भारतमा आईपीओ बन्द भएको तीन दिनमा सूचीकरण गर्नुपर्ने, तर नेपालमा भने महिनाैं दिनसम्म पनि नहुँदा लगानीकर्तालाई नाेक्सानी

Sep 18, 2023 11:35 AM MeroLagani

पछिल्लो समय धेरै कम्पनीहरुले शेयर निष्काशन गरे पनि ती शेयरहरु समयमा दोस्रो बजारमा सूचीकरण हुन सकेका छैनन् । अहिले पनि ५ कम्पनी प्राथमिक निष्काशन भएर बाँडफाँट भएको लामो समय बित्दा पनि नेप्सेमा सूचीकरण हुन सकेका छैनन् ।

भारतले सेप्टेम्बर १ देखि भारतीय शेयर बजार नियामक निकाय सेबीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बन्द भएको ३ दिनभित्र कम्पनीको शेयर सूचीकरण गर्नुपर्ने नयाँ नियम लागू गरेको छ। यसअघि भारतमा आईपीओ बन्द भएको ६ दिनभित्र शेयर सूचीकरण गर्नुपर्ने नियम रहेकोमा अब ३ दिनमा सूचीकरण गर्नुपर्ने नयाँ नियम लागू गरिएको छ। सेबीले यस सम्बन्धमा पहिले जारी गरेको सूचनामा भनेको थियो कि सेप्टेम्बर १ पछि आउने सबै आईपीओका लागि सूचीकरण समयको नयाँ नियम स्वेच्छिक रूपमा लागू हुनेछन्। यसका साथै डिसेम्बर १ देखि कम्पनीहरुले अनिवार्य रूपमा यो नियम पालना गर्नुपर्नेछ। सेबीको गत जुन २८ मा बसेको बैठकमा आईपीओमा यो नियमलाई अनुमोदन गरेको थियो।

भारतमा शेयर निष्काशन बन्द भएको ३ दिन भित्र सूचीकरण नै भइसक्नु पर्ने छ । तर, नेपालमा भने सो दिनभित्र बाँडफाँट समेत भइनसक्ने अवस्था छ । अहिले कुनै पनि शेयर निष्काशन हुँदा कम्तिमा ४ देखि १० दिनमा बल्ल बाँडफाँट हुने गरेको छ भने बाँडफाँट भएको एक महिनासम्म पनि शेयर सूचीकरण हुने गरेको छैन् ।

अहिलेसम्म आईपीओ बाँडफाँट भएर पनि सूचीकरण नभएका कम्पनीको संख्या ५ पुगिसकेको छ । सबैभन्दा पहिलो आईपीओ बाँडफाँट भएर पनि सूचीकरण नभएको कम्पनी अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीको गत साउन २९ गते शेयर बाँडफाँट भए पनि अहिलेसम्म सूचीकरण हुन सकेको छैन् । कम्पनीले साउन १८ देखि २२ गतेसम्म शेयर निष्काशन गरेको थियो ।

त्यसैगरी मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले साउन २८ देखि ३१ गतेसम्म प्राथमिक शेयर निष्काशन गरी भदौ ३ गते शेयर बाँडफाँट गरेको थियो । आइपीओ बाँडफाँट भएको झन्डै १ महिना बितिसक्दा पनि यो कम्पनीको शेयर नेप्सेमा सूचीकरण हुन सकेको छैन् ।

त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म शेयर निष्काशन गरेकोमा भदौ १५ गते शेयर बाँडफाँट भएको थियो । बाँडफाँट भएको १५ दिन भन्दा बढी समय बितिसिक्दा पनि यो कम्पनीको शेयर नेप्सेमा सूचीकरण भइसकेको छैन ।

त्यसबाहेक भगवती हाइड्रोपावले भदौ ५ देखि ८ गतेसम्म शेयर निष्काशन गरी भदौ १८ गते शेयर बाँडफाँट भएको थियो भने मान्डु हाइड्रोपावरले भदौ १० देखि १३ गतेसम्म शेयर निष्काशन गरी गत भदौ २४ गते शेयर बाँडफाँट गरेको थियो । भारतमा लागू भएको जस्तै गरी कानुन बनाएर लागू गर्ने हो भने लगानीकर्ताले चाँडो भन्दा चाँडो आफ्नो शेयर किन्ने बेच्ने अवसर प्राप्त गर्ने थिए ।

पछिल्लो समय कागजी प्रक्रिया एकदमै कम भइसकेको हुँदा नेपालमा पनि आईपीओ बाँडफाँट र सूचीकरणको समयलाई छोट्याउनुपर्ने आवाज उठ्न थालेको छ । पछिल्लो समय अझै पनि शेयर सूचीकरण गर्न १ महिना हाराहारीमा समय लगाउने गरेको पछिल्लो तथ्यांकले देखाउँछ ।

सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ देखि १९ गतेसम्म प्राथमिक शेयर निष्काशन गरेको थियो भने हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले भदौ २१ गतेदेखि २५ गतेसम्म शेयर निष्काशन गरेको थियो । दुबै कम्पनीको शेयर बाँडफाँट भएको छैन । अहिले मिड साेलु हाइड्रोपावरको शेयर निष्काशन भइरहेको छ । कम्पनीले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म शेयर निष्काशन गरेको हो ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।