अब १ हजारमा आईपीओ भर्ने कम्पनी घट्दै, सर्वोत्तम सिमेन्टको आईपीओ भर्न १८ हजार चाहिने

Nov 29, 2023 06:25 AM MeroLagani



अब विस्तारै १ हजार रुपैयाँमा आईपीओ भर्ने समय सकिने भएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष भएर आएपछि उनले सिमेन्ट, हाइड्रोपावर, इन्स्योरेन्सलगायत आधा दर्जनभन्दा बढी कम्पनीलाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिए ।

प्रिमियममा आईपीओ निकाल्न स्वीकृति पाए लगत्तै पछिल्लो समय पब्लिकमा रुपान्तरण भएका धेरै कम्पनीहरुले प्रिमियममा आईपीओ निकाल्ने एजेन्डासहित साधारण सभा गरिरहेका छन् । हमालले प्रिमियममा आईपीओ निष्काशन दिन अनुमति दिएका कम्पनीहरुले १६ रुपैयाँदेखि ३ सय ३५ रुपैयाँसम्म प्रिमियम थपेर आईपीओ निष्काशन गरेका छन् । हमालकै पहलमा विगत डेढ वर्षदेखि थाँती रहेको सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने प्रक्रियाले निकास पायो । सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्तालाई ६० लाख कित्ताको ४० प्रतिशत अर्थात २४ लाख कित्ता निष्काशन गरिसकेर अब सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन गर्दैछ । सर्वोत्तम सिमेन्टले सर्वसाधारणको लागि ६० लाख कित्ताको बाँकी ४० प्रतिशत अर्थात ३६ लाख कित्ता निष्काशन गर्ने भएको छ ।

बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार शेयर निष्काशन गर्दा न्यूनतम ५० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने शेयर बाँडफाँड हुँदा पनि आवेदकले न्यूनतम ५० कित्ता नै पाउने गरी बाँडफाँड हुनुपर्ने व्यवस्था छ । बुक बिल्डिङ विधि अनुसार शेयर निष्काशन हुँदै गरेको सर्वोत्तम सिमेन्टको आईपीओ भर्न सर्वसाधारण लगानीकर्ताले न्यूनतम १८ हजार रुपैयाँ जोहो गर्नुपर्ने भएको छ । हालै सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्ता (क्युआईआई) बाट ४ सय १ रुपैयाँदेखि ६ सय १ रुपैयाँसम्ममा ३६ लाख कित्ता शेयरको लागि निवेदन आह्वान भएकोमा ४ सय १ रुपैयाँमा सम्पूर्ण शेयर बिक्री भएको थियो ।

अब सर्वसाधारण लगानीकर्ताको लागि क्युआईआईले पाएको कट अफ मूल्यमा १० प्रतिशत घटेको मूल्यमा आईपीओ निष्काशन हुनेछ । ४ सय १ रुपैयाँको १० प्रतिशत घटाउँदा ३ सय ६० रुपैयाँ ९० पैसा प्रति कित्तामा सर्वसाधारण लगानीकर्ताले आईपीओ भर्न पाउनेछन् तर बुक बिल्डिङ प्रक्रिया मार्फत आईपीओ भर्दा लगानीकर्ताले न्यूनतम ५० कित्ताको लागि भर्नुपर्नेछ । यस हिसाबले लगानीकर्ताले सर्वोत्तम सिमेन्टको आईपीओको लागि न्यूनतम १८ हजार ४५ रुपैयाँ जोहो गर्नुपर्नेछ ।
शेयर बजारको काकाको रुपमा सामाजिक सञ्जालमा चर्चित लगार्नीकर्ता केशव कोइराला 'काका' ले बुक बिल्डिङ विधि अनुसार आईपीओ निष्काशन हुनु प्रिमियममा आईपीओ निष्काशन हुनु भन्दा राम्रो रहेको बताए । ‘योग्य संस्थागत लगानीकर्ताले सकारेको मूल्यभन्दा १० प्रतिशत सस्तो मूल्यमा सर्वसाधारण लगानीकर्ताले शेयर प्राप्त गर्ने हुँदा यो विधि अनुसार शेयर निष्काशन गरेका कम्पनीको शेयरको आपूर्ति पनि बजारमा त्यति धेरै हुँदैन किनभने ४० प्रतिशत शेयर त संस्थागत लगानीकर्ताले होल्ड गरेर बसेको हुन्छ ।’–लगानीकर्ता कोइरालाले भने । संस्थागत लगानीकर्ताले ४० प्रतिशत शेयर महंगोमा होल्ड गरिने एवम् मूल्य निर्धारणमा पनि धेरै विज्ञको प्रयास रहने हुनाले बुक बिल्डिङ विधिलाई वैज्ञानिक र विश्वमा अत्यधिक प्रचलनमा रहेको शेयर निष्काशन विधि मानिन्छ ।

सर्वोत्तमको शेयर निष्काशनसँगै वास्तविक क्षेत्रमा रहेका धेरै कम्पनीहरुले यही विधि अनुसार शेयर निष्काशन गर्ने अपेक्षा लगानीकर्ताले गरेका छन् । सर्वोत्तम सिमेन्टकै लाइनमा रिलायन्स स्पिनिङ मिल्स पनि बुक बिल्डिङ विधिबाटै आइपीओ निष्काशनको पाइपलाइनमा छ । लगानीकर्ताले भने १ सय रुपैयाँमा शेयर नपाउने हुँदा बुक बिल्डिङ विधिको विरोध पनि गरेका छन् । बुक बिल्डिङ विधि, प्रिमियम विधि भन्दा अगाडि अधिकांश कम्पनीहरुको आईपीओ अंकित मूल्यमा नै आउने गर्दथ्यो । कुनै एउटा संस्थापक समूहले धेरै मेहनत गरेर नाफायोग्य बनाएपछि त्यो मुनाफा अरुमा बनाउन कोही पनि तयार नहुने कारण वास्तविक क्षेत्रका कम्पनीहरु बजारमा नआएको बताउने गरिन्थ्यो । वास्तविक क्षेत्रका कम्पनीहरुको अभावमा नेपालको शेयर बजारले वास्तविक अर्थतन्त्रको प्रतिनिधित्व गर्न नसकेको बताउने गरिन्थ्यो । पछिल्लो समय वित्त र विमा बाहेक हाइड्रोपावरसँगै उत्पादनमूलक समूहका कम्पनीहरुको पनि उपस्थिति बढ्दै गएको छ जुन नेपालको पुँजीको बजारको लागि राम्रो पक्ष हो ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।