अर्थमन्त्रीले शेयर बजारको विषयमा राष्ट्र बैंकसँग छलफल गर्ने, अर्थमन्त्रीले भनेका कुरा गभर्नरले मान्लान् ?

May 19, 2024 06:13 PM merolagani



सुवास निरौला

अर्थमन्त्री वर्षमान पुनले शेयर बजारको विषयमा नेपाल राष्ट्र बैंकसँग कुरा गर्ने भएका छन्। उनले आउने साता शेयर बजारको विषयमा केन्द्रीय बैंकसँग कुरा गर्न लागेको अर्थमन्त्री पुनले बताए।

अर्थमन्त्रीले शेयर बजार र समग्र अर्थतन्त्रलाई सहयोग पुग्ने हिसाबले कुराकानी गरिरहेको र त्यसलाई थप माझ्ने गरी बृहत् छलफल गर्न खोजिरहेको यस अघि उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रि-बजेट छलफलमा समेत बताएका थिए। “बजेट लेखन एउटा तहमा पुगिसकेपछि नेपाल राष्ट्र बैंकसँग अलि गहन रुपमा छलफल गर्छौं। हुन त अहिले पनि छलफलमै छौ। तर अहिले भन्दा बिस्तृत रुपमा छलफल गर्ने हाम्रो योजना छ,” पुनले प्रि-बजेट छलफलमा भनेका थिए।  

बजेट लेखन कार्य भइरहेको छ। त्यसमा शेयर बजारको विषय पनि लेखिन लागेकोले बजेटमा लेख्नु भन्दापूर्व राष्ट्र बैंकसँग कुरा गर्न लागेको उनको भनाई छ। “बजेटमा लेखौला तर उता राष्ट्र बैंकको मौद्रिक नीतिले सम्बोधन गरेन भने त्यसको कुनै अर्थ हुँदैन। जसले गर्दा राष्ट्र बैंकसँग पहिले नै छलफल गर्न लागिएको हो,” पुनले भने।

अर्थमन्त्रीलाई भेट्न गएका सबैजसो लगानीकर्ताले केन्द्रीय बैंकको नीतिका कारण शेयर बजारको अवस्था खराब रहेको बताउने गरेका छन्। उता पछिल्लो समय सरोकारवाला निकायसँग पूँजी बजारको सुधारको लागि मागिएको सुझावमा समेत घुमाउरो पाराले केन्द्रीय बैंकले लिएको नीतिका कारण शेयर बजार खस्किएको सुझाव आएपछि अर्थमन्त्रीले राष्ट्र बैंकसँग कुरा गर्न चाहेका हुन्।

खासगरि लगानीकर्ताहरूले केन्द्रीय बैंकले लगाएको १५ करोडको नीति र शेयर ऋणमा लगाइएको रिस्क वेट कम गर्नु पर्ने भन्दै आएका छन्। अहिले शेयर बजार घटेको र शेयरको मूल्य तल झरेको अवस्थामा रिस्क वेट बढी राखी राख्न उचित नहुने भन्ने विषयमा अर्थमन्त्री समेत कन्भिन्स भएका छन्। “म आए लगत्तै शेयर बजारको विषयमा केही गर्न खोजेको थिए। सोही कारण मैले आउने बित्तिकै सरोकारवालासँग सुधारको लागि सुझाव पनि माग्न लगाए। सुझाव आइसकेको छ। सुझावहरू पढ्दा पनि राष्ट्र बैंकसँग कुरा गर्नै पर्ने देखिएको छ,” पुनले भने।

तीन निकायसँग मागिएको सुझाव कार्यान्वयनको गर्नु पर्ने आवश्यकता छ। जुन सुझावलाई बजेटमै समेटिने आशय मन्त्री पुनको छ। “अहिले बजेट लेखनको चटारो छ। बजेटमै शेयर बजारका विषय समेट्ने हाम्रो तयारी छ,” पुनले भने।

यस अघिका अर्थमन्त्रीहरूले पनि शेयर बजारको विषयमा राष्ट्र बैंकसँग कुरा गर्ने नभनेका होइनन्। तर उनीहरूले भनेका कुरा भने कहिल्यै पूरा भएनन्। नेपाल राष्ट्र बैंकले आफ्नै हिसाबले नीतिहरू अघि सार्ने तर अर्थमन्त्रीले भनेकै आधारमा भने त्यसलाई सहजै लचकता अपनाएको दृष्टान्त छैन। त्यसमा पनि शेयर बजारको विषयमा केन्द्रीय बैंक सहजै कन्भिन्स हुने अवस्था यसअघि देखिएको छैन। शेयर बजारले गर्दा नै उत्पादनशील क्षेत्र चलायमान नभएको राष्ट्र बैंकको ठम्याइ छ। बैंकहरुबाट पैसा लिने र बैक निर्भर शेयर बजार हुनु नहुने तर्क केन्द्रीय बैंकले गर्दै आइरहेको छ। जसले गर्दा यस पटक पनि केन्द्रीय बैंकसँग सरकाले गर्न लागेको कुराकानी र त्यसमा पनि शेयर बजार सँग सम्बन्धित कुराकानी खै फलदायी हुनेमा आशङ्का गर्ने प्रशस्त ठाउँ छन्।   

अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामञ्जस्य कायम गरिने भन्दै आएका छन्। “बजेट आउँछ। बजेट सँगै तालमेल मिल्ने गरी मौद्रिक नीति पनि आउँछ र आउनु पर्छ। किनकि नीति तथा कार्यक्रमले वित्त नीतिलाई मात्रै दिशा निर्देश नगर्ने भएर त्यसले मौद्रिक नीतिलाई पनि दिशा निर्देश गर्छ। त्यसकारण बजेटमा लेखिसकेपछि मौद्रिक नीतिले पनि त्यसलाई समर्थन गर्नु पर्छ,” पुनले भने।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।