ठूला चुक्ता पुँजी भएका कम्पनी रहेको बैकिङ समूह बढेपछि एकथरी लगानीकर्ताहरु अब ट्रेडिङबाट इन्भेष्टमेन्टतिर लागेको अड्कलबाजी गरिरहेका छन् भने केहीले भने अब बजारले २२ सयमाथि गएर बस्ने आधार स्वरुप ठूला पुँजीको कम्पनीहरु चल्न थालेको बताउन थालेका छन् । नेपालमा पुँजी बजारमा संस्थागत तथा ठूला लगानीकर्ताहरुले नीतिगत अवरोधका कारण लगानी बढाउन नसकेका कारण खुद्रा लगानीकर्ताले ट्रेडिङमा मात्रै केन्द्रित हुन थालेका थिए ।
विगतमा आधारभूत रुपमा कमजोर भएपनि न्यून चुक्ता पुँजी भएका कम्पनीहरु मात्रै पालैपालो कारोबार हुने गरेका थिए । धेरै समय फाइनान्स, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन र लघुवित्तका कम्पनीहरुमा चार्म देखियो तर आधारभूत रुपमा बलिया भए पनि वाणिज्य बैंकको शेयर मूल्यले भने हरेक दिन ‘लोअर लो’ बनाउँदै गरेको अवस्था थियो । करिब तीन हप्ताको दौरान वाणिज्य बैंकको शेयर मूल्यले झन्डै १८ प्रतिशतको वृद्धि हासिल गरेपछि भने धेरैले अब नेपालको पुँजी बजारमा ‘भ्यालु इन्भेष्टिङ’ ले पनि स्थान पाएको बताउन थालेका छन्।
भर्खरै आइपीओ निष्काशन गरेका कम्पनीहरुलाई पहिलो कारोबार रेञ्ज दिँदा नेप्सेले नेटवर्थको तीन गुणासम्ममा पहिलो कारोबार गर्न दिने गरेका छन् । पछिल्लो समय कारोबार भएका अधिकांश कम्पनीहरु नेटवर्थको २ गुणाभन्दा माथि नै कारोबार भइरहेका छन् । पछिल्लो समय आईपीओ निष्काशन भएको कम्पनी भन्दा पनि सस्तो मूल्यमा अहिले वाणिज्य बैंकको शेयर मूल्य आएको छ । मूल्य धेरै घटेकाले पनि वाणिज्य बैंकको शेयरमा आकर्षण बढेको बजार विश्लेषक सुवासचन्द्र ढुंगाना बताउँछन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामार्फत बैंकहरुले १ वर्ष व्यतित भइसकेको लगानीबाट प्राथमिक पुँजीको २० प्रतिशतसम्म बेच्न पाउने प्रावधान ल्यायो जबकि यसअघि बैंकले प्राथमिक पुँजीको १ प्रतिशतसम्म बेच्न पाउँथ्यो । राष्ट्र बैंकले किस्ता किस्तामा गरेर ५० लाख रुपैयाँसम्मको मार्जिन कर्जाको जोखिम भार १ सय २५ प्रतिशतमा झार्ने, व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएर १५ करोड र संस्थागतको सीमा २० करोड पुर्याउने र पछिल्लोपटक बैंकहरुलाई प्राथमिक पुँजीको २० प्रतिशतसम्मको १ वर्ष होल्ड गरिसकेको शेयर बेच्न दिने प्रावधान ल्याएर शेयर बजारप्रति लचिलो बन्दै गएको प्रमाण पेश गरेको छ । राष्ट्र बैंकको पछिल्लो कदमले बैकिङ प्रणालीमा थुप्रिएर रहेको रकम शेयर बजारमा आउने आंकलन गरिएको छ जसको असर स्वरुप मौद्रिक नीतिको समीक्षापछि शेयर कारोबार रकम पनि बढेर ५ अर्ब माथि पुगेको छ । शेयर विश्लेषक ढुंगानाले अहिले आधारभूत रुपमा बलिया कम्पनीहरुमा लगानीकर्ताले लगानी बढाएको कारण बैकिङलगायत ठूला पुँजी भएका कम्पनीहरुको शेयरमा आकर्षण देखिएको बताए । ‘बलिया कम्पनीहरुमा इन्भेष्ट गरेर सो शेयरलाई धितोमा राख्ने उद्देश्यले शेयर खरिद बढेको देखिन्छ । यी कम्पनीहरुको धितोबापत् मार्जिन कर्जा स्वीकृत भएपछि सो रकमबाट फेरि ट्रेडिङका कम्पनीहरु चल्ने देख्छु ।’–उनले भने ।
नेटवर्थ भन्दा तल्लो विन्दुमा नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर
शेयर धितोको लागि प्राय बैंकहरुले नेटवर्थ राम्रो भएको वाणिज्य बैंक र अन्य क्षेत्रका कम्पनीको शेयर लिने गर्दछन् । हुन त वाणिज्य बैंकहरु पछिल्लो तीन हप्तामा १८ प्रतिशतको हाराहारीले बढिसकेको छ तर पनि भ्यालु इन्भेष्टिङको लागि आधारभूत रुपमा बलिया कम्पनीहरु नै हेर्नुपर्छ । आधारभुत रुपमा हेर्दा कम्पनीको नेटवर्थको हाराहारी शेयर मूल्य भएको कम्पनी लगानीको लागि आकर्षक मानिन्छ। १९ वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम नेटवर्थ भएको कम्पनी नै १ सय ३६ रुपैयाँभन्दा बढी छ । वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर बैंकको नेटवर्थ भन्दा पनि तल्लो विन्दुमा गएर कारोबार भइरहेको छ । त्यस्तै लक्ष्मी सनराइज बैंकको शेयर मूल्य नेटवर्थकै हाराहारीमा कारोबार भइरहेको छ । लक्ष्मी सनराइजको नेटवर्थ १ सय ७१ रुपैयाँ ५९ पैसा छ भने बुधबार यो बैंकको शेयर १ सय ७२ रुपैयाँमा अन्तिम कारोबार भयो ।
नेटवर्थको २.८६ गुणामा स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर
नेटवर्थको ३ गुणासम्मको मूल्यलाई फेयर प्राइस मान्ने गरिन्छ । वाणिज्य बैंकमध्ये सबैभन्दा महंगो स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर नेटवर्थको २ दशमलब ८६ गुणा अर्थात ५ सय ९८ रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीको नेटवर्थ २०८ रुपैयाँ ८५ पैसा रहेको छ । कम्पनीको शेयर मूल्य पछिल्लो समय सबैभन्दा उच्च रहनुमा कम्पनीको न्यून चुक्ता पुँजीलाई पनि लिने गरिएको छ । सबै वाणिज्य बैकहरुले चुक्ता पुँजी बढाएर दोब्बर तेब्बर पुर्याउँदा पनि चार्टर्ड भने अझै ९ अर्ब ४३ करोड रुपैयाँको चुक्ता पुँजीमै सीमित रहेको छ । न्यून चुक्ता पुँजीकै कारण कम्पनीको प्रति शेयर आम्दानी समेत सबैभन्दा बढी ३४ रुपैयाँ ६० पैसा रहेको छ ।
२ सय भन्दा बढी नेटवर्थ भएका पाँच बैंक
१९ वटा सूचीकृत वाणिज्य बैंकमध्ये २ सय रुपैयाँभन्दा बढी नेटवर्थ भएका ६ वटा वाणिज्य बैंक रहेका छन् । नेपाल बैंकसँगै एभरेष्ट बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक र एनआईसी एसिया बैंकको नेटवर्थ २ सय रुपैयाँभन्दा माथि रहेको छ। सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंकको नेटवर्थ भने १ सय ५० रुपैयाँ भन्दा माथि नै रहेको छ । त्यसबाहेका बैंकहरु मध्ये १ सय ५० भन्दा मुनि रहेको छ ।
शेयर मूल्यको हिसाबले अहिले पनि सबैभन्दा न्यून विन्दुमा रहेका बैंकहरुको वित्तीय विवरण खराब प्रकाशित गर्दा पनि नेटवर्थ १ सय भन्दा न्यून भएको देखिएको छैन । खराब कर्जा केही बढी देखिए पनि राष्ट्र बैंककै समीक्षामार्फत असल कर्जाको प्रोभिजनमा १.२५ प्रतिशतको प्रोभिजनलाई घटाएर १.२० प्रतिशत पुर्याएकाले यसबाट पनि खराब कर्जा केही घट्ने अपेक्षा गरिएको छ।
१५ रुपैयाँभन्दा बढी इपीएस भएका ८ बैंक
प्रति शेयर आम्दानी (इपीएस)को आधारमा सबैभन्दा राम्रो स्ट्यान्डर्ड र्चार्ड बैंक देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार चार्टर्डको सबैभन्दा धेरै ३४ रुपैयाँ ६० पैसा इपीएस देखिएको छ भने एभरेष्ट बैंकको २९ रुपैयाँ ५५ पैसा इपीएस छ । त्यसैगरी नबिल बैंकको इपीएस २३ रुपैयाँ हुँदा प्राइम कमर्सियल बैंकको १९ रुपैयाँ ७७ पैसा र कृषि विकास बैंकको १७ रुपैयाँ १२ पैसा छ । पछिल्लो समय केही सुस्ताएको एनआईसी एसियाको इपीएस १७ रुपैयाँ ११ पैसा छ भने एनएमबी बैंकको १६ रुपैयाँ २६ पैसा र सिद्धार्थ बैंकको १५ रुपैयाँ ९३ पैसा छ । प्रति शेयर आम्दानी धेरै देखिए पनि धेरै बैंकको लाभांश बाँड्ने क्षमता भने कम नै देखिएको छ । समय घर्किसकेको ऋणको व्याजलाई आम्दानी मान्नुपर्ने प्रावधानका कारण व्याज रकम प्राप्त नभइसकेको रकमलाई समेत आम्दानी मान्ने हुँदा यस्तो समस्या देखिएको एक बैकरले बताए ।
पीइ रेसियोको आधारमा प्राइम बैंक उत्कृष्ट
मूल्य आम्दानी अनुपात (पीई) को आधारमा सबैभन्दा कम पीई अनुपात भएको शेयरलाई राम्रो मानिन्छ । उच्च पीई भएको बैंकको शेयर ओभर भ्यालुड मानिन्छ । पीइ रेसियोलाई आधार मान्दा भने प्राइम कमर्सियल बैंक बुधबारको मूल्यमा सबैभन्दा न्यून विन्दुमा देखिएको छ।