निष्क्रिय कर्जा बढ्दा सिवाईसी नेपाल लघुवित्तको नाफा घट्यो

Feb 06, 2023 09:20 AM Merolagani

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (CYCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.९७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा बढेर सम्भावित जोखिम बापत रकम व्यवस्था गर्दा लघुवित्तको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.७३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १७.४७ प्रतिशत बढेको छ। लघुवित्तको निष्क्रिय कर्जा १.९२ प्रतिशतबाट बढेर ४.६२ प्रतिशत पुगेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा १ करोड ४७ लाख रुपैयाँ छुट्याएको छ। जसका कारण सञ्चालन मुनाफा ३९.२८ प्रतिशत घटेर खुद नाफा घट्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १०२ रुपैयाँ ४४ पैसा घटेर ३९ रुपैयाँ २४ पैसामा झरेको छ। लघुवित्तले आईपीओ जारी गरेका कारण पनि यस्तो आम्दानी घट्न पुगेको हो। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४९.५४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३३३ रुपैयाँ ४३ पैसा रहेको छ।

१२ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २४ करोड ७४ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तले १ अर्ब ५७ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब ७७ करोड २० लाख रुपैयाँ सापटी गरी ४ अर्ब १ करोड ५५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

वैशाख २ देखि ३३ ब्रोकर कम्पनीले नयाँ टिएमस टेस्ट गर्ने, मोबाइलबाटै कारोबार,के छन् अरू नयाँ फिचर ?

Mar 17, 2023 06:09 AM

सुवास निरौला

लामो समयदेखि नयाँ टिएमएसको पर्खाइमा रहेका लगानीकर्ताको पर्खाइ आउने वैशाख देखि सकिने  भएको छ।