बढ्दो हकप्रद शेयरले थला पर्यो बजार, हकप्रद निकालेका अधिकांश हाइड्रोपावर कम्पनीको शेयर मूल्य २ सय मुनि

Apr 10, 2024 11:47 AM MeroLagani

पछिल्लो समय जस्तोसुकै हाइड्रोपावर कम्पनीले पनि हकप्रद निष्काशन गरिरहेका छन् । विद्युत नियमन आयोगले कुनै रोकतोक बिना हकप्रदको माग स्वीकृति गरेसँगै अधिकांश हाइड्रोपावर कम्पनी हकप्रद निष्काशन गर्ने प्रक्रियामा लागेका हुन् ।

हकप्रद निष्काशनसँगै शेयर आपूर्तिमा वृद्धि हुँदा दोस्रो बजारमा शेयर मूल्य भने प्रभावित भएको छ । पछिल्लो समय हाइड्रोपावर कम्पनीको हटकेकका रुपमा रहेको अपर तामोकोशी हाइड्रोपावरले १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्यो । 

 

अपर हाइड्रोपावरको हकप्रद शेयरको बुक क्लोज अगाडि ३ सय ८६ रुपैयाँमा अन्तिम शेयर कारोबार भएको थियो । बुक क्लोजपछिको पहिलो कारोबार २ सय ५५ रुपैयाँमा अन्तिम कारोबार भयो तर त्यसपछि अपरकाे शेयर मूल्यले बुक क्लोजपछिको अन्तिम मूल्यलाई भेट्टाउन सकेको छैन् । नबिकेको हकप्रद शेयर लिलामीको समयवाधि सकिने समयमा मूल्य उचालिएर २ सय ४८ रुपैयाँसम्म शेयर मूल्य पुगेपनि त्यसपछि पुन २ सयकै हाराहारीमा आयो ।

हकप्रद शेयर सूचीकृत भएर बेच्न मिल्ने गरी डिम्याटमा आउँदा नेगेटिभ सर्किट लागेर १ सय ८३ रुपैयाँमा कारोबार भएको थियो । अहिले १ सय ६० देखि ७० को हाराहारीमा कारोबार भइरहेको छ । हकप्रद सूचीकरणपछि अपर तामाकोशी हाइड्रोपावरको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ जुन एउटा वाणिज्य बैंकको चुक्तापुँजी बराबरको हो ।

पछिल्लो समय वाणिज्य बैंक शेयर मूल्यमा उछाल नआउनुमा पनि उच्च चुक्ता पुँजीसँगै प्रति शेयर आम्दानीमा गिरावट आउनुलाई लिने गरिएको छ । अपर तामाकोशीको सवालमा पनि शेयरको आपूर्ति उच्च भएर त्यही अनुसारको माग सिर्जना हुन नसकेपछि कम्पनीको शेयर मूल्यले उचाई हासिल गर्न नसकेको हो । कुनै समय अपर तामाकोशी शेयर मूल्यले १ हजार हाराहारीको उचाई छोएको थियो ।

पछिल्लो समय आईपीओ निकाल्ने कम्पनीहरु र हकप्रद शेयर निष्काशनको अनुपात ह्वात्तै बढेको छ । दुवै प्रक्रियाबाट बजारमा शेयर थपिने क्रम मात्रै बढेको छ । शेयर थपिए पनि थपिएको शेयर खपत गर्ने माग सिर्जना हुन नसक्दा बजार विगत दुई वर्षदेखि १८ सयदेखि २२ कै सेरोफेरोमा घुमिरहेको छ।

पछिल्लो समय घलेम्दी हाइड्रोले २ बराबर १ को अनुपातमा, सिंगटी हाइड्रो इनर्जीले १ बराबर १ को अनुपातमा, अरुण भ्याली हाइड्रोपावरले १ बराबर १ र रिडी पावर कम्पनीले १ बराबर शुन्य ५ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेका थिए ।

सिंगटी हाइड्रो इनर्जीको बुक क्लोज हुनु एक दिन अगाडि कम्पनीको शेयर १० प्रतिशतले बढेर ३ सय ५ रुपैयाँमा अन्तिम कारोबार भयो । बुक क्लोज भएपछि २ सय ६ रुपैयाँमा खुलेको शेयर लगातार दुई दिन सर्किट लागेर २ सय ४५ रुपैयाँसम्म पुग्यो । तेस्रो दिन पनि पहिलो सत्रमा झन्डै सर्किट लेभलमै कारोबार गराउने असफल प्रयास भएको थियो । तेस्रो दिन कम्पनीको शेयर मूल्य २७० रुपैयाँको हाराहारीमा कारोबार भए पनि बजार बन्द हुने बेला २ सय ५१ रुपैयाँमा कारोबार भयो । सिंगटीको हकप्रद शेयर सूचीकृत हुनै बाँकी छ, हकप्रद सूचीकृत नहुँदै कम्पनीको शेयर मूल्य १ सय ८० देखि ९० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । कम्पनीको हकप्रद सूचीकृत भइसकेपछि पुनः घटेर नै कारोबार हुने अनुमान गर्न सकिन्छ । सिंगटी हाइड्रोपावरको हकप्रद निष्काशन गर्दा नबिकेको शेयरको लिलामी हुँदैछ ।

रिडी पावर कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रदको लागि बुक क्लोज हुनु अगाडिसम्मको कम्पनीको शेयर मूल्य २ सय ७५ रुपैयाँ थियो । बुक क्लोजपछि २ सय २१ रुपैयाँमा बजार खुले पनि अहिले १ सय ७५ देखि ८० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

बढ्दो हकप्रद निष्काशनसँगै त्यसलाई खपत गर्ने अर्को संयन्त्र तयार नहुँदा बजार लगातार घटिरहेको लगानीकर्ताको तर्क रहेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।