नेपाली राजनीतिमा ‘होली वाइन’ प्रकरणको रुपमा चर्चित रहेको एउटा काण्डसंग सम्वन्धित हान हाक ज दक्षिण कोरियामा पक्राउ परेकी छन् । उनको नेतृत्वमा रहेको युनिफिकेशन चर्चले तात्कालिक राष्ट्रपति यून सुक यउलकी पत्नी किम गन हीलाई ८ करोड वोन (८२ लाख नेपाली रुपैयाँ) बराबरका दुइटा महँगा शनेलु ब्रान्डका ब्याग र एउटा हीराको हार घुसको रुपमा दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । हानमाथि सो चर्चका एक पूर्वकर्मचारीसँग मिलेर सन् २०२२ को राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा कन्जर्भेटिभ पार्टीका सांसद क्वन सङ डोङलाई १० करोड वोन दिएको आरोप पनि लागेको छ।

सो विवादास्पद चर्च हानका पति क सन म्यङ मुनले स्थापना गरेका थिए । मुनको मृत्युपछि त्यसको नेतृत्व हानले गर्दै आएकी थिइन । पक्राउ परेकी हान अहिले ८२ वर्ष पुगेकी छन् ।
स्मरण रहोस् आफू मसिहा अर्थात ईश्वरको दूत भएको दाबी गर्दै दक्षिण कोरियामा मून सन म्यङले सन् १९५० को दशकमा उक्त चर्चको स्थापना गरेका थिए। उक्त चर्चले सामूहिक विवाह गराउँदै आएको छ।
जापानमा पूर्वप्रधानमन्त्री शिन्जे आबेको हत्या भएपछि त्यहाँ यूनिफिकेशन चर्चबारे चर्चा चुलिएको थियो। सन्दिग्ध हत्याराले उक्त सम्प्रदायका कारण आफ्नो परिवार टाट पल्टिएको र आबेलेयूनिफिकेशन चर्चको (प्रवर्द्धन) गरेकाले आफू उनीसँग रुष्ट भएको दाबी गरेका थिए। विश्वका विभिन्न देशमा उक्त समूहमाथि प्रतिबन्ध लागेको छ।
यूनिफिकेशन चर्च नेपालमा सन् १९७५ देखि सक्रिय भएको बताइन्छ। पछिल्लो समय नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल उक्त चर्चको नेपालसहित दक्षिण एशिया क्षेत्रकै मुख्य प्रतिनिधि भएको बताइएको छ । अहिले पक्राउ परेकी हानले ढकाललाई छोरा नै मान्ने गरेको जानकारहरु बताउँछन् ।
उक्त चर्चका नेता मूनले सन् २००५ मा नेपालको भ्रमण गरेका थिए भने विसं २०७५ मा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपाल सरकार सह आयोजक र उक्त संस्था आयोजक भएर ‘एशिया प्यासेफिक समिट’ गरिएको थियो । नेपालमा क्रिस्चियन धर्मलाई प्रवर्द्धन गर्न आयोजना गरिएको भन्दै त्यसको व्यापक आलोचना हुँदै आएको छ । उक्त कार्यक्रमको संयोजन ढकालले र हाल समाजवादीका अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री माधव नेपालले अप्रत्यक्ष रुपमा भूमिका खेल्ने गरेको चर्चा हुने गरेको छ ।