यतिबेला सबै बैंक वित्तीय संस्थाले चालु आर्थिक वर्षको लागि बजेट निर्धारण गरिसकेका छन्। बजेट निर्धारण सँगै बैंकहरुले आफ्नो ग्रोथ टार्गेट पनि सेट गरिसकेका छन्। उनीहरूले क्रेडिट ग्रोथको टार्गेट राख्दै गर्दा राष्ट्र बैंकले तोकेको कर्जाको लक्ष्यलाई नै आधार बनाएका छन्। हुन त गत वर्ष राष्ट्र बैंकले १२ प्रतिशत कर्जा बिस्तारको लक्ष्य नराखेको होइन। तर उसले राखेको लक्ष्यकाे २५ प्रतिशत पनि हासिल गर्न हम्मे हम्मे पर्यो। किनकि गत वर्ष १२ प्रतिशत कर्जा बिस्तार हुने लक्ष्य राख्दै गर्दा तीन प्रतिशतको हाराहारीमा मात्रै कर्जा बिस्तार हुन सक्यो। त्यसैलाई मध्य नजर गर्दै यसपटक राष्ट्र बैंकले नै कर्जा बिस्तारको लक्ष्य घटाएको छ। चालु आर्थिक वर्षको लागि केन्द्रीय बैंकले साढे ११ प्रतिशतको लक्ष्य राखेको छ। त्यही लक्ष्यलाई हेरेर बैंक वित्तीय संस्थाले कर्जा ग्रोथको टार्गेट राखी सकेका छन्। त्यसमा पनि धेरै बैंकले गत वर्षकै लक्ष्यलाई नै भेट्टाउन सकिन्छ कि भन्ने अनुमान सहित ग्रोथ टार्गेट बनाएको एक बैंकका अधिकारी बताउँछन्।
एकातर्फ बैंक वित्तीय संस्थाले ग्रोथ टार्गेट बनाइसकेका छन्। त्यही अनुसार बैंकहरुले आफ्ना कर्मचारी र शाखाहरूलाई चालु वर्षको लागि टार्गेट पनि दिइसकेका छन्। चालु आर्थिक वर्ष टार्गेट पाएका शाखाहरूका क्रेडिट डिपार्टमेन्ट र त्यस अन्तर्गत काम गर्ने कर्मचारी भने यतिबेला निक्कै तनावमा छन्। किनकि यतिबेला कर्जाको माग स्वाट्टै घटेको छ। कर्जाको माग घटेपछि जे जसरी हुन्छ,कर्जा बिस्तार गर्नै पर्ने स्थितिमा बैंक पुगेका छन्। लगानीको वातावरण र लगानीकर्ताको खस्किएको मनोबलका कारण कर्जा प्रवाह हुन नसकेको बताइएको छ। “बैंकहरुमा पैसा बढी भएर पैसा लगाउने होइन। व्यापार गर्ने वातावरण हुनु पर्यो। बजारमा भएका नयाँ व्यवसायी थप लगानी गर्ने स्थितिमै छैनन्। यस्तो बेलामा नयाँ लगानीकर्ता आउने भन्ने कुरा पनि भएन। ब्याजदरका कारण कर्जा बिस्तार रोकिएको होइन। बिजनेसमा कन्फिडेन्स कम भएको छ। त्यस कारण कर्जा बिस्तार नभएको हो। कन्फिडेन्स नभएसम्म अवस्था यस्तै रहन्छ” नबिल बैंकका डिसिइओ मनोज ज्ञवालीले मेरो लगानी सँग भने।
बैंकहरुले राखेको टार्गेट अनुसार कर्जा प्रवाह कम हुने देखेपछि यतिबेला बैंकहरुले नयाँ ऋण लिन जानेहरूलाई डेढदेखि दुई प्रतिशत प्रिमियममा ऋण दिइ रहेका छन्।
हुन त सर्वसाधारणमा अझै पनि बैंकको ब्याजदर घटेन भन्ने नै ठुलो छाप छ। तर त्यस्तो होइन, बैंकहरुले बिस्तारै ब्याजदर घटाउँदै लगेका छन्। उनीहरूले पुराना ऋणीले लिएको व्याज क्रमिक रुपमा घटाउँदै लगेको भएपनि पहिले नै तय भएको प्रिमियम घटाएका छैनन्। जुन घटाउन पनि मिल्दैन। जसले गर्दा अझै पुराना ऋणीको सोचेजस्तो व्याज घटेको नदेखिएको हो। अहिले जुनसुकै बैंकले एकदेखि बढीमा दुई प्रतिशतसम्म प्रिमियममा ऋण प्रवाह गरिरहेका छन्। जबकि त्यही ऋण एक वर्ष अघि चार प्रतिशत भन्दा कम प्रिमियममा पाउने स्थिति थिएन। अहिले बैंकहरुको बेस रेट नै औसत १० प्रतिशतको हाराहारीमा रहेकाले गर्दा थोरै महँगो देखिएको हो। अहिलेको बेस रेटमा एक देखि दुई प्रतिशत प्रिमियम जोड्दा १२ देखि १३ प्रतिशतमा ऋण प्रवाह हुन थालेको छ। तर पनि बैंकमा ऋणको माग भने सोचे जस्तो छैन।
साउनका लागि केही बैंकले ब्याजदर बढाएर सूचना प्रकाशित गरे। उनीहरूले जुन रफ्तारमा साउन लागेपछि ऋण बिस्तार हुने अनुमान लगाएका थिए। साउनै सकिनै लाग्दा फेल हुने स्थितिमा पुगेको छ। नेपालमा सबैभन्दा बढी अर्थतन्त्र चलायमान हुने समय भनेको दसैँ तिहार हो। जसको लागि व्यवसायीले साउन भदौमा सबैभन्दा बढी ऋण चलाउने गर्छन्। दशै तिहारको लागि सामान ल्याउन ऋणको माग बढी हुन्छ। तर यस्तो बेलमा समेत ऋणको माग नभएपछि ब्याजदर बढाएका बैंकहरुलाई सकस पर्न थालेको छ। किनकि पैसाको लागत बढ्दै गइरहेको छ। तर ऋणको माग छैन। त्यसले गर्दा लागत घटाउन पनि उनीहरूले आउने भदौमा ब्याज दर समायोजन गर्नु पर्ने अवस्था सिर्जना भइरहेको गत साउनमा ब्याजदर बढाएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए। “बजारमा लोनको डिमाण्ड नै छैन। डेढ प्रतिशत प्रिमियममा पैसा लैजाऊ भन्दा पनि जाँदैन। पैसा मात्रै थुपारेर के गर्ने,कति दिन कष्ट अफ फण्ड बढाएर बस्ने ?” उनले भने।
साउनमा समेत ऋणको माग नभएपछि नेपाल राष्ट्र बैंकले एलसीको सीमा हालै फराकिलो बनाएको छ। आयातमा कडाइ गर्दै आएको राष्ट्र बैंक नै ऋण प्रवाहमा आएको संकुचनले तर्सिएको छ। जसले गर्दा उसले एलसिमा लचिलो नीति लिएको हो। राष्ट्र बैंकले लिएको यही नीतिले कर्जाको माग थोरै बढाउँछ भन्ने अपेक्षा बैंकहरुले गरेका छन्। तर बजारमा देखिएको शिथिलता, व्यवसायीमा देखिएको निराशाले अघिल्ला वर्षहरू जस्तो चालु वर्ष दशैका लागि नै भनेर व्यवसायीले मरिहत्ते गरेको देखिँदैन। अर्कोतर्फ बढ्दो महँगी र आम सर्वसाधारणको घटेको क्रयशक्तिका कारण बजारमा ह्वात्तै माग बढ्ने अवस्था छैन। जसले गर्दा आउने भदौमा धेरै बैंकले ब्याजदर थप घटाउने छन्।