नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुरु गरेको ‘म झोले हो’ भन्ने अभियानले पार्टी भित्रको गुटगत कित्ताकाटलाई थप मलजल गरेको देखिएको छ । ओली निकट नेता कार्यकर्ताहरुले ‘म झोले हो’ भन्ने तस्विरसहितको पोष्टलाई ‘भाइरल’ बनाइरहेको बेला एमाले राजनीतिमा फर्किने तयारी गरिरहेकी पूर्व राष्ट्रपति विद्या भण्डारी समर्थकहरुले भने उक्त अभियानको विरोध गर्न थालेका छन् । विरोध नगरेका नेता कार्यकर्ताहरुले पनि उक्त अभियानलाई बेवास्ता गरिरहेका छन् ।
अहिलेसम्म अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिवद्धय विष्णु रिमाल र प्रदिप ज्ञवाली लगायतका ओली पक्षिय नेता कार्यकर्ताहरुको ठूलो पङ्ति समाजिक संजालमा ‘म झोले हो’ भन्ने पोष्टर पोष्ट गरेका छन् । र, त्यो पोष्टरलाई पोष्ट गर्न पार्टी नेता कार्यकर्ताहरुलाई अनौपचारिकरुपमा निर्देशन दिइएको छ । तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलसहित उपाध्यक्षहरु गुरु बराल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, सचिवहरु योगेश भट्राई, छविलाल विक, रघुविर महासेठसहितका अन्य खासगरि युवा नेताहरु गोकुल वास्कोटा, कर्णबहादुर थापा, महेश बस्नेत लगायतले त्यो निर्देशनलाई अटेर गरेका छन्, अर्थात त्यो पोष्टरलाई पोष्ट गरेका छैनन् । उनीहरुमध्ये अधिकाँश पूर्व राष्ट्रपति भण्डारी पक्षधर हुन् ।
त्यसमध्ये वास्कोटा, बस्नेत, थापा लगायतका युवा नेताहरु त कुनै बेला ओलीको ‘किचन क्याविनेट’को सदस्य नै मानिन्थे । तर, अहिले बस्नेत बाहेक अन्य नेताहरु ओलीसंग असन्तुष्ट हुँदै भण्डारीको गुटमा प्रवेश गरेका छन् । उनीहरु नै अबको पार्टी महाधिवेशन मार्फत भण्डारीलाई एमाले अध्यक्ष बनाउन प्रयासरत छन् ।
नेतृत्वको बक्रदृष्टिमा परिने डरले अधिकांश नेता कार्यकर्ताहरुले ओलीले शुरु गरेको उक्त ‘क्याम्पेनिङ’ को ठाडै विरोध गर्न सकेका छैनन् । तर, खरो स्वभावका वास्कोटाले भने ठाडै त्यसप्रति आपत्ति जनाउंदै एमाले कार्यकर्ताले कसैले झोले भन्दैमा त्यसलाई गलत प्रमाणित गर्न अरु कुनै कुराको सहारा लिनु नपर्ने दावी गरेका छन् ।
यसरी पार्टीका नेता कार्यकर्ताहरुलाई सामाजिक संजालमा खासगरि रास्वपा र बालेन साह समर्थकहरूले झोले भएको ‘काउण्टर दिन’ शुरु गरिएको अभियानले एमाले भित्रको गुटगत विवादलाई थप छताछुल्ल पार्दै लगेको देखिएको छ ।