सर्वोत्तम सिमेन्टको शेयर खरिदका लागि आजसम्म बोलपत्र पेश गर्न सकिने

Nov 26, 2023 05:59 AM Merolagani



पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रिया मार्फत सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको शेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने आज (मंसिर १० गते) अन्तिम दिन रहेको छ। कम्पनीले मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि शेयर निष्काशन गरेको थियो।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता शेयरका लागि शुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ रहेको रहेकोलाई परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ कायम गरिएको छ। कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरु सहभागि गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रहि बोलकबोल मार्फत शेयर बिक्री गर्न लागेको हो।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ। योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गई बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको गोप्य बोलपत्र फाराम बुझाउनु पर्नेछ।

बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलीपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरुलाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ। कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँट गरिनेछ। कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र नगरिने कम्पनी जनाएको छ।

शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।

कम्पनीको उद्योग नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा रहेको छ। कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ। सो उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ। उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ।

कम्पनीको आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भएको लेखापरीक्षण प्रतिवेदन अनुसार निर्माण अवधिको ब्याज सहित कुल लागत ११ अर्ब ८७ करोड १ लाख १४ हजार ७०७ रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार निर्माण अवधिको ब्याजसहित कुल लागत १२ अर्ब ७९ करोड ५७ लाख ६० हजार २६३ रुपैयाँ रहेको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ३ अर्ब ९ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना रहेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।