बैंक डुब्नु भनेको के हो? ठूला बैंकहरू कसरी डुब्छन्? यदि बैंक डुब्यो भने निक्षेपकर्ताको पैसाको के हुन्छ?

Mar 24, 2023 06:36 AM Merolagani



अमेरिकाका दुई प्रमुख बैंक सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिसकेका छन्। स्वीजरल्याण्डको बैंक क्रेडिट सुइसको अवस्था पनि खराब छ।

पछिल्लो दुई हप्तामा अमेरिका र युरोपको बैंकिङ क्षेत्रमा सुनामी आएको छ। विश्वभरका लगानीकर्ताको चिन्ता बढेको छ। आफुले पैसा राखेको बैंकमा यस्तो भयो भने के होला भन्ने डर बढ्न थालेको छ। अन्य मुलुकका जनताहरु पनि यस्तै अवस्थाबाट गुज्रिरहेका छन्।

भारतको एस बैंक केही वर्ष पहिले नै टाट पल्टिन लागिसकेको थियो। सरकार र आरबिआइको कारणले सो बैंक जोगियो। तर, बैंकमा जम्मा भएको रकमको विषयमा मानिसहरु चिन्तित थिए। जनताको मनमा प्रश्न उठिरहेको छ कि यति ठूला बैंकहरु कसरी डुबे? बैंक डुब्नु भनेको के हो? कसरी रातारात बन्द हुन्छ बैंक? बैंक बन्द भयो भने बैंक खातामा रहेको पैसाको के हुन्छ?

बैंक डुब्नु भनेको के हो?

अमेरिकाको सिलिकन भ्याली बैंक डुबेपछि आम मानिसको मनमा यो प्रश्न फेरि उठ्यो कि बैंक डुब्नुको कारण के हो? यदि कुनै बैंकलाई नियामकले बन्द गर्ने निर्णय लिनु पर्ने अवस्था आएमा त्यसलाई बैंक असफलता अर्थात बैंक डुब्नु भनिन्छ। बैंक डुबेमा खातावाला र लगानीकर्ताको हितमा नियामकले बन्द गर्ने निर्णय गर्दछ। कुनै पनि देशको केन्द्रीय बैंकसँग आफ्नो मुलुकको बैंक बन्द गर्ने निर्णय गर्न सक्ने अधिकार हुन्छ। नियामकले यस्तो निर्णय तब गर्छ, जब बैंकले आफ्ना ग्राहक तथा लगानीकर्ताको आवश्यकता पूरा गर्न सक्दैन र त्यसलाई निरन्तरता दिनु खातावालाका लागि घातक हुन सक्छ।

कहिले डुब्छन् बैंक?

यदि कुनै बैंकसँग खातावाला र लगानीकर्तालाई दिन नगद छैन भने,त्यस अवस्थामा बैंक टाट पल्टिएको घोषित हुन्छ। जब बैंकको सम्पत्ति भन्दा बढी दायित्व हुन्छ र लगानीकर्ताले आफ्नो पैसा झिक्न थाल्छन्, तब बैंकको आर्थिक अवस्था नाजुक हुन्छ। बैंकमा नगदको अभाव भएपछि ग्राहकप्रतिको दायित्व पूरा गर्न नसक्दा बैंकलाई टाट पल्टिएको घोषित गरिन्छ। टाट पल्टिनु भनेको डुब्नु हो। बैंक डुब्ने बित्तिकै बैंक निक्षेप निकासीमा रोक लगाइन्छ। बैंकको बैंकिङ सेवा ठप्प पारिन्छ। बैंकको क्रेडिट कार्ड, डेबिट कार्ड, नेट बैंकिङ सबै बैंकिङ सेवा तत्काल बन्द गरिन्छ। त्यस देशको बैंकिङ नियामकले अवस्था हेरेर, ग्राहकहरूले आफ्नो खाताबाट निश्चित रकम मात्र निकाल्न अनुमति दिन्छ।

किन डुब्छन् बैंक?

कुनै पनि बैंक पैसामा चल्छ। ग्राहकहरुलाई निक्षेप बापत ब्याज तिर्छ र त्यो पैसा उच्च ब्याज दरमा ऋण तथा धेरै ब्याजदर भएका बण्डहरूमा लगानी गरेर त्यो पैसा कमाउँछ। जब बैंकप्रति ग्राहकको विश्वास डगमगाउन थाल्छ, बैंकमा जम्मा भएको आफ्नो पैसा सुरक्षित नभएको महशुस गरेर पैसा निकाल्न थालेपछि बैंकको चिन्ता बढ्छ। यसलाई बैंक रन भनिन्छ, जसले बैंकको चिन्ता बढाउँछ। यस्तो अवस्थामा बैंकले ग्राहकको पैसा फिर्ता गर्न आफुले लगानी गरेको धितोपत्र, ऋणपत्र घाटामा बेच्छ। यो घाटा बैंकका लागि सबैभन्दा ठूलो जोखिम हो जसका कारण बैंकहरु असफल हुन्छन्।

यदि तपाईंले पैसा जम्मा गर्नु भएको बैंक डुब्यो भने तपाईंको पैसा के हुन्छ?

तपाईको खाता रहेको बैंक, तपाईले पैसा जम्मा गर्नुभएको बैंक डुबेमा के हुन्छ? अधिकांश मुलुकहरुमा यसका लागि प्रावधान हुन्छ। बैंक डुब्दा बैंक खाताहरु फ्रिज हुन्छ अर्थात तपाईले पैसा निकाल्न सक्नुहुन्न। नेपालको कर्जा तथा निक्षेप सुरक्षण कोष अनुसार तात पल्टिएका बैंकका निक्षेपकर्ताहरुका लागि अधिकतम ५ लाख रुपैयाँसम्म फिर्ता गर्ने प्रावधान रहेको छ। अर्थात तपाईको खातामा ५ लाखभन्दा कम रकम जम्मा छ भने तपाईले अवश्य पाउनु हुनेछ। सोभन्दा बढी रकम बैंकको अवस्था सुधार भएपछि वा अन्य बैंकले एक्वायर गरेपछि प्राप्त गर्न सकिनेछ।

भारतमा पनि बैंक डुबेमा अधिकतममा ५ लाख रुपियाँ प्राप्त गर्न सकिने प्रावधान रहेको छ। अमेरिकामा सन् २००१ देखि २००९ सम्म ५६३ बैंक असफल हुँदा अमेरिकी सरकारले संघीय निक्षेप बीमा निगम (एफडीआईसी) लागू ग¥यो। अमेरिकामा बैंक खातावालाहरूलाई सेक्युरिटीज इन्भेस्टर प्रोटेक्शन कर्पोरेशन अन्तर्गत २.५ मिलियन डलरसम्म झिक्न अनुमति दिइएको थियो।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।