चन्द्र ढकाललाई सघाउन मेराे उम्मेदवारी,मेरो प्रतिस्पर्धी जो आए पनि मैले डराउनु पर्ने अवस्था छैन: वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठकाे विचार

Mar 17, 2023 06:16 PM merolagani

सरकार र नेपाल उद्योग वाणिज्य महासंघको दुरी बढ्दै छ। निजी क्षेत्रलाई हुने एजेन्डाहरू हामीले पास गर्न सकेका छैनौ। कतिपय नीतिहरू यस्ता छन्, जुन निजी क्षेत्र विरोधी छन्। 

त्यो सबैलाई सम्बोधन गर्न पनि मैले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ ।

मैले माथि भनेको कुरा पुरा गर्न छोटो समयले पुग्दैन। आउने दिनमा वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वत: अध्यक्ष हुँदै हुनुहुन्छ। उहाँले पनि मैले माथि भनेकै मुख्य एजेन्डामा आफ्नो कार्यकाल फोकस गर्दै हुनुहुन्छ। दुवै जनाको मुख्य उद्देश्य भनेको सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच बढ्दै गएको दुरी कम गर्नुको साथै निजी क्षेत्र मैत्री एजेन्डाहरू पास गर्नु नै हो। उहाँले आफ्नो कार्यकालमा ती एजेण्डालाई पहिलो प्राथमिकतामा राखेर अघि बढाउँदै गर्दा मैले पछि पछि रहेर उहाँलाई सघाउने छु। अहिलेको मेरो प्रमुख भूमिका भनेको आउने अध्यक्षलाई भरपुर सहयोग गर्नु हुने छ। खासमा म चन्द्र ढकाललाई सहयोग गर्न कै लागि जान लागेको हुँ।

समग्र मुलुकमा निजी क्षेत्रको आफ्नै भूमिका हुन्छ। मुलुकको अर्थतन्त्रको मेरुदण्ड नै निजी क्षेत्र हो। समग्र अर्थतन्त्रको ७० प्रतिशत हिस्सा निजी क्षेत्रले ओगट्छ। तर सरकारले त्यसलाई महत्त्व दिई राखेको छैन। त्यो अर्थमा पनि मेरो उम्मेदवारी महत्त्वपूर्ण हुन्छ। किन महत्त्वपूर्ण हुन्छ भन्दा म भुईँदेखि उठेको मान्छे हुँ। मैले तल्लो तहमा रहेका साना तथा मझौला व्यवसायीको समस्यादेखि ठुला उद्योगी व्यवसायीसम्मका दुःख दर्द अनुभव गरेको छु।

मेरो बाउ बाजेले दिएको व्यापार पनि होइन। सबै आफूले कमाएको हो। जे कमाए, जे गरे त्यो आफैले गरे। त्यसले गर्दा महासंघमा म जस्तो व्यक्ति हुन आवश्यक छ। आफ्ना कुरा राख्न सक्ने, निडर रूपले राजनीतिक शक्तिहरूसँग मिल्ने त म भन्न सक्तिन तर टेबलमा बसेर वार्ता गर्न सक्ने शक्ति र सामर्थ्य महासंघको नेतृत्वमा हुनु आवश्यक हुन्छ। जुन म सँग छ।

पछिल्लो समय महासंघ नेतृत्वले आफ्नै मात्रै कुरा गर्ने परिपाटी बसाल्यो। त्यो चिजको अन्त्य चन्द्र ढकालको अध्यक्षकालबाट समाप्त हुन्छ। आउने अध्यक्षको कार्यकालबाट समग्र निजी क्षेत्रको शक्ति, अर्थतन्त्रमा निजी क्षेत्रले खेल्न सक्ने भूमिका,तल्लोदेखि माथिल्लो स्तरका व्यवसायीले भोगेका पीडालाई समेटेर बनाइएको साझा एजेन्डामा चर्को बहस उठाउने कार्यको थालनी हुन्छ। मेरो कार्यकालसम्म पुग्दा महासंघलाई हेर्ने दृष्टिकोण र महासंघको भूमिका बेग्लै भएको पाउनु हुने छ।

अहिले हामीलाई ब्याजदरको विषयमा समस्या परेको छ। तर त्यो समस्या समाधान गर्न सबैभन्दा पहिले हामीले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)सँग वार्ता गर्नु पर्छ। बैंकर एसोसिएसनसँग होइन। किनकि बैंकर एसोसिएसन भनेको बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था हो। त्यसले गर्दा पहिले सिबिफिनसँग वार्ता गर्नु पर्छ। सिबिफिनसँगको वार्ता पछि नेपाल राष्ट्र बैंकमा गएर छलफल गर्ने हो। त्यसरी गरिएको अवस्था छैन। जसले समस्या बढाउँदै लगेको हो।

यतिबेला निर्विरोध गर्ने कि भन्ने कुरा पनि उठेको छ। प्रदेशमा धेरै जसो निर्विरोध भएकोले केन्द्रमा पनि हुनु पर्छ भन्ने कुरा उठ्नु स्वाभाविक हो। निर्विरोध भए असाध्यै राम्रो। किनकि हामीले झगडै गरिराख्नु पर्दैन। तर प्रदेशमा जस्तो केन्द्रमा सजिलो छैन। फेरि लोकतान्त्रिक पद्धति भनेको निर्वाचन नै गर्न सके राम्राे हुन्छ। त्यसले गर्दा निर्वाचन हुने सम्भावना बलियो छ। मेरो प्रतिस्पर्धी जो आए पनि मैले डराउनु पर्ने अवस्था छैन। किनकि यो स्पिरिटले महासंघ चल्दैन। मेरो उमेर,अनुभव र निडर रुपमा आफ्ना एजेण्डा स्थापित गर्नको लागि पनि यस पटक साथीहरूले मलाई जिताउने निश्चित छ।

त्यसको लागि यतिबेला म देश दौडाहामा छु। प्यानल लगभग तयारी अवस्थामा छ। को को रहने निश्चित भइसक्यो। अहिले नै को को रहने भन्ने बिषय चाँहि खुलाउन चाहन्न। त्यसको लागि बुधवार सम्म प्रतिक्षा गरिदिनु होला। किनकि मैले बुधवार आफ्नो प्यानलमा को को हुने घोषणा गर्ने छु। 

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।