बजार १८ सय भन्दा तल जाँदैन : शेयर विश्लेषक राजु पाैडेलकाे विचार

Sep 10, 2023 06:33 AM MeroLagani

  • राजु पौडेल, शेयर विश्लेषक

नेपालको पुँजी बजार विगत दुई वर्षदेखि डाउन ट्रेन्डमै चलिरहेको छ । ३२ सय २७ को उच्च विन्दुपछि निरन्तर रुपमा घट्दै घट्दै १८ सय ७ सम्म आइपुग्यो । त्यसपछि २२ सयलाई धेरैपटक टेस्ट गर्दै तल आउँदै गर्दा अहिले १८ सयदेखि २२ सयको बीचमा बजार चलिरहेको छ ।

बियरिस चक्र शुरु भएको २ वर्षभन्दा बढी भइसकेको छ । यो पटकको बियरिस चक्र अलिक लम्बिने सम्भावना बलियो देख्दैछु किनभने बजारलाई माथि उठाउनलाई जुन फ्युल चाहिन्छ, त्यो फ्युलको अहिले अभाव देखिन्छ । बजारको फ्युल भनेको पैसा हो, बजारमा अहिले पैसाको क्राइसिस छ । बजारमा पैसाको क्राइसिस हुनुको पहिलो नम्बरमा राष्ट्र बैंकले ठूला लगानीकर्ता तथा बैंक तथा वित्तीय संंस्थालाई घेराबन्दीमा राख्नु हो, नाकाबन्दी लगाइदिनु वा क्याप लगाइदिनु हो । बैंक तथा वित्तीय संस्थालाई शेयर खरिद गर्नमा बन्देज लगाइदिएको छ भने ठूला लगानीकर्तालाई १२ करोडको सीमा लगाइदिँदा खेरि ३२ सयबाट बजार खस्दै खस्दै अहिलेको अवस्थामा आइपुगेको हो । ठूला लगानीकर्ताले अरबौं ऋण लिएर शेयर किनेका थिए, राष्ट्र बैंकको सीमाभित्र बस्नलाई तिनीहरुले शेयर बेच्न बाध्य भए त्यसले शेयर बजारमा सप्लाइ बढी आयो । अर्थशास्त्र नियम अनुसार वस्तु तथा सेवाको निर्धारण माग र पूर्तिको आधारमा हुन्छ । शेयरको माग कम भएर आपूर्ति मात्रै बढ्दा बजार घटेको घट्यै छ ।

वर्तमान अवस्थामा हेर्नुहुन्छ भने बजारमा डिमान्ड साइड एकदमै स्लो छ वा छैन नै भन्दा पनि हुन्छ, तर सप्लाई साइड यति अत्यधिक भयो कि हरेक हप्ताजसो कुनै न कुनै कम्पनीको आइपीओ आइरहेको छ । त्यसमाथि आइपीओ पनि प्रिमियममा आइरहेका छन् । त्यस्तै अवस्था राइट शेयरको निष्काशनमा पनि सेबोनबाट भटाभट अनुमति पाइरहेको छ । डिमान्ड साइड क्रियट गरेकै छैन, सप्लाई साइड यति बढ्यो कि जुन लगानीकर्ताले थेग्नै सकेनन । यो नै अहिले बजार घटनुकाे प्रमुख कारण हो ।
अर्को कारण राष्ट्र बैंकले विभिन्न प्रकारको क्याप लगाइदिँदा पनि बजार घट्न पुगेको हो । बजार चलाउने भनेकै ठूला लगानीकर्ताले हो । २–४ हजार शेयर किन्ने लगानीकर्ताले बजारको दिशा नै परिवर्तन गर्ने गरी काम गर्न सक्दैन । जतिसुकै गफ गरे पनि बजारमा ‘बिग फिसर’ भनेको ठूला लगानीकर्ता हुन । जबसम्म तिनीहरुले आक्रामक रुपमा खरिद गर्दैनन, तबसम्म बजार माथि जाने कल्पनै नगरे पनि हुन्छ । ३२ सयबाट झरेको बजार २ वर्ष भइसक्दा पनि माथि नजानुको कारण नै ठूला लगानीकर्तालाई बाँधिएको कारणले हो ।

विश्वव्यापी रुपमा आर्थिक मन्दी छाएका कारण लगानीकर्ताको मनोविज्ञान एकदमै कमजोर छ । उद्योगधन्दा व्यापार, व्यवसाय ठप्पै छ । सरकारले कुनै वास्तै गरेको छैन । शेयर बजार अर्थतन्त्रको मेरुदण्ड भन्ने बेलामा भन्ने गरिन्छ तर नेपालमा अहिलेसम्म त्यस्तै सरकार बनेको छैन जसले शेयर बजारलाई प्राथमिकतामा राखेको होस् । शेयर बजार अर्थतन्त्रको ऐना भनेर कुनै पनि सरकारका नेता, मन्त्री कसैले बोलेको हामीले सुन्न पाएका छैन । उल्टो शेयर बजारमा दुई चार जनाले कमाए, लुटे, अनुत्पादक क्षेत्रलाई प्रोत्साहन गरे भन्ने मात्रै नेताहरु अहिलेसम्म देखिएका छन् ।

शेयर बजार घट्नुमा अर्को प्रमुख कारण भनेको व्याज दर हो । जब जब व्याज दर बढेर दोहोरो अंकमा पुग्छ, तब तब शेयर बजार बियरिसमा गएको हामीले देखेका छौं । व्याज दर घटेर एकल अंकमा पुग्ने बेला बजारमा क्यास इन्जेक्ट भएर भने बुलिस हुने गरेको छ । अर्को भनेको राष्ट्र बैंकले मार्जिन कर्जाको जोखिम भारलाई १ सयबाट १ सय ५० प्रतिशतमा पुरयाएको छ । ५० लाखसम्मलाई त १ सय प्रतिशत भनेको छ, ५० लाखभन्दा धेरै ऋण लिने त ठूला लगानीकर्ता हुन । तिनीहरुलाई यहाँ पनि बाध्ने काम भएको छ । जोखिम भारको प्रतिशत पनि बढी भएको हुनाले व्याज दर पनि महंगो पर्न जाने र त्यस्ता क्षेत्रमा बैंकहरुले लगानी गर्न पनि नचाहने कारणले गर्दा पैसाको प्रवाह बजारमा कम भयो । अहिले बजारमा ऋण लिएर लगानी गरौं न त भन्ने वातावरण नै छैन । व्याज दर महंगै छ । २ हजारको लाइनबाट घटेर फेरि पनि १८ सयकै हाराहारीमा आउने अवस्था देखिंदैछ ।
प्रिमियममा आइपीओ जारी गर्न दिइराखेको कारण केही कम्पनीहरुले शेयर बजारमा चलायमान भइरहेको पैसा तानेर लगे । घोराही सिमेन्ट, आइएमई लाइफले बजारको धेरै पैसा लगे । सन नेपाल लाइफ, रिलायबल लाइफ, सन लाइफ र अर्को सिटिजन्स लाइफले पनि लाँदैछ । यसले बजारमा साइकल भइरहेको पैसा बाहिर गएको हो कि भन्ने चर्चा पनि बजारमा छ ।

शेयर बजार बढाउन के गर्ने ?
अहिलेकै अवस्थामा भने बजार बढ्ने सम्भावना एकदमै कम देख्छु । शेयर बजार बढाउने विषय अहिले मुख्य रुपमा नेपाल राष्ट्र बेकसँग जोडिएको छ । शेयर बजार बढाउन राष्ट्र बैंकले आफ्नो नीति सच्याउनुपर्छ । केन्द्रीय बैंकले १२ करोडको प्रावधानलाई खुकुलो बनाइदिनुपर्छ र मार्जिन कर्जाको जोखिम भारलाई पुनः १ सय प्रतिशतमै झार्नुपर्छ । एक कदम अगाडि बढेर बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारबाट शेयर खरिद गर्न लगाइएको बन्देज हटाउनुपर्छ । माइक्रोफाइनान्स कम्पनीको लाभांश वितरणमा लगाइएको सीमालाई खुकुलो बनाउनुपर्छ ।
यता धितोपत्र बोर्डले बजारमा सप्लाई मात्रै बढाउने काम नगरिकन त्यसलाई खपत गर्ने डिमान्ड साइड बढाउने दिशामा पनि काम गर्नुपर्छ । त्यसको लागि एनआरएनलाई शेयर बजारमा लगानी गर्न दिने भनेर जुन २०६८ सालदेखिको चर्चा परिर्चा छ, त्यसलाई फास्ट ट्रायकबाट भित्र्याउनुपर्छ । अनि बल्ल डिमान्ड साइड क्रियट हुन्छ जसले अहिलेको सप्लाई खपत हुन्छ र बजार बढ्न सहयोग पुग्छ ।
अहिले बजारमा ब्रोकरको संख्या थपिएका छन्, त्यसलाई सकारात्मक रुपमा हेर्नुपर्छ । यसले बजारमा प्रतिस्पर्धा बढ्यो तर नयाँ ब्रोकरहरुले नयाँ लगानीकर्ता खोजेर नयाँ बजारको खोजी गर्नु भन्दा पनि पुरानै ब्रोकरका क्लाइन्टलाई के कस्तो सेवा सुविधा दिएर तान्न सकिन्छ भन्नेमा मात्रै प्रतिस्पर्धा गरिरहेका छन् । यसले बजार विस्तार हुँदैन । यसले ब्रोकरहरुको बीचमा प्रतिस्पर्धाको गला रेटाई हुन्छ । यस्तो अभ्यासले भविष्यमा ब्रोकरहरुलाई टिक्न पनि गा¥हो हुन्छ । नयाँ ब्रोकरले उपत्यकाभन्दा बाहिर दुर दराजमा गएर शेयर शिक्षासहित लगानीकर्ता विस्तारमा लाग्नुपर्छ ।

बजार १८ सय भन्दा तल झर्दैन
अब १८ सय भन्दा तल बजार आउँदैन भन्ने मेरो आंकलन हो । १८ सय भन्दा तल गयो भने लगानीकर्ताको मनोबल एकदमै नराम्रोसँग खस्छ भन्ने आंकलनले पनि ठूला लगानीकर्ताले त्यहाँबाट तल जान दिँदैन ।

यसभन्दा अगाडिको बियरिस चक्रको बटमतिर हेर्नुभयो भने धेरै चोटि बजार ११ सय देखि १४ सयको हाराहारीमा घुमेको छ । त्यसबेला ४ पटकसम्म ११ सयको सर्पोटलाई टेस्ट गरेर बुल शुरु भएको थियो । प्राविधिक विश्लेषणबाट हेर्दा अहिले पनि तीन पटक १८ सयको लाइनलाई टेस्ट गरेर चौथोपटक टेस्ट गर्न आउँदै गरेको हो कि जस्तो देखिन्छ । आधारभूत रुपमा हेर्दा पछिल्लो समय प्रिमियममा निष्काशन भएका आइपीओ सुचीकरण हुँदा पनि तिनीहरुको शेयर मूल्य अलिकति माथि नै छ । कतिपय कम्पनीको शेयर मूल्य अघिल्लो पटक नेप्से परिसूचक १८ सयमा हुँदा भन्दा पनि तल झरिसकेको छ तर नेप्से भने माथि नै छ । घोराही सिमेन्ट, आइएमई लाइफजस्ता प्रिमियममा आएका कम्पनीहरु थपिए, रिलायबल इन्स्योरेन्स, सन लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ थपिदैछ, नयाँ हाइड्रो थपेको थप्यै छन् त्यसकारण नेप्से परिसूचक चाँहि १८ सय भन्दा तल नजाने सम्भावना अधिक छ ।

अब लगानीकर्ताले के गर्ने ?
मार्केट डाउन ट्रेन्डमा हुनाले यो समय भनेको ट्रेडिङ गर्ने समय होइन किनभने अप स्वीङ आउने सम्भावना कम छ । अहिलेको समय भनेको शेयर होल्ड गर्ने समय हो । किनेको शेयर नबेच्ने र थप नयाँ शेयर पनि नकिन्ने रणनीति अख्तियार गर्दा उत्तम हुन्छ । जब बजारमा एकप्रकारको पोजिटिभ सेन्टिमेन्ट बन्न थाल्छ, तब ट्रेडरहरु बढी हावी हुन थाल्छ र जब ठूलो कारोबार रकमसहित बजार बढ्न शुरु गर्छ र जुन बेला प्राविधिक विश्लेषणबाट आएका रेसिस्टेन्सहरु ब्रेक हुन थाल्छ, तब मात्र ट्रेडिङ शुरु गर्ने हो । ट्रेडिङ गर्दा सप्लाइ कम भएका र खेलाडीहरुले बढी खेलाउने कम्पनीमा हात हाल्नुपर्छ । त्यस्ता कम्पनीहरु फन्डामेन्टली राम्रा नराम्रा दुवै हुन सक्छन् ।
इन्भेष्टस्टरले चाँहि राम्रा फन्डामेन्टली बेस्ट कम्पनीहरु छनोट गरेर लगानी गर्नुपर्छ, जुन कम्पनीहरुले गत वर्षको नाफाबाट आकर्षक लाभांश दिन सक्दछ । त्यस्ता कम्पनीहरु भने बजार घटिरहेको बेला अलि अलि गरेर विस्तारै किन्दै जाने र एउटा बुलको समयसम्म होल्ड गरेर बस्छु भन्ने रणनीति लिएर बजारमा प्रवेश गर्दा राम्रो हुन्छ ।
(शेयर विश्लेषक पौडेलसँग मेरो लगानीका बाबुकृष्ण महर्जनले गरेको कुराकानीमा आधारित)

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।