राष्ट्र बैंकको नीतिले लगानीकर्ताको लगानी रणनीति फेरियो, बजारमा थप पैसा भित्रिने

May 20, 2024 06:28 AM Merolagani

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा गरेका केहि व्यवस्थाले लगानीकर्ताले आफ्नो लगानी रणनीति नै परिवर्तन गर्न थालेका छन्।

केन्द्रीय बैंकले गत शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थालाई शेयर बिक्री गर्न पाउने बाटो खोलिदिएपछि शेयर बजारमा आकर्षक बृद्धि देखिएको छ। बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पूँजीको ३० प्रतिशत रकम शेयरमा लगानी गर्न पाउँछन्। तर राष्ट्र बैंकले शेयर बिक्रीमा भने कडाइ गरेको थियो।

दुई वर्ष अघि बजार बढेर २८०० विन्दु माथि पुग्दा राष्ट्र बैंकले बैंकहरुलाई शेयर बिक्रीमा कडाइ गरेको थियो। बजार २८१७ विन्दुमा हुँदा २०७८ जेठ ११ गते राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले सो मिति पश्चात खरिद गरिएका शेयरहरु एक बर्ष भन्दा पहिला बिक्री गर्न नपाउने र एक वर्ष पछि आफ्नो प्राथमिक पूँजीको १ प्रतिशत मात्र बिक्री गर्न पाउने व्यवस्था गरेको थियो।

राष्ट्र बैंकले जेठ १० गतेसम्म खरिद गरिएका शेयरहरु भने २०७९ असार मसान्तसम्म बिक्री गर्न सक्ने व्यवस्था गरेको थियो। जसले गर्दा धेरै बैंकहरुले पुराना शेयरहरु बिक्री गरे तर नयाँ शेयर खरिद गर्नतर्फ लागेनन्।

राष्ट्र बैंकको सो व्यवस्थापछि केहि समय शेयर बजार बजार बढेको भएपनि बेच्न नपाउने व्यवस्थाको कारण बैंकहरुले बजारमा थप पैसा हाल्न छोडे। पछिल्लो समय शेयरको मूल्य बढ्दा पनि कम पूँजी भएका र वित्तीय रुपमा अति कमजोर कम्पनीहरु बढीरहेको अवस्था थियो। यसले गर्दा लगानीकर्ताले समेत बैंकहरूलाई लगानी गर्न सहज वातावरण बनाउनुपर्ने माग गरिरहेका थिए। 

राष्ट्र बैंकले बैंकहरुलाई शेयर बिक्री गर्ने बाटो खोलिदिएसँगै बैंकहरुले शेयर बजारमा लगानी बढाउने अपेक्षामा लगानीकर्ताहरु उत्साहित भएका छन्। जुन आइतबारको बजारबाट प्रष्ट देखिन्छ।

आइतबार बजार खुलेदेखि नै बिमा कम्पनी, उत्पादनमूलक कम्पनी, लगानी क्षेत्रका कम्पनीहरु र अन्य क्षेत्रका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। किनभने बैंक तथा वित्तीय संस्थाले क, ख, ग र घ वर्गका कम्पनीहरुमा लगानी गर्न पाउदैनन। यसले गर्दा बैंकहरुको पहिलो प्राथमिकतामा यीनै क्षेत्रका कम्पनीहरु पर्ने आँकलन गरेर लगानीकर्ताले लगानी बढाएका हुन्।

आइतबार बीमा समूहको सूचक ४ प्रतिशतले बढेको छ भने बैंकिंग उपसमूहकै सूचक करिब ३ प्रतिशतले बढेको छ। यसअघि वित्तीय अवस्था खराब भएपनि कम पूँजी भएका कम्पनीहरुमा झुमिने लगानीकर्ता आइतबार भने पूँजी धेरै भएका कम्पनीहरुमा पनि लगानी बढाए। किनभने आइतबार हिमालयन रि इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स, नेपाल दुरसञ्चार कम्पनीलगायतमा पनि लगानीकर्ताको राम्रो आकर्षण देखिन्थ्यो।

बैंकहरुले शेयर बजारमा लगानी गर्दा ठूलो पैसा भित्रिने र त्यो शेयर तत्काल बिक्रीमा नआउने भएको कारणले बैंकहरुलाई ठूला संस्थागत लगानीकर्ताको रुपमा समेत लिइन्छ। त्यसले गर्दा बैंकहरुले लगानी बढाउने अपेक्षमा व्यक्तिगत लगानीकर्ताले पनि शेयर बजारमा लगानी बढाएका छन्। बैंकहरुले वित्तीय रुपमा समेत केहि राम्रा कम्पनीमा लगानी गर्ने भएकाले पनि वित्तीय रुपमा कमजोर कम्पनीमा लगानी गरीरहेका लगानीकर्ता पनि अब कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्ने रणनीति बनाउन थालेका छन्। 

पछिल्लाे समय बजारमा कम पूँजी भएर र थोरै पैसाले नै बढाउन सकिने शेयरको मूल्य अत्याधिक बढेर गएको थियो। बलिया संस्थागत लगानीकर्ताले शेयर बजारमा लगानी नबढाउँदा लगानीकर्ताहरू सिमित कम्पनीमा मात्रै खेलिरहेका थिए। तर राष्ट्र बैंकले बैंकलाई शेयर बजारमा लगानी गर्न सहज बनाएसँगै साना लगानीकर्ताले समेत अन्य क्षेत्रमा लगानी बढाउन थालेका छन्।

बैंकहरुले प्राथमिक पूँजीको ३० प्रतिशत लगानी गर्न पाउँदा बजारमा ठूलो पैसा बैंकहरुबाटै आउने गर्छ। राष्ट्र बैंककाे व्यवस्था अनुसार बैंकहरूले कुल १ खर्ब ५८ अर्ब रूपैयाँ शेयरमा लगानी गर्न पाउँछन्। विवरण हेर्दा अझै पनि करिब ५० अर्बको शेयर खरिद गर्नसक्ने क्षमता बैंकहरुको छ। सो पैसा बजारमा भित्रिन सक्ने अपेक्षमा लगानीकर्ताहरु उत्साहित भएका हुन्।

अहिले बजारले स्पष्ट गति नलिँदा केहि ठूला लगानीकर्ताले समेत शेयर बजारमा लगानी बढाएका थिएनन्। वित्तीय रूपमा सबल कम्पनीहरूकाे शेयरमूल्य बढ्न थाल्दा त्यस्ता लगानीकर्ताले पनि शेयर बजारमा लगानी बढाउने छन्। जसले गर्दा बजारमा थप पैसा भित्रिने छ। 

  • नाफा बढ्ने आशाले बैंककै शेयरमा पनि आकर्षण

राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेका केहि व्यवस्थाले गर्दा बैंकहरुको समेत नाफा बढ्न सक्ने देखिएपछि लगानीकर्ताले बैंकको शेयरमा समेत लगानी बढाएका छन्।

राष्ट्र बैंक हायर पर्चेज कर्जाको जोखिभार ०.५ प्रतिशत विन्दुले घटाएको छ जसले गर्दा बैंकहरु थोरै रकम प्रोभिजन गर्नुपर्दा नाफा २ अर्ब ४० कराेड रूपैयाँले बढ्ने देखिएको छ। औसतमा एउटा बैंककाे नाफा झण्डै १२ कराेडले बढ्ने छ।

अर्कोतर्फ बैंकहरुले शेयर बजारमा समेत लगानी गरेर कमाउन सक्ने बाटो खुलेको छ। कोभिडको समयमा समेत शेयर कारोबारबाट नै केहि बैंकहरुले राम्रो आम्दानी गरेका थिए। अहिले पनि शेयर बजार न्युन विन्दुमा रहेको अवस्थामा बैंकहरुले बजारमा लगानी गरेर राम्रो आम्दानी गर्न सक्ने देखिन्छ। त्यसले गर्दा पनि निरन्तर घट्दो अवस्थामा रहेको बैंकको शेयरमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।