यो वर्ष बजार बढ्नबाट कसैले रोक्न सक्दैन : सुजन बानियाँसँग शेयर गफ

Apr 13, 2024 10:48 AM Merolagani

२०८० सालमा नेप्से सूचक ४ प्रतिशतले मात्रै बढेर बन्द भयो । यो एक वर्षको अन्तरालमा बजार ११ वटा उपसमूह सकारात्मक रहदै गर्दा बैंकका शेयरमा सर्वाधिक दवाव परेको देखियो ।

बजारले १८ सयदेखि २२ सयको विन्दुलाई साइडवयजमा चल्दा लगानीकर्ताहरु धेरै निरास भए । बलियो पूँजी भएका कम्पनीमा लगानीकर्ताको आकर्षण नहुँदा बजार सूचकले गति समाउन नसकेको लगानीकर्ता सुजन बानियाँ बताउछन् । उनै बानियाँसंग सुधा देवकोटाले गरेको शेयर गफ ः

२०८० सालको वर्षको अन्तिम कारोबार दिन घटेर बन्द भयो । बर्ष २०८० शेयर बजारका लगानीकर्ताको लागि कस्तो रहयो ?

बिक्रम संवत २०८० शेयर बजारका लगानीकर्तालाई खासै राम्रो भएन । हामीले वर्ष भरि भन्दा पनि नजिकैको कारोबारलाई हेर्दा चैत महिनामा बजारमा शेयर बिक्री दवाव धेरै देखियो । यो महिना लगानीकर्तालाई ब्याज तिर्नु पर्ने दवाव भएको कारणले गर्दा बजारले खासै गति समाउन सकेन । बजारमा ट्रेडिङ गर्ने होस वा शेयर धितोमा राख्नेहरुले आफूसँग भएको केही शेयर बिक्री गरेर ब्याज तिर्न र अन्य आर्थिक व्यवस्थापन गरेको देखिन्छ ।

समग्र २०८० सालको अन्त्यसम्म आएर हेर्दा ठूलादेखि साना लगानीकर्ताहरुले एकुमुलेसन गरेको देखिएको छ । यो वर्षमा बजारमा खासै ठूलो उतारचढाब भएन । यो वर्ष ब्याजदर पनि निरन्तर घट्दो अवस्थामा रह्यो । २०८० सालले बजारमा रहेका नराम्रा कुराहरुलाई भुलाएर राम्रा सम्भावना भएको अवस्था तर्फ डोर्याउदै छ । बजारमा विस्तारै राम्रा कुरा आउन थालेका छन । बैंक तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा तरलता रहेको छ । मार्जिन कर्जा बढेको छ । यी बजारका लागि राम्रा पक्षहरु हुन् । बजारमा धेरैवर्ष अनुभव बटुलेका लगानीकर्ताहरुले २०८० साललाई शेयर भित्र्याउने वर्ष भन्ने गरेका छन् ।

यो एक वर्षको अन्तरालमा ४ प्रतिशत नेप्से सूचक बढेको छ । समूह अनुसार हेर्दा ११ वटा समुह सकारात्मक रहे । यद्यपि नेप्से सूचक उत्साहजनक रुपमा बढ्न नसक्नुको कारण के होला ?

तपाईले बजारमा बुझ्नु पर्ने प्रमुख कुरा बजारमा डिमान्ड र सप्लाईलाई नै हो । बजारमा सप्लाई धेरै भयो । अहिले बजारमा कम पूँजी भएका कम्पनीहरु चलेका छन् । उक्त कम्पनीको आधारभुत अवस्था राम्रो होस वा नहोस शेयर मूल्य निरन्तर बढेको छ । वाणिज्य बैंकको कुरा गर्दा बैंकहरुमा सप्लाई धेरै छ । बैंक बढ्न सुरु गरेको छैन,टिक्न गाह्रो हुने गरेको देखिन्छ । त्यसैले पनि बैंक बढ्न सकिरहेको छैन ।

बजारमा कस्ता कम्पनी चल्ने भन्ने कुरा समयले पनि निधारर्ण गर्ने गरेको देखिन्छ । १०÷१२ वर्ष पहिले बैंकिङ कम्पनीको शेयर मूल्य बढेकाे थियो । अनि बीमा कम्पनी र माईक्रफाइनान्सहरु चल्न थाल्यो । अघिल्लो बुलमा हाईड्रोपावर र फाइनान्स कम्पनीहरुमा धेरै लगानीकर्ताको आकषर्ण देखियो । बैंक मात्रै होईन । हाईड्रोपावर कम्पनीका धेरै पूँजी भएका कम्पनीहरु चल्न सकिरहेका छैनन । समयक्रम अनुसार कम्पनीहरु चल्ने गरेको देखिन्छ ।

बजारमा नयाँ भित्रने लगानीकर्ताले बैकको शेयर बढेको नै देखेका छैनन् । कतिपय लगानीकर्तालाई बैंकको शेयर किनेको नै जानकारी छैन । शेयर बजार भनेको सेन्टिमेन्टले चल्ने हो । उच्च पूँजी रहेका कम्पनीहरु नचल्दा नेप्से सूचकमा त्यसको दवाव परेको देखिन्छ । अब लगानीकर्ताले बैंकलाई पनि ध्यान दिनु पर्ने समय आएको छ । बैंक समुहको शेयर न्यून मूल्यमा झरेको छ । गति समाउनको लागि बैंक बढ्नै पर्ने देखिएको छ ।


बैंकका शेयर मूल्य घटेपनि लगानीकर्ताले खरिद गर्न रुचाई राखेका छैनन् । बजारका दरिला र बलिया कम्पनी नचलेसम्म बजार बढ्छ भनेर कसरी भन्न सकिन्छ ?

लगानीकर्ताले बैंकमा लगानी गर्ने भनेको लाभाँशको लागि हो । अहिले धेरै बैंकको राम्रो प्रतिफल आएन । अब पनि आउने सम्भावना कम रहेको छ । बैंकको वितरण योग्य मुनाफा धेरैको नकारात्मक छ । बैंकिङ कम्पनीको पिई रेसियो न्यून छ । तर पनि लगानीकर्ताले विश्वास गर्न सकिरहेका छैनन् । जब बैंकको प्रगति भएको छैन । शेयर सप्लाई धेरै छ । त्यसैले पनि लगानीकर्ताहरु जोखिम लिन रुचाई राखेका छैनन् । धितो राख्नका लागि बैंकको शेयर खरिद गरिने गरेको छ । १० देखि १५ प्रतिशत बढ्यो, एकवर्षको ब्याज उठ्यो भनेर बिक्री गर्न हतार गरेको देखिन्छ । अब अवस्था परिवर्तन हुँदैछ । धेरै लगानीकर्ताले भन्न थालेका छन् । जुन कम्पनीमा धेरै दवाव परेको त्यहि कम्पनी चम्कने छ । बैक चल्न सक्ने सम्भावना पनि रहेको छ ।


उसो भए अबको बुल बैंकिङ समूहले नेतृत्व गर्ला ?

बैंकिङ समुह चलाउनको लागि ठूलो पैसा आवश्यक छ । दुई तीन करोडले लो क्याप कम्पनी सर्किट लाग्छ । बैंक त्यस्तो हुदैन । मुस्किलले बढायो सप्लाई धेरै आउँछ । फेरि उक्त सप्लाईलाई थेग्ने फण्ड छैन । ढुक्क भएर लगानी गर्ने वातावरण बनिसकेको छैन । लगानीकर्ताहरु अझै पनि विश्वस्त भएर लगानी गर्न सकिरहेका छैनन । बजारले गति समाउँदै छ,बजार चल्दैछ भनेर महशुस गर्नको लागि कारोबार रकम बढ्न सकिरहेको छैन ।

यो दुई चार अर्बको कारोबारले बजारलाई माथिल्लो विन्दुमा लैजान सक्दैन । अहिलेको बजारमा एकुमुलेसन मात्रै भएको छ । बजारले २२४० को विन्दु पार गर्न १० अर्ब माथिको भोल्यूम आउन पर्ने हुन्छ । यदि बजारले २२४० को विन्दु पार गरे बजारलाई २४ सय माथि पुग्नको लागि कसैले रोक्न सक्दैन । त्यसैले यो विन्दुमा धेरै शेयर एकुमुलेसन र एभरेज हुँदैछ । सानादेखि ठूला लगानीकर्ताले शेयर उठाई राखेका छन् ।

बैंकको शेयर हुने लगानीकर्ताहरु धेरै निरास छन् । शेयर मूल्य कहिले नबढ्दा लगानीकर्ता निरास हुनु स्वभाविक हो । लगानीकर्ता निरास हुन छाडेर अध्ययनमा आफूलाई केन्द्रित गर्नुपर्ने हुन्छ । बजारबाट कसरी त्यो नोक्सानीलाई बढाएर राम्रो नाफा गराउने कुरामा सिकाउन धेरै मद्दत गर्छ ।

२०८० साललाई शेयर भित्राउने वर्ष भन्नु भयो २०८१ सालमा बजारमा बढ्ने आधारहरु के के देख्नु भएको छ ?

बजारमा जति दवाव पर्ने हाे,परिसक्यो । बजार बढ्नुको प्रमुख कारण भनेको बैंकको ब्याजदर हो । बैंशाख महिनाको लागि पनि बैंकहरुले ब्याजदर घटाएर सार्वजनिक गरेका छन । विगत एक वर्षदेखि निरन्तर रुपमा बैंकको ब्याजदर घट्दो छ । बैंकहरुमा प्रसस्त तरलता छ । विस्तारै विस्तार सुधार हुदै छ । शेयर बजारप्रति सरकार सकारात्मक देखिएको छ। शेयर बजार नचलेसम्म अर्थचन्त्र चलायमान हुदैन भन्ने कुरा सरोकारवाला निकायले मनन गर्न थालेका छन् । लगानीकर्तामा पनि अब यो विन्दुभन्दा तल्लो विन्दुमा बजार झर्दैन भन्न विश्वास बढेको छ ।

तपाईले भन्नुभयो ब्याजदर घटे बजार बढ्छ । विगत एकवर्षदेखि निरन्तर ब्याजरद घट्दो अवस्थामा छ । किन बजार बढ्न सकेन ?

अहिले ब्याजदर घटेको छ । तर बजारले प्रकिकृया जनाउन सकिरहेको छैन । बजारमा ब्याजदरको भन्दा अन्य कुराको प्रभाव धेरै देखिएको छ । ब्यापार व्यवासय ठप्प छ । मुलुकमा राजनीतिक अस्थितरता कायमै छ । उदाहरणको लागि लघुवित्त कम्पनीका ऋणीहरुले गरेको आन्दोलनको प्रभाव पनि बजारमा परेको छ । व्यापार व्यवसाय सुस्ताएको छ । त्यसैले धेरै व्यावसायीले ऋण चुक्ता गर्न सकिरहेका छैनन् । त्यसको प्रभाव बैंक तथा वित्तीय संस्थाको रिकभरिमा परेको छ । सूचिकृत कम्पनीले प्रगति देखाउन सकिरहेका छैनन् । त्यसैले समग्र सूचकमा प्रभाव पारेको छ ।

यावत नराम्रोले राम्रो कुरालाई केन्द्रित गरेको छ । धेरै कुरा नराम्रोबाट राम्रो हुने क्रममा रहको छ । बैंकहरुले ऋण दिँदा सुरक्षित लगानीलाई जोड दिदैँछन् । लघुवित्तको आन्दोलन विस्तारै कम हुँदैछ । । अब विस्तारै बजार बढ्ने नै हो ।

 

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।