सम्पत्ति नबिकेपछि फेरि पनि हकप्रदकै भर पर्दै नेपाल इन्स्योरेन्स, १० प्रतिशत बोनस पछि अझै ५० प्रतिशतभन्दा बढी पुँजी नपुग

Nov 27, 2023 06:14 AM MeroLagani

नेपाल बिमा प्राधिकरणले नन लाइफ इन्स्योरेन्स कम्पनीलाई साढे २ अर्ब चुक्ता पुँजी पुर्याउन दिएको समय सकिसकेको छ । गत आर्थिक वर्षसम्मको समय सीमा दिए पनि नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्सलगायत नन लाइफ इन्स्योरेन्सले तोकिएको पुँजी पुर्याउन सकेका छैनन् ।

बिमा प्राधिकरणले मर्जर प्रक्रियामा सहभागी नभएका कम्पनीहरुलाई हकप्रद शेयर दिन समेत कञ्जुस्याई गर्दा नेपाल इन्स्योरेन्सले भने कम्पनीका नाममा विभिन्न स्थानमा भएका जग्गा बेचेर चुक्ता पुँजी पुर्याउने योजना बनाएकाे थियाे । कम्पनीको योजना अनुसार जग्गा नबिकेपछि कम्पनीले कुमारी बैंक र नेपाल रिइन्स्योरेन्समा रहेको संस्थापक शेयर बेचेर चुक्ता पुँजी पुर्याउने योजना प्राधिकरणमा पेश गरेकाे थियाे ।

कम्पनीले योजना पेश गरे अनुसार पर्याप्त मात्रामा कम्पनीको नाममा रहेको जग्गा पनि बिक्री हुन सकेको छैन । नेपाल इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति सदस्य चन्द्र सिंह साउदका अनुसार कुमारी बैंकको संस्थापक शेयरमध्ये ३ लाख कित्ता जति मात्रै बिक्री भएको छ भने बिक्रीमा राखेको जग्गामध्ये बिराटनगरको जग्गा बिक्री भइसकेको छ । नेपाल रिइन्स्योरेन्सको संस्थापक शेयर बेच्ने प्रक्रिया चलिरहेको उनले बताए ।

नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ रहेको छ भने कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बोनस शेयर पुँजीकृत भएपछि पनि संस्थाको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४१ लाख रुपैयाँ मात्रै पुग्नेछ । प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन कम्पनीलाई अझै ८५ करोड भन्दा बढी चुक्ता पुँजीको अभाव रहेको छ । कम्पनीको योजना अनुसार जग्गा र संस्थापक शेयर बिक्री भइ नसकेको हुँदा हकप्रद शेयर जारी नगरिकन कम्पनीले तोकिएको चुक्ता पुँजी पुर्याउन सक्ने देखिंदैन । कम्पनीले अन्य स्रोतबाट पुँजी वृद्धि गर्न सकेन भने झन्डै ५० प्रतिशत हकप्रद निष्काशन गर्नुपर्ने हुन्छ ।

‘कम्पनीले कुमारी बैंक र नेपाल इन्स्योरेन्समा रहेको संस्थापक शेयर बेचेर आएको रकम र जग्गा बेचेर आएको रकम जोडेर पुँजी वृद्धि गर्ने योजना बनाएको हो । सम्पत्ति बेच्न सकेन भने अर्को विकल्प भनेको हकप्रद शेयर जारी गर्ने मात्रै हो ।’–कम्पनीका सञ्चालक साउदले भने । प्राधिकरणले हकप्रद शेयर जारी गर्न दिएन भने तत्काल कम्पनीले पुँजी पुर्याउन नसक्ने देखिएको छ ।

नेपाल इन्स्योरेन्सले यसअघि आइजीआई र प्रुडेन्सियलसँग मर्जरमा जाने योजना बनाएको थियो । तीन वटै संस्थालाई मर्जरमा जान प्राधिकरणले दबाब दिए पनि अन्तत आईजीआई र प्रुडेन्सियल मात्रै मर्जरमा गए भने नेपाल इन्स्योरेन्स मर्जर प्रक्रियाबाटै बाहिरियो । नेपाल इन्स्योरेन्समा रहेको आईएमई समूहको शेयर समेत सो समूहले बेचेर बाहिरिसकेको छ । उक्त कम्पनीमा रहेको आईएमई समूहको शेयर एसियन लाइफ इन्स्योरेन्सले खरिद गरेको थियो ।

मर्जरमा नगएका नन लाइफ इन्स्योरेन्समध्ये एनएलजी इन्स्योरेन्सले हकप्रद शेयरको अनुमति पाइसकेको छ भने प्रभु इन्स्योन्सको हकप्रद प्रस्ताव भने बिमा प्राधिकरणले पारित गरेको छैन । प्रभु इन्स्योरेन्सले विदेशी साझेदार ल्याउने प्रस्ताव गरे पनि आर्थिक मन्दीका कारण सफल हुन नसकेपछि भारी हकप्रद ल्याउने प्रस्ताव गरेको थियो । दुई कम्पनी बाहेक अन्य नन लाइफ कम्पनीहरुले भने मर्जरमा गएर पुँजी वृद्धि गरेका कारण आंशिक रुपमा हकप्रद शेयर निष्काशनको स्वीकृति दिएर पुँजी पुर्याउनेछ ।

comments powered by Disqus

मौद्रिक नीतिमा ओली झस्किनुको कारण आईएमएफः खतिवडाको अध्ययन कहिले सकिएला ?

Jul 24, 2024 05:44 AM

मौद्रिक नीति कहिले जारी होला भन्ने संशय रहेकै बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एउटा प्रतिवेदनको आधारमा प्रधानमन्त्री केपी ओली झस्किएका छन् ।