शेयर सप्लाई कम गर्न धितोपत्र बोर्डको पहल, पहिलो चरणमा निष्कासनमा टाइट,अरू के के हुँदै छन् पहल ?

Sep 19, 2023 12:17 PM merolagani



नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा सप्लाई बढी भएको भन्दै त्यसलाई खपत गराउने पहल सुरु गरेको छ। बोर्डले सुरुवाती चरणमा प्राथमिक शेयर निष्कासनलाई टाइट गर्दै जाने योजना अघि बढाइएको जनाएको छ।

“पछिल्लो समयमा कारोबार निक्कै घटेको छ। शेयरको डिमाण्ड पार्ट कमजाेर देखिएको छ। डिमाण्ड साइड बढाउने विषयमा बोर्डले केही योजना अघि सरेको छ। अहिलेलाई सप्लाई कम गर्न प्राथमिक निष्कासन स्वीकृतिमा टाइट गरिएको छ। त्यसले थोरै भए पनि सप्लाई कम गर्छ। यो सधैँको लागि भने होइन, अल्पकालीन उपाय मात्रै हो। दीर्घकालका लागि पनि बोर्डले पहल गर्दै छ” बोर्डका एक कार्यकारी निर्देशकले भने।

उनका अनुसार बोर्डले डिमाण्ड साइट बढाउन बोर्डले नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्दै छ। बोर्डले १२ करोडको क्याप र बैंक वित्तीय संस्थालाई शेयर किन्न गरिएको कडाइलाई लचिलो बनाउन अनुरोध गर्ने छ। बोर्डले अनौपचारिक रुपमा धेरै पटक कुरा गरिसकेको भएपनि अब भने औपचारिक रूपमै पत्र लेखेर उक्त विषयमा लचिलो बनिदिन बोर्डले आग्रह गर्ने छ।

बोर्डले यस भन्दा अघि दोस्रो बजारको विषयमा कुनै काम गर्ने गरेको थिएन। पहिलो पटक बोर्डले दोस्रो बजारमा हुने शेयर कारोबारको माग र आपूर्तिको विषयलाई प्राथमिकतामा राखेको हो। यस अघि बोर्डले दोस्रो बजार आफ्नै गतिमा चल्ने भएकोले त्यसलाई उसकै गतिमा चल्न दिनु पर्ने मान्यता राख्दै आएको थियो। तर यस पटक भने केही नीतिगत कारण नै दोस्रो बजारमा माग पक्ष कमजोर भएको ठहर्याउँदै उक्त विषयमा पहल गर्न लागेको बताइएको छ।

सूचीकृत शेयरको सङ्ख्या बढ्दै जाने तर त्यस अनुसारको माग सिर्जना नभएको भन्दै शेयर बजारसँग सम्बद्ध पक्षहरूले आवाज उठाउँदै आएका थिए। भएको माग सिर्जना गर्न सक्ने अवस्थालाई समेत नियामकीय प्रावधानले खुम्च्याइ दिँदा त्यसले दोस्रो बजार प्रभावित पार्दै लगेको उनीहरूको आरोप छ।

खासगरी नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई शेयर खरिद गर्न कडाइ गरेको छ। उक्त कडाइपछि बैंक वित्तीय संस्था दोस्रो बजारबाट टाढिएका छन्। उनीहरू टाढिएसँगै शेयर बजार समेत लगातार खुम्चद क्रममा छ। सोही विषयमा बोर्डले राष्ट्र बैंकलाई औपचारिक रूपमै पत्र लेख्ने बताएको हो।

पहिलो चरणमा बोर्डले प्राथमिक निष्कासन टाइट गरेसँगै निष्कासन स्वीकृति निक्कै न्यून सङ्ख्यामा झरेको छ। चालु आर्थिक वर्ष बोर्डले जम्मा दुई कम्पनीलाई मात्रै प्राथमिक निष्कासन अनुमति दिएको छ। बोर्डले सोनापुर मिनरल्स र भिजन लुम्बिनी ऊर्जा कम्पनीलाई निष्कासन अनुमति दिएको हो। त्यो बाहेक एक कम्पनीले एफपिओ निष्कासन अनुमति पाएको छ भने हकप्रद र सामूहिक लगानी कोषका योजना एउटै पनि स्वीकृत भएका छैनन्। चालु आर्थिक वर्ष लागे यता डिबेन्चर स्वीकृति समेत शून्यमा झरेको छ।

गत आर्थिक वर्ष भने शेयर निष्कासनमा बोर्ड निक्कै उदार देखिएको थियो। जसले दोस्रो बजारमा अत्यधिक शेयर थपिएका थिए। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वार्षिक विवरण अनुसार गत आर्थिक वर्ष मात्रै दोस्रो बजारमा ६१ करोड ५७ लाख कित्ता शेयर थपिएका थिए। अझै अघिल्लो आर्थिक वर्ष त्यो भन्दा पनि बढी शेयर दोस्रो बजारमा थपिएको विवरणमा उल्लेख छ। अघिल्लो वर्ष ९४ करोड ५१ लाख कित्ता शेयर दोस्रो बजारमा थपिएका थिए। वार्षिक विवरण अनुसार गत आर्थिक वर्षको अन्तिमसम्म नेप्सेमा सात अर्ब ३१ करोड कित्ता शेयर सूचीकृत भइसकेका छन्। 

 




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।