तिहार पछिको पहिलो कारोबार दिन सामान्य अंक बढेर बन्द भयो नेप्से

Nov 20, 2023 03:13 PM Merolagani

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात तिहार अघिको अन्तिम कारोबार दिन साढे ११ अंक घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक १.३९ अंक बढेर १८५३.४८ विन्दुमा पुगेको छ। यता सेन्सेटिभ इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१० अंक बढेको छ।

यस दिन कारोबार रकम बढेको छ। तिहार अघि १ अर्बभन्दा कमको शेयर कारोबार भइरहेको बजारमा यस दिन २८४ स्टकको ४४ हजार ७२७ पटकको कारोबारमा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँ बराबरको ३३ लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से सामान्य अंक बढेपनि यस दिन एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ग्लोबल आइएमई लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन कर्णाली डेभलपमेन्ट बैंकको शेयर करिब १० प्रतिशत बढेको छ। लामो समयदेखि अंकित मूल्यभन्दा तल रहेको समाज लघुवित्तको शेयरमूल्य यस दिन ८ प्रतिशत बढेर १०४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ।

यस दिन तीन स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, सयपत्री हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युतको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सोल्टी होटलको ६ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, साधारण सभा कहिले?

Dec 04, 2023 09:57 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।