नेप्से र कारोबार रकम दुबै घट्यो

Apr 01, 2024 03:09 PM Merolagani



साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ६.२६ अंक घटेर २०१२.०७ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ६३ हजार १५ पटकको कारोबारमा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्था र माइ खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन महुलि लघुवित्तको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। यस दिन रिभर फल्स पावर कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन हाइड्रोपावर र अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४७ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१६ प्रतिशत र व्यापार उपसमूहको ०.२० प्रतिशत बढेको हो। घटेका उपसमूहको गिरावट दर यस दिन १ प्रतिशतभन्दा कम रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।