शेयर बजारमा मंगलबार आएका यी ६ ‘हल्ला’ ले बनायो ‘हरियाली’

Feb 07, 2023 06:28 PM Merolagani

विष्णु बेल्वासे

शेयर बजारमा मंगलबार आएका यी ६ हल्लाले बजारलाई हरियाली बनाउन पुगेको छ । शोधनान्तर घाटा कम भएको, रेमिट्यान्स बढेको, फागुनदेखि निक्षेपको ब्याज १० प्रतिशतले घट्ने अनुमान गरिएको, मौद्रिक नीतिमा १२ करोडको सिमा हट्ने चर्चा चलेको, निक्षेप बढेको र तरलता पनि सहज हुने स्थिति आएका कारण शेयर बजार बढ्न पुगेको हो ।

नेपाल राष्ट्र बैंकले हिजो सोमबार पुस महिनासम्मको देशको वर्तामान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको र त्यसमा सबै सूचकहरु सकारात्मक देखिएपछि शेयर बजार बढ्न पुगेको नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले बताए । ‘राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वित्तीय स्थितिमा सबै परिसूचकहरु पोजेटिभ देखिएकाले शेयर बजार बढ्न पुगेको हो,’ उनले भने, ‘बजारमा देशको वर्तमान स्थिति सुधारउन्मुख देखिएपछि बजारमा हरियाली छाएको हो ।’

मंगलबार नेप्से करिव ७७ अंकले बढेर २१७७.३४ विन्दुमा पुगेर बन्द भएको छ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार एकैदिन यति धेरै अंकले बढेको यो पहिलो पटक हो ।

केही दिन अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको शोधानान्तर स्थिति सकारात्मक रहेको बताएका थिए । तर, लगानीकर्ताले उनको भनाइलाई पत्याएका थिएनन् । तर सोमबार सार्वजनिक भएको मुलुकको वित्तीय स्थितिको आंकडाले गभर्नरको भनाइलाई पुष्टि गरेकाले बजारमा सकारात्मक माहोल देखिएको हो ।

मंगलबार बजार बढ्नुमा ६ कारणले काम गरेको फोरमका उपाध्यक्ष लम्सालले बताए । ‘गभर्नरले भनेजस्तै शोधनान्तर घाटा पनि कम भएको, रेमिट्यान्स बढेको, समग्रमा १० प्रतिशत ब्याज घट्न कुरा आयो, निक्षेप बढेको, तरलता पनि सहज अवस्थामा आएको र अर्को हल्ला १२ करोडको ‘क्याप’ हटाउँछ कि भन्ने हल्ला आयो,’ उनले भने, ‘सबै पोजेटिभ हल्ला बजारमा आएपछि हल्लै हल्लाले गर्दा बजार बढ्न पुग्यो ।’

चालु आर्थिक वर्ष शुरु भएपछि लगातार चौथो महिना शोधनान्तर स्थिति सकारात्मक बन्न पुगेको छ । सरकारले गरेको आयात प्रतिबन्धको असर स्वरुप पछिल्ला वर्षमा सामान आयातमा कमी आएर व्यापार घाटा समेत घट्दा शोधनान्तर स्थिति बचतमा देखिएको हाे । पछिल्लो समय शोधनान्तर स्थिति झन्डै ९७ अर्ब १० अर्ब रुपैयाँले सकारात्मक छ । यसले पनि शेयर बजारलाई बढाउन सकारात्मक भूमिका खेलेको हो ।

यसैगरी, पछिल्लो समय विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्समा पनि निकै सुधार आएको छ। पुससम्ममा ५ खर्ब ८५ अर्ब ८ करोड रेमिट्यान्स भित्रिएको छ ।

तरलता सहज हुँदै गएपछि बैंकहरुलाई कर्जाको चर्को ब्याजदर घटाउन चौतर्फी दबाव परेको छ । उद्योगी व्यवसायीले कर्जाको ब्याजदर घटाउनका लागि अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमेतलाई दबाव दिँदै आएका छन् ।

बैंकहरुले पनि भद्रसहमति गरेर माघ १ गतेदेखि निक्षेपको ब्याजदर घटाएका छन् । फागुनमा अझै १० प्रतिशत घटाउने तयारी गरेका छन् । यसको अर्थ बैंकको मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतको हाराहारीमा आउने भएको छ । अहिले याे दर ११ प्रतिशत  छ ।

यता कर्जाको ब्याजदर भने अझै पनि घटाएका छैनन् । निक्षेपको ब्याजदर घटेको तीन महिनापछि अर्थात बैशाख १ गतेबाट मात्र कर्जाको ब्याजदर घटन सुरु गर्ने बैंकरले बताउँदै आएका छन्। कर्जाको ब्याजदर घटाउने समय नजिकिएकाले पनि शेयर बजार बढ्न पुगेको हो ।

साथै, केन्द्रीय बैंकले फागुनको पहिलो सातासम्म मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरिरहेको छ । राष्ट्र बैंकले गत वर्ष फागुन ५ गते मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गरेको थियो । यसपाली त्यो भन्दा ढिला नगर्ने संकेत गरिसकेको छ ।

शेयर धितो कर्जा राखेर अधिकत १२ करोड ऋण लिन पाउने कुरालाई पनि मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाले सम्बोधन गरिने संकेत देखिएको छ । एउटा बैंकबाट ४ करोड र बढीमा तीन बैंकबाट १२ करोडसम्म ऋण लिन पाउने व्यवस्थालाई खारेज गरेपनि वित्तिय प्रणालीबाट १२ करोड भन्दा बढी ऋण लिन नपाउने व्यवस्थालाई भने यथावत राखेको छ । तर, त्यो १२ करोडको सिमा ज्यादै अनुपयुक्त भएको लगानीकर्ताले बताउँदै आएका छन् ।

१२ करोडको सिमालाई हटाउनु पर्ने माग लगानीकर्ताले गरेका छन् । अर्थमन्त्री विष्णु पौडेलले पनि लगानीकर्तालाई तर्साउने खालको नीतिगत व्यवस्था नगर्न गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिइसकेका छन् । त्यसैले पनि गभर्नर अधिकारीले १२ करोडको सिमालाई २५ करोडदेखि ५० करोडसम्म पुर्याउने कि पुरै हटाउने भन्ने छलफल गर्न थालेका छन् ।

पुँजी बजारप्रति नरम नीति अगाल्दै आएका अर्थमन्त्री पौडेलकै दुई पटकको कार्यकालमा नेप्सेले नयाँ उचाई चुमेको थियो । पहिलो पटक पौडेल अर्थमन्त्री हुँदा १८८१ अंक र दोस्रो पटक अर्थमन्त्री हुँदा ३२०० नजिक नेप्से पुगेको थियो । आफ्नो तेस्रो कार्यकालमा पनि अर्थमन्त्री पौडेलले लगानीकर्तालाई खुशी बनाउन चाहन्छन् । त्यसैले पनि बजारमा सुधारको संकेत अहिलेदेखि नै आउन थालेको कतिपयको भनाइ छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।