प्रधानमन्त्रीको चेतावनीलाई लत्याउँदै गृहमन्त्री लामिछानेको आदेशमा कैलाश सिरोहिया पक्राउः लामिछाने भर्सेस कैलास सिरोहियाको लडाई वारपारको चरणमा

May 21, 2024 07:29 PM Merolagani



कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न लागेको सूचना पाए पछि प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो गृहमन्त्री रवि लामिछानेलाई आवेशमा आएर ‘त्यसो नगर्न’ चेतावनी दिएका थिए । तर, प्रधानमन्त्रीलाई समेत थाहा नदिई सिरोहियालाई पक्राउ गर्ने तयारी गरिरहेका लामिछानेको आदेशमा त्यस अगाडि नै प्रहरीले सिरोहियालाई पक्राउ गर्नको लागि अदालतबाट अनुमति लिइसकेको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्रीले ‘आवेशमा आएर त्यसो नगर्न’ आदेश दिएपछि लामिछानेले ‘अदालतबाट अनुमति लिइसकेकोले अब अदालती प्रकृया अनुसार हुने’ भन्ने जवाफ दिएका थिए । नभन्दै प्रहरीले साँझ पख सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको छ ।

उनको पक्राउ प्रकरणसँगै केही गम्भिर प्रश्नहरु खडा भएको छ । सबैभन्दा ठूलो प्रश्न प्रधानमन्त्री दाहालमाथि नै छ । ‘त्यसो नगर्न’ भनेर दिएको आफ्नै आदेश अटेर गर्ने गृहमन्त्रीको कदमलाई अब उनले कसरी लिन्छन् ? शिरोहिया माथिको आरोप सही भएको बताउँदै गृहमन्त्रीको कदमको प्रतिरक्षा गर्न सक्छन् ? यदि सक्दैनन् भने आफ्नो आदेशको विरुद्ध गएर संचार माध्यमका मालिकलाई पक्राउ गर्ने गृहमन्त्रीलाई कारवाही गर्न, वर्खास्त गर्न सक्छन् ? पक्कै पनि यी प्रश्नको जवाफ दिन प्रधानमन्त्री दाहाल मात्र होइन, कुनै मन्त्री मन्त्री र सत्तारुढ पार्टीका नेताहरुलाई सहज छैन । किनकी एकातिर लामिछाने र उनको पार्टी रास्वपालाई रिझाएर सत्ता टिकाउनु छ भने अर्काेतर्फ ‘मिडिया माथिको आक्रमण’ भन्ने आरोपबाट पनि बच्नु छ । यी दुवै अवस्थालाई सन्तुलनमा राख्न पाउन प्रधानमन्त्री, सरकार र सत्तारुढ पार्टीहरुलाई सहज छैन ।

कानुनका ‘नौ सिङ्ग’ ले जे जे भनोस्, आम नेपालीहरुको बुझाईमा कान्तिपुरका मालिक र उनका परिवारहरुप्रतिको धारणा सकारात्मक छैन । उनीहरुमाथि ‘ओपन सेक्रेट’ झैं लाग्ने अनेकौ तथ्यहरु छन्, आरोपहरु छन् । तर, ती सबै आरोपहरुबाट उनीहरु कानुनी रुपमा मुक्त भइरहनुको मुख्य कारण कान्तिपुरको ‘शान र शक्ति’ भएको कतैबाट छिपेको छैन । अहिले विवाद सृजना भएको दोहोरो नागरिकताको मुद्धाको वास्तविकता के हो र अब त्यसको पटाक्षेप कसरी होला ? त्यो अब अदालतले बताउला । तर, अदालतबाट जे जस्तो फैसला आए पनि आजको घटनालाई लिएर उनी प्रति ‘खुच्चिङ्ग’ भन्नेहरुको जमात सानो छैन ।

यो घटनाका मुख्य कारक गृहमन्त्री लामिछाने हुन् । र, उनी ‘जन्मजात विवादास्पद’ व्यक्ति हुन् । आफूलाई साथ नदिएको आरोपमा लामिछानेले घोषणा गरेको ‘बाह्र भाई’ प्रकरणका एक मुख्य व्यक्ति शिरोहिया हुन् । उनको लगानीमा रहेको कान्तीपुर दैनिकले लामिछानेका सहकारी प्रकरणलाई जसरी निरन्तर ‘फलो अप’ गरिरहेको छ र लामिछाने र उनका समर्थकहरुले कान्तिपुर प्रति जसरी ‘घृणाको राजनीति’ गरिररहेका छन्, त्यसले गर्दा लामिछाने र सिरोहिया वा कान्तिपुरबीच ‘कि तँ छैनस्, कि म छैन’ भन्ने ‘इगोको लडाई’ शुरु भएको देखिन्छ । यो लडाईमा कस्ले जित्ला, कस्ले हार्ला ? त्यो भविश्यले बताउला ।

तर आजको घटनाले रवि लामिछाने भर्सेस शिरोहिया (वा कान्तिपुर) बीचको लडाई अबको केही दिन झन चर्कने निश्चित छ । दुवै ‘वार पार’ को मुडमा देखिन्छन् । तर, गृहमन्त्री लामिछानेको आदेशमा आज भएको सिरोहियाको पक्राउले सरकार र सत्तारुढ पार्टीहरुमाथि ‘प्रेस स्वतन्त्रता माथि आक्रमण गरेको’ आरोप लाग्ने र उनीहरु रक्षात्मक हुने भने निश्चित देखिएको छ ।

 




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।