सामाजिक संजाल तताएको ‘झोले’ आतंकः उत्पादन बढाउन प्रयाेग भएकाे त्याे ‘झोला’ अनि ओलीकाे ‘म झोले’

Jun 03, 2025 06:47 PM mero lagani



बजारमा ‘झोला’ आतँक छ । 

खासगरि राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेनहरुको उदय भएपछि ‘ट्रेण्डिङ’मा रहेको ‘झोले’ (फेसबुक प्रयोगकर्ताहरुको अर्थमा कांग्रेस, एमाले, माओवादीको झोला बोक्ने व्यक्ति) लाई ‘काउण्टर’ दिन एमालेले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले ‘म झोले’ हो भन्दै गरेको पोष्टले अहिले बजार गर्माएको छ । सामाजिक संजाललाई तताएको छ । एमाले कार्यकर्ता, समर्थक शुभेच्छुकहरुले त्यसलाई ‘ट्रेण्डिङ’मा ल्याएका छन् भने विरोधीहरुले पनि त्यस्लाई खिल्ली उडाउँदै अनेक पोष्टहरु गरिरहेका छन् ।

जेहोस् दुई दिन यता झोला वा झोले शब्द नेपालीहरुकोे बीचमा ‘सर्वाधिक प्रयोग हुने शब्द बनेको छ ।तर, अहिले ‘म झोले हो’ र होइन भन्दै सामाजिक संजालमा माथापच्ची गर्ने धेरैलाई थाहा नहुन सक्छ नेपाली राजनीतिमा झोला बोक्ने र झोलाको महत्व बुझाउने सम्भवतः पहिलो नेता पुष्पलाल हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल त्यस्ता नेता थिए, जो प्रायः झोला बोक्थे । पार्टी संगठन विस्तार गर्न जाँदा पार्टीका दस्तावेज मात्रै लैजादैनथे, तरकारी, फलफूलका बीउ साथमै लैजान्थे । राजनीतिक भाषण मात्र नगरेर, सँगसँगै उत्पादनका तौर तरिका सिकाउँथे । ‘कृषि उत्पादन बढाएर किसान समृद्ध नभए जुनसुकै व्यवस्था आएपनि देशको विकास हुदैन’ भन्दै किसानलाई व्यवसायिक सफलताका ‘टिप्स’हरु बाँड्थे ।

हो, नेकपाका संस्थापक नेता पुष्पलालको राजनीति गर्ने शैली त्यस्तै थियो । उदाहरणको लागि विसं २००६ बैशाखमा भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेपछि सोही वर्षको चैतमा पुष्पलाल इलामको नाम्सालिङमा संगठन विस्तारको लागि भूमिगतरुपमा पुगेका थिए । त्यहाँ केही दिन बस्दा जति ठाँउ भेला बैठक गरे, त्यसको अन्त्यमा उनले तरकारी, फलफूलका वीउ बाँड्थे । व्यवसायिक कृषि उत्पादनको कुरा गर्थे । हिड्ने बेलामा उनले आधुनिक तरिकाले खेती गर्ने उपाय सिकाउँदै व्यवसायिक रुपमा सफल भएपछि बचेको समय पार्टी संगठनलाई दिन अनुरोध गर्थे । पुष्पलालको भ्रमणपछि इलाममा कम्युनिष्ट राजनीतिको जग मात्रै बसेन, व्यवसायिक कृषिको जग पनि बस्यो । त्यहीकारण नै इलाममा आधुनिक तरकारी खेतीको शुरुवातकर्ताको रुपमा पुष्पलाललाई लिइन्छ । जबकी उनी भूमिगतरुपमा त्यहाँ केही दिन मात्रै बसेका थिए ।

इलामका पहिलो कम्युनिष्ट नाम्सालिंगका बृद्धिमान तामाङ (२००६ चैत्रमा जस्को घरमा पुष्पलाल बसेका थिए) को अनुभव रोचक छ । तामाङका अनुसार पुष्पलालकै उपस्थितिमा त्यतिबेला गठन भएको इलामको पहिलो कम्युनिष्ट संगठनका सदस्यहरुलाई पार्टी सदस्यता दिंदा आफूले लिएर गएका विभिन्न जातका तरकारी फलफूलका बीउ दिएका थिए । त्यसको शर्त एउटै थियो—व्यवसायिक उत्पादन गरेर नाफा गर्ने र १० भागको १ भाग पार्टी काममा लगाउने । आफू इलामबाट फर्केको केही समयपछि पुष्पलालले डिपी अधिकारीलाई इलाममा संगठन विस्तार गर्न पठाएका थिए । पुष्पलालकै आदेशमा उनले पनि बीउहरु लगेका थिए । अधिकारी गएपछि नाम्सालिंग नजिकैको गाउं सोयाङमा पनि कम्युनिष्ट पार्टीको संगठन मात्रै विस्तार कृषि उद्यमले पनि व्यवसायिक रुपमा फड्को मार्यो । पुष्पलालले इलाममा मात्र होइन, अन्यत्र पनि त्यसरी बीउ वाँड्दै संगठन गर्थे । व्यवसायिक सफलताका तौर तरिका सिकाउँथे । अर्थात् पुष्पलालहरुको झोलामा पार्टीका दस्तावेज मात्रै हुदैनथ्यो, उद्यमशिलतासँग सम्वन्धित सामाग्रीहरु पनि हुन्थ्यो । (हेर्नुहोस् बाबुराम ढकालद्धारा लिखित कृषि उद्यम दिग्दर्शन पेज नं १९०)

अहिले नेकपा एमालेले शुरु गरेको ‘म झोले होइन’ भन्ने अभियान होस कि कांग्रेस—एमाले—माओवादीका कार्यकर्ताहरुलाई ‘झोले’ भन्दै सत्तोसराप गर्ने जमात होस्, कसैले पनि पुष्पलालको ‘झोला’लाई सम्झिएको छैन । अर्थात् कसैको ‘झोले’ हुनु वा नहुनु, झोला बोक्नु वा नबोक्नुको ठूलो कुरा होइन, मुख्य कुरा बोकिने झोला भित्र के हुन्छ भन्ने हो । कसैले राजनीति गर्दा ‘पुष्पलालकै शैली’मा झोला बोक्छ भने त्यसले अहिले चर्चामा रहेजस्तो राजनीतिक रुपमा झोले वा लठैत होइन कि व्यवसायीक कृषि उद्यमी तयार गर्छ ।

त्यसैले झोला वा झोलेको अर्थहिन बहसमा उत्रेर एक अर्कालाई दोषारोपण गर्नुभन्दा पुष्पलालको जीवनी पढेर उनले अपनाएको ‘झोला सिद्धान्त’लाई अनुशरण गर्न सक्ने हो भने राजनीतिक पार्टीका नेता कार्यकर्ताको मात्र होइन, देशकै भलो हुने निश्चित छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।