१८ वर्षिय युवाकाे परिकल्पना "काराेबार एप", पसलेहरूकाे उधाराे खाता राख्न सहज

Jan 12, 2023 06:52 PM Merolagani

 

ज्याेति शाह

मोरङ गोठगाउँका कुमार फुयाँल र श्रीमती निर्मला फुयाँलले सानो पसल चलाउँथे । सुकुना मावि कक्षा १२ मा कम्प्युटर विज्ञान अध्ययन गर्ने १८ वर्षका समिर फुयाँल बुवाले खाना खाने बेलामा पसल कुरेर बस्ने गर्थे । 

एक दिन बुवा खाना खान भान्सामा गए । समिर पसलमा बसिरहेका थिए । एक नियमित ग्राहक आए र आफ्ना हिसाब किताब मागे । समिरले खोज्न थाले, भेटाएनन् ।

बुवा आए, खाता खोतले तर उनले पनि भेटेनन् । ग्राहक त्यो दिन उधारो नतिरी यत्तिकै फर्किए । बुवाले नजिकै बसेर समिरतर्फ फर्केर भने, "यसको पनि एप बनान, उधारो खाता भेटाउन नि गार्हो भयो ।" समिरका मनमा बुवाको कुरा किला बनेर गड्यो । उनले अध्ययन गर्न लागे । "बुवाले जिस्केर भनेको कुरा गर्न सकिन्छ नि त भन्ने लाग्यो," समिर भन्छन् । "साना किराना, तरकारी, कस्मेटिक्सदेखि अन्य पसलमा कारोबार गर्न सजिलो मोबाइल एप बनाउन पाए कस्तो होला ?" समिरले सोंचे र काम पनि सुरु गरे । सानैदेखि कम्प्युटर प्रविधिमा रुची भएका समिरले "कारोबार एप" को विकास गरे ।

दुई वर्षअघिको यो घटनाले समिर फुयाँलको जिन्दगी मोडिदियो र बनाइदियो नेपालको पहिलो बिजनेस एप "कारोबार एप" बनाउने कान्छा उद्यमी ।

"साना पसलहरु सबैमा डेस्कटप वा ल्यापटप हुनु सम्भव हुँदैन । मोबाइलमा नै साना व्यापारीहरुलाई सहज हुने लाग्यो र मोबाइल एप बनाउ भन्ने लाग्यो," उनी सुनाउँछन् ।

 

खोजी गर्दा विदेशी यस एपहरु इन्टरनेटमा देखे तर भाषा लगायतको समस्या भएकाले आम नेपालीकालागि समिरलाई त्यो उपयुक्त लागेन । त्यसैले उनले आफ्नै एप बनाउने सोंचे । तर एपलाई डिजाइन तथा विकास गर्न समूहको आवश्यकता हुने ठानेर तीन साथीहरुसँग मिलेर आफ्नो टिम बनाए । यसरी, २०२० नोभेम्बरमा चार साथीहरुको साथले कारोबार एप संचालनमा ल्याएका समिर अहिले २० वर्षका मात्र भए ।

आफूले वेबसाइट र एप बनाएर कमाएको पैसा पनि समिरले कारोबार एपमा लगानी गरेका थिए । यसरी, करिब एक लाख रुपैयाँ लगानीमा खुल्यो नेपालको पहिलो बिजनेस एप "कारोबार एप "।

"एप त बन्यो, अब ग्राहक कसरी खोज्ने ?" समिर रनभुल्लमा परे । तर आफ्नो पसलसँगै जोडिएका अन्य छिमेकीहरुलाई एप इन्स्टल गर्न लगाए । पसलेहरुलाई समस्या छ भन्ने थाहा थियो । "त्यसैले समस्या समाधान गर्न पहिलो चरणमा एप बनायौं र चाहिने मात्र फिचर जस्तै ग्राहकहरुको नाम राख्ने, उधारो दिएको र लिएको राख्ने, थाहा पाउने प्ले स्टोरमा रिलिज गर्यौँ । त्यसपछि ग्राहकहरुबाट फिडब्याकहरु आउन थाल्यो र सुधार गर्दै गयौं ।"

छिमेकी हुँदै बिस्तारै मोरङका पसलहरुमा कारोबार एप चल्न थाल्यो । ग्राहकहरुका माध्यमबाट मोरङ मात्र नभई देशका पुर्वदेखि पश्चिमका धेरै पसलेहरुले कारोबार एपमार्फत कारोबार रेकर्ड गर्न थाले ।

बिआईटि तेश्रो वर्षमा अध्यन गर्ने २१ वर्षका फुयाँल ईटहरी इन्टरनेशनल कलेजका विद्यार्थी हुन् ।

बाल्यकालदेखि नै कक्षामा प्रथम हुन्थे समिर । प्रोग्रामिङमा रुची रहेका उनमा माइक्रोसफ्ट अफिस वर्डहरु कसरी बनाईन्छ भनेर कौतुहलता थियो । एकदिन शिक्षकलाई सोधे उनले। सरले जवाफ दिए, "प्रोग्रामिङबाट बन्छ ।" समीर सम्झिन्छन्,"अनि मलाई त्यो सफ्टवेयरहरु खतरा लाग्थ्यो ।"

तर क्यू बेसिक नामको पाठ्यक्रम अध्ययन गर्न उत्सुक भएका समिरको खुशी एकछिन पनि टिकेन । "क्यू बेसिक च्याप्टर कहिले पढ्ने भनेर पाँच ६ महिना कुरेर बसेँ । अब त्यो अन्तिम च्याप्टर पढाउने पालो आयो भनेर खुशी भएको थिएँ । अन्तिममा सरले तिमीहरुलाई यो च्याप्टर चाहिँदैन भनेर पढाउनु भएन । मैले यति समयसम्म कुरेर बसेको च्याप्टर नपढाएपछि मलाई चित्त बुझेन र आफै पढ्न, सिक्न र खोज्न थालेँ," उनी थप्छन् । "प्रोग्रामको कनसेप्ट बुझेँ र बुझ्दै गर्दा रियल वल्र्डमा वेबसाइट र प्रोग्रमिङहरु सिक्न थाले ।" कक्षा १० मा हुँदा नै उनले वेबसाइटहरु तथा एपहरु बनाउन थालेका थिए ।

के हो कारोबार एप ?

"कारोबार एप अफलाइन पनि चल्नुपर्यो किनभने पसलमा इन्टरनेट सधैँ हुन्छ भन्ने हुँदैन । नेपाली भाषामा सहजै एपमा लेख्न मिलोस् भनेर अत्यन्त सरल बनाएका छौं, समिर एपका बारेमा बताउँछन् । कारोबार एप निःशुल्क डाउनलोड गर्न पाइने समिरको भनाई छ ।

यो एप डाउनलोड गरेपछि फोन नम्बरले मात्र लगइन गरेर एप चलाउन मिल्छ । "इन्टरफेस चलाउन पनि सजिलो छ । ग्राहकहरुलाई लिएको, दिएकाे खरिदबिक्री वा क्रियट गरेर रेकर्ड गर्न सकिन्छ ।" यस एपले कुनै ग्राहकको नाम टाइप गरेर खोजेमा उक्त ग्राहकको सबै विवरण र खाता कारोबार एपमा देखिन्छ ।

यस एपले पसले र ग्राहकको समय बचत गर्छ भने सजिलाे पनि बनाईदिन्छ । यस्तै पसलेहरुको पनि आम्दानी, बिक्री अथवा घाटा पनि सबै यस एपले देखाउँछ । पसलका सामानहरुको पनि विवरण जस्तै, सकिएका सामान वा कुन सामाग्री कति बाँकी छ भन्ने यस एपमा देख्न सकिन्छ ।

यसकासाथै व्यक्तिगत आर्थिक विवरण लिन पनि यो एपले सहज बनाईदिन्छ । कुनै पनि व्यक्तिको प्रतिदिन भएको खर्च र बचतको रेकर्ड राख्ने काम पनि कारोबार एपले गर्दछ ।

समिरले यो एप सामान्य नागरिककालागि बनाएको बताउँछन् । "डिपार्टमेन्टल स्टोरहरुमा हामीले कम्प्युटरमा विवरण राखेको देख्न सक्छौं । त्यसैले यो, उच्च वर्गकालागि भन्दा पनि सामान्य नेपालीहरुलाई केन्द्रमा राखेर बनाएका हौं ।"

२ वर्षदेखिको ग्राहकहरुको प्रतिक्रिया र साथका कारण अघि बढिरहेको समिरको धारणा छ । "एप निः शुल्क भएकोले अहिले हाम्रो रेभिन्यु जेनेरेट भएको छैन । अहिले खर्च धानिरहेका छौं," समिरले मेरालगानीलाई बताए ।

कारोबार एपमा अन्य केहि फिचर पनि छ जसले व्यापारीलाई थप सहज बनाउँछ । समिरका अनुसार ग्रिटिङ कार्ड नामको उक्त फिचरले चाडपर्वमा शुभकामना सन्देश दिन पसलको नाम र लोगो सहित सामाजिक संजालमा शेयर गर्न सकिन्छ । "यसरी विज्ञापन गर्दा उहाँहरुको पसलको ग्राहक बढ्न सक्नुहुन्छ," उनी सुनाउँछन् ।

समिर थप्छन्,"यस्तै, हामीसँग रिमाइण्डर फिचर छ । अर्को ट्रान्जेक्शनको लिंक पनि शेयर गर्न मिल्छ । जसले गर्दा हाम्रो अकाउण्टिङ र इन्जिनियरिङ मात्र नभएर व्यापार बढाउने टुल वा उपकरणहरु पनि राखेका छौं । नियमित रुपमा हामी कसरी राम्रो हुन सकिन्छ भनेर कोशिस गरेका छौं ।"

आर्थिक उपलब्धि हासिल गर्न समिर र उनका साथीहरुले अबका दिनमा कोर फिचर सबै सित्तैमा चलाउन सकिएपनि बिस्तारै केहि फिचरहरु चलाउन शुल्क तिर्नुपर्ने व्यवस्था गर्न लागिएको सुनाए । डेस्कटप भर्जन चलाउन पनि केहि शुल्क लाग्नेछ ।

नेपाल भरका ५० हजार पसलहरुले हाल कारोबार एप चलाउने गर्छन् । हाल मोरङस्थित कारोबार एपको कार्यालयमा ६ जना काम गरिरहेका छन् । यद्यपी अब काठमाडौंमा नै कारोबार एपको कार्यालय स्थापना हुँदैछ ।

बंगलादेशमा पुग्दै कारोबार एप

सानो पसल र व्यापारीहरुको व्यक्तिगत वित्तीय फाइदालाई कसरी टेवा पुग्छ भने त्यसमा नै लिडिङ बिजनेस सोल्युसन फर एमएसएमई बनाउने समिरकाे योजना छ । "उहाँहरुको व्यापारलाई कसरी छिटो वृद्धि र विकास गर्न सकिन्छ भनेर टुल्स पनि बनाउँदैछौं ।" सानो पसलकालागि प्रविधि विकास गर्ने नै उनीहरुको मूख्य उद्देश्य रहेको छ । अब एक लाख एप प्रयोगकर्ता पुर्याउने उनीहरुले लक्ष्य लिएका छन् ।

बंग्लादेशमा पनि अब कारोबार एप लञ्च गर्दैछन् । यस्तै मोबाइलमा मात्र नभएर ल्यापटप वा डेस्कटपबाट पनि यो एप चलाउन मिल्ने समिर र उनको समूहले काम गरिरहेको छ ।

परिवारको साथले समिरले आफ्नो पढाइकासाथै कारोबार एपको विकास पनि सँगसँगै लगेका छन् ।

समिरले कारोबार एपमार्फत हालसम्म तीनवटा अवार्ड हात पारिसकेका छन् । समिरले कारोबार एपमार्फत हालसम्म तीनवटा अवार्ड हात पारिसकेका छन् । २०१९मा वाईवाईको ग्लोकल टिन हिरो, एनवाईईएफ स्टार्टअप अवार्ड २०२२ र राइजिङ स्टार ईनोभेसन आइसिटि अवार्ड २०२२ पाएका छन् ।

यी अवार्डले समिरलाई पहिचान दिएको मान्छन् उनी । उनी भन्छन्," हौसला मिलेको छ । अझ धेरै काम गर्न बाँकी छ ।"

"नेपालका साना व्यवसायीहरुकालागि प्रमुख बिजनेस सोल्युसनको रुपमा स्थापित गर्ने हाम्रो मुख्य उद्देश्य हो," उनी दृढ सुनिन्छन् ।

"आईटि पढेका धेरै नेपाली विद्यार्थीहरु विदेशिन्छन् नि ?" भन्ने प्रश्नमा समिर मुस्काउँदै जवाफ दिन्छन्, "मलाई विदेश जानु छैन, मलाई कारोबार एपलाई विदेश पुर्याउनु छ ।"

समिरले युवाहरूलाई सुझाव दिन्छन्, "कतिले पढाइ सकेर केहि गर्छु भनेर बस्नुहुन्छ, तर त्यहि फेजमा स्टार्ट गर्न सकिन्छ । मेरो ब्याचलर सकेको छैन तर कारोबार एप एउटा स्तरमा पुगिसकेको छ । त्यसैले, सबैले सुरुवात गरेमा विद्यार्थीहरुले नै नेपालमा केहि इनोभेट गर्न सकिन्छ ।"

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।