरूको मतको सम्मान गर्दै शालीन रुपमा प्रस्तुत हुनु पर्ने छ।
को कस्तो ?
ज्ञानेन्द्र शाही: सामाजिक अभियन्ताको रुपमा खरो रुपमा उत्रिन्छन् । भष्टाचारको खरो विरोध गर्दै भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका शाही देशव्यापी रूपमा सङ्गठित रुपमा उत्रने गरेका थिए । भ्रष्टाचार उन्मुलनका लागि अभियान चलाएर विकासको वाधक भ्रष्टाचार नै रहेको ठहर गर्ने शाहीलाई युवा वर्गहरूको समेत गतिलो साथ, सहयोग र समर्थन छ । राजनीतिक दल र सरकारको खरो आलोचनामा गर्ने, भ्रष्टाचार जन्य गतिविधिको कडा विरोध गर्दै शाहीले जनताको मन जितेका थिए ।
हरि ढकाल: शेयर बजारको अभियन्ताको रुपमा ढकालले परिचय बनाएका छन् । उनले शेयर बजारमा देखिएको नीतिगत अस्थिरतालाई स्थायित्व दिनु पर्ने, बजारलाई स्वचालित र प्राकृतिक बनाउनुपर्नेमा सधैँ जोड दिँदै आएका हुन्। शेयर बजारमा अनलाईन प्रणाली सञ्चालन हुन पर्ने, शेयर बजारको दायरा बढाउनु पर्नेमा उनको जोड रहदै आएको छ। ढकालले नो भोट अभियान सञ्चालन गरि पुरातन र निराशावादी राजनीतिलाई पन्छाउदै नयाँ व्यक्ति आउनु पर्छ भन्ने स्पष्ट धारणा राख्दै आएका थिए ।
सिके रावत: मधेस अभियन्ताको रुपमा परिचित डा. सिके राउत छन् । स्वतन्त्र मधेस राज्यको माग सहित आन्दोलन गर्दै आएका छन्। भूमिगत रुपमा आन्दोलन गर्दै आएको राजनीतिलाई परित्याग गरेर रावत राष्ट्रिय राजनीतिमा होमिएका थिए । उनले भ्रष्टाचार विरोधी र किसानको लागि आन्दोलन गरे। तर नेपाललाई टक्र्याउनु पर्ने अभिव्यक्ति दिएको कारण उनी विवादित रहँदै आएका थिए ।
रवि लामिछाने: चर्चित सञ्चारकर्मीको रुपमा छवि बनाएका रवि लामिछानेले लामो समयसम्म विभिन्न सञ्चार माध्यममा आबद्ध रहेर समाजमा भएका विकृति माथि धावा बोल्ने गरेको थिए। समाजका भएका विषय वस्तुलाई नै लिएर जनतासँग साक्षात्कार गर्दै आफ्नो कार्यक्रम बनाउँदा रवि जनताको मनमा बस्न सफल भएका थिए । जसको परिणाम अहिले प्रतिनिधि सभाको निर्वाचन परिणामले प्रस्ट रुपमा देखाएको छ। जनताहरूले उनको पार्टी "राष्ट्रिय स्वतन्त्र पार्टी" को चुनाव चिन्ह घण्टी मुलुकभर चर्चामा रहेको छ। अहिलेसम्मको मत परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राष्ट्रिय पार्टीको रुपमा उदाउने देखाइसकेको छ।
गगन थापा: नेपाली काँग्रेसका युवा नेताको रुपमा गगन थापा रहेका छन्। प्रखर वक्ता रुपमा परिचित थापा युवा पुस्तामा रुचाइएका चर्चित नेता हुन। उनले पार्टी र संसदमा फरक किसिमको धारणा राख्ने भएका कारण पनि उनलाई जनताले रुचाएका छन्।
निष्कर्ष
निर्वाचन अघि उनीहरूले बनाएको छविलाई हेरेर आउने दिनमा संसदमा उनीहरूले उठाउने मुद्दाको विषय अहिले नै आकलन गर्न गाह्राे छैन। भष्टाचारको खरो विरोध गर्दै भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा जनतामाझ छवि बनाएका ज्ञानेन्द्र शाहीले पक्कै पनि कुनै कुनाबाट ठुलो स्वरमा भ्रष्टाचार विरोधी अभिव्यक्ति दिने छन्।
निर्वाचन अघि नै शेयर बजारको मुद्दा उठाउने साझा प्रतिनिधि हुने अभिव्यक्ति दिँदै आएका हरि ढकालले अर्को कुनाबाट पूँजी बजारको विकास हुनै पर्ने भन्दै कराउने छन्।
सधैँ मधेसलाई पछाडि पारिँदै आएकोले अब त्यसको अन्त्य हुनु पर्छ। सदनमा कुनै पनि नीति नियम बनाउँदा मधेसलाई तल पारिनु हुँदैन भन्दै रावतले अरू संसदमा अरु सासंदकाे हुर्मत लिने छन्।
प्रदेश सभामा मत समेत नदिएर बहिस्कार गरेका रबी लामिछानेले सदनबाटै प्रदेश सभाको मोडल परिवर्तन गर्नु पर्छ भन्दै संसद् हल्लाउने छन्।
पाको उमेरकाले अब विश्राम लिनु पर्ने र युवालाई देश सुम्पिनु पर्ने भन्दै आएका गगन थापाले युवाको नेतृत्वको लागि खरो बोल्ने छन्।
यिनै अपेक्षा राख्दै जनताले उनीहरुलाई भारी मत दिएका हुन्। जनताका यिनै मुद्दा उठाए मात्रै उनीहरूले जनतालाई न्याय गरेको मानिने छ। अन्यथा उनीहरूले जनतालाई पहिलेका नेताले जस्तै ठगेको ठहरिने छ।