दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Mar 13, 2023 08:20 AM Merolagani



फागुन २९ गते, सोमबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कृषि विकास बैंक र स्वरोजगार लघुवित्तले भोली अर्थात फागुन ३० गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कृषि विकास बैंक (ADBL) ले चैत १४ गते केन्द्रिय कार्यालयको तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अविमोच्य असंचिति अग्राधिकार शेयरधनीहरुलाई ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयधरनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, स्वरोजगार लघुवित्त वित्तीय संस्था (SLBBL) ले चैत ११ गते, बिहान ११ः३० बजे, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा १४ औं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१५७९ प्रतिशत नगद लाभांश पारित गर्नेछ।