कम्पनीले जारी पूँजीको ५० करोड रुपैयाँको २० प्रतिशतले दरले हुने आउने १० करोड रुपैयाँ बराबरको शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये १० प्रतिशत अर्थात ५ करोड रुपैयाँ बराबरको ५ लाख किता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरिसकेको छ । बाँकि १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बरारबको ५ लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये पनि १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २ प्रतिशत अर्थात १० हजार ६१० कित्ता शेयर कम्पनीका कार्यरत कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २५ हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने ४ लाख १५ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
हाल कम्पनीको अधिकृत तथा जारी पूँजी ५० करोड रुपैयाँ र चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र सर्वसाधारणमा आईपीओ निष्काशन गरी बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले निष्काशन गरेको आईपीओमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतीकर्ता मुक्तिनाथ क्यापटल लिमिटेड रहेको छ ।
औषत सुरक्षित जनाउने रेटिङ्ग
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत सुरक्षित रहेको संकेत गर्दछ।
इक्रा नेपालले कम्पनीलाई सन २०२३ जनवरी २५ मा क्रिडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । सो रेटिङ्गको अवधि एक वर्षसम्म अथाृत २०२४ जनवरी २३ तारिख सम्म कायम हुनेछ ।
कस्तो कम्पनी हो?
सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेड, कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७१ असोज २७ गते प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । २०७४ असार १८ गतेदेखि भने पब्लिक कम्पनीको रुपमा परिणत भैई कारोबार सञ्चालन गरिरहेको छ ।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ महानगरपालिका वडा नं ३०, ज्ञानेश्वर काठमाडौंमा रहेको छ । कम्पनीको जलविद्युत आयोजना केन्द्र भने इलामको इलाम नगरपालिका वडा नं ५ बरबोटेमा रहेको छ ।
कम्पनीले ७.८ मेगावटको सुपरमाई जलविद्युत आयोजनाबाट जलविद्युत उत्पादन गर्ने उदेश्य अनुरुप सुपरमाई जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा सञ्चालन गर्न नेपाल सरकारको उर्जा मन्त्रालयबाट २०७३ फागुन ३० गते विद्युत उत्पादनको अनुमति पाएको थियो । कम्पनीले आयेजना निर्माण सम्पन्न गरी २०७५ कार्तिक ११ गतेदेखि विद्युत उत्पादन गर्दै आइरहेको छ ।
सो आयोजनाको कुल लागत १ अर्ब ४८ करोड ८६ लाख १६ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ८ लाख ४८ हजार २०५ रुपैयाँ रहेको छ । कम्पनीको लगानी फिर्ता हुने अवधि ५.७९ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ७.२७ वर्ष रहेको छ ।
निरन्तर लाभांश
कम्पनीले २०७५ कार्तिक ११ गतेदेखि निरन्तर विद्युत उत्पादन गर्दै आइरहेको छ । कम्पनीले विद्युत उत्पादन गरेदेखिनै शेयरधनीहरुलाई हरेक वर्ष लाभांश वितरण गर्दे आएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ७.१५ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ बाट ११.५० प्रतिशत र गत आर्थिक वर्षको मुनाफा ३० प्रतिशत नगद लाभांश वितरण गरेको जनाएको छ ।
आईपीओ जारी गर्नुको उद्देश्य
जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरी लगानीकर्ताहरुलाई लगानीको अवसर दिनु तथा कम्पनीबाट निर्माणका लागि अगाडी सारिएका जलविद्युत आयोजनाहरुको ऋण दायित्व भुक्तानी गर्न आईपीओ निष्काशन गर्नु परेको कम्पनीले जनाएको छ ।
कम्पनीले आईपीओ निष्काशन गरेर संकलन गरेको १० करोड रुपैयाँ मध्ये शेयर निष्काशन खर्च तथा दायित्व भुक्तानीका लागि ६० लाख रुपैयाँ र बैंकबाट लिएको ऋण भुक्तानी गर्न ९ करोड ४० लाख रुपैयाँ खर्च हुने जनाएको छ ।
चालु आर्थिक वर्षमा १२ करोड भन्दा बढी नाफा कमाउने
चालु आर्थिक वर्ष अर्थात २०७९/८० मा कम्पनीले १२ करोड रुपैयाँ भन्दा बढी नाफा कमाउने प्रक्षेपण गरेको छ । कम्पनीले यस अवधिमा १२ करोड १८ लाख ३१ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षमा पनि १२ करोड ३० लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चित मुनाफा २० करोड ४६ लाख ७१ हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७६ पैसा र प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ३७ पैसा पुग्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ९९ पैसा र प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ७६ पैसा रहेको थियो ।
पूँजी संचरना कस्तो?
हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानिय, कम्पनी तथा आयोजनाका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणहरुलाई गरी १० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको अधिकृत पूँजी र जारी पूँजी पनि ५० करोड रुपैयाँ नै रहेको छ ।
आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकको ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत कायम हुनेछ ।
सञ्चालक समितिको संरचना
कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना र स्वतन्त्र सञ्चालक १ जना गरी ७ जना सञ्चालक रहने व्यवस्था रहेको छ ।
हाल समितिमा संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ५ जना र एक जना स्वतन्त्र गरी ५ जना मात्रै सञ्चालक रहेका छन् ।
यस्तै सर्वसाधारण शेयरधनी समुहको शेयर निष्काशन भई बाँडफाँट पश्चात आगामी साधारण सभाबाट निर्वाचित भएपछि एम जना सञ्चालक थपिनेछ ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार खड्का रहेका छन् । त्यसैगरी, कम्पनीका अन्य सञ्चालकहरुमा सबिता बर्तौला, नबराज राउत, बुद्धि बहादुर थापा, कैलाशमान राजभण्डारी र दिवस लाल मास्के रहेका छन् । मास्के स्वतन्त्र सञ्चालक हुन् ।
भावी योजना तथा रणनीति
कम्पनीले आफ्नो व्यवसाय/सेवाको बृद्धिका लागि चाल्ने भावी योजना र त्यस्तो योजना प्राप्तिका लागि चालिने समयवद्ध रणनीति समेत बनाएको छ । नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्ने, दुई वर्षभित्रमा नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण गर्दै जाने रणनीति बनाएको छ ।
यस्तै सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र ब्यवसायिक रुपमा सम्भाव्य देखिएका जलविद्युत आयोजनाहरुमा लगानी गर्ने कम्पनीले योजना बनाएको छ ।