लगानीकर्ताको रकम नदिएको भन्दै धितोपत्र बोर्डमा गुनासोका चाङ, सिडिएससिले काट्न थाल्यो ब्रोकर कम्पनीलाई पत्र

Jun 02, 2024 07:05 PM merolagani

सुवास निरौला

समयमा लगानीकर्ताको रकम नदिएको भन्दै धितोपत्र बोर्डमा गुनासोका चाङ बढ्न थालेका छन्। ब्रोकर कम्पनीहरूले समयमा भुक्तानी नदिएको भन्दै लगानीकर्ताले बोर्डमा गुनासो गरेका हुन्।

धितोपत्र बोर्डमा लगानीकर्ताको पैसा नदिएको भन्दै गुनासाे बढ्दै गएपछि केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)ले ब्रोकर कम्पनीलाई पत्र काट्न थालेको छ। समयमा पैसा नदिने थुप्रै ब्रोकर कम्पनी छन्। उनीहरूलाई सिडिएससिले छुट्टा छुट्टै पत्र काट्दै आएको छ। धितोपत्र बोर्डले सिडिएसिलाई पैसा नदिएको गुनासो समाधान गर्न पत्र लेख्दै आएको छ।

 

सोही पत्रको आधारमा सिडिएससिले ब्रोकर कम्पनीलाई पत्र लेख्ने गरेको हो। बोर्डले समय समयमा  समस्या समाधान गराउन भन्दै सिडिएससिलाई पत्राचार गर्दै आएको छ। जति पटक बोर्डले सिडिएससिलाई पत्र लेख्ने गरेको छ। त्यति नै पटक सिडिएससिले पनि ब्रोकर कम्पनीलाई पत्र काट्दै आएको छ।

बोर्डले जति पटक सिडिएसिलाई समस्या समाधान गर्न पत्र काटे पनि सिडिएससिले ब्रोकर कम्पनीलाई पनि पत्र काट्ने बाहेक अरू कुनै कारबाही भने अघि बढाएको छैन। कारोबार राफसाफ नै गर्न नसक्ने अवस्था आए मात्रै ब्रोकर कम्पनीको कारोबार स्थगन गर्ने गरिएको छ। तर अहिले राफसाफ नेटिङ विधिमा हुने भएकोले हत्तपत्त ब्रोकर कम्पनी आउट हुने गरेका छैनन्। आज जति रकमको ब्रोकर कम्पनीले शेयर किन बेच गरेको हो। त्यो रकममा फरक आउने रकम मात्रै बुझाई राफसाफ गर्ने विधिलाई नेटिङ राफसाफ भनिन्छ। जस्तै कुनै ब्रोकर कम्पनीले आज दुई हजार रुपैयाँको शेयर किनेको छ तर बिक्री भने १५ सयको मात्रै गरेको छ भने उसले किनेको र बेचेकोमा फरक आउने पाँच सय मात्रै बुझाए राफसाफ हुन्छ। यस अघि भने किनेको सबै रकम बुझाउने अनि बिक्री गरेको रकम पाउने नियम थियो । यसरी राफसाफ हुने भएकोले ब्रोकर कम्पनी आउट हुने अवस्था निक्कै कम हुन्छ। आउट भनेको फरक रकम बुझाउन नसकी सिडिएससिले कारोबार गर्न वञ्चित गरेको अवस्थालाई ब्रोकर आउट भनिन्छ।

अहिले हत्तपत्त ब्रोकर कम्पनी आउट हुँदैनन्। लगानीकर्ताले किनेको र बेचेको रकमबाट कम हुन आउने रकम ब्रोकर कम्पनीले राफसाफ बैंकबाट ऋण चलाउन पाउँछन्। जसले गर्दा पनि उनीहरू आउट हुने चान्स निक्कै कम हुन्छ। तर आफू कारोबारबाट आउट नभई निरन्तर कारोबार गर्ने ब्रोकर कम्पनीले लगानीकर्ताको भने पैसा समयमा दिने गरेका छैनन्। उनीहरूले लगानीकर्ताको भुक्तानी रोकेर भएपनि कारोबार राफसाफ गर्ने गर्छन्। लगानीकर्ताको रकम समयमा भुक्तानी नदिएको विषयमा भने ब्रोकर कम्पनीलाई पत्र काट्ने बाहेक देखिने गरी कुनै कारबाही गर्ने गरिएको छैन। जसले गर्दा ब्रोकर कम्पनीले बारम्बार सिडिएससिले काट्ने पत्रलाई खासै गम्भीरतापूर्वक लिने गरेका छैनन्। बोर्ड र सिडिएससिले कडी कढाउ नगरेकै कारण लगानीकर्ताले समयमा पैसा पाउने अवस्था अझै बनेको छैन।

जबकि शेयर बिक्री गरेको तेस्रो दिन कारोबार राफसाफ हुन्छ। शेयर किन्नेले दोस्रो दिनसम्म पैसा भुक्तानी गरिसक्नु पर्छ भने बेच्नेले चौथो दिन आफ्नै खातामा भुक्तानी पाउनु पर्ने नियम छ। ब्रोकर कम्पनी भने आफूहरूले उधारो उठाउन नसकेको कारण भुक्तानी दिन ढिला हुने गरेको बताउँछन्। “ढिलो भुक्तानी हुनुको एउटै कारण धेरै लगानीकर्ताले शेयर किनेपछि समयमा भुक्तानी गर्दैनन्। जसले गर्दा पाउनु पर्ने मानिसले समेत ढिलो पाउने गरेको हो,” एक ब्रोकर कम्पनीका सञ्चालकले मेरो लगानीसँग भने।

ती ब्रोकरले दिएको जवाफको कुनै तुक छैन। किनकि बेच्नेले किन्ने मानिसले पैसा दियो या दिएन त्यसको बिक्री गर्नेलाई मतलब हुने कुरा भएन। उसले बिक्री गरेको शेयरको रकम चौथो दिन नै पाउनु पर्छ। किन्नेसँग के कसरी पा उठाउने त्यो ब्रोकर कम्पनीले जिम्मा लिनु पर्ने विषय हो।

समयमा पैसा भुक्तानी नगर्ने केही ठूला ब्रोकर कम्पनी छन्। जसमा समयमा पैसा दिने ब्रोकर कम्पनी समेत बदनाम हुने गरेको अर्का एक ब्रोकर कम्पनीका सञ्चालक बताउँछन्।

comments powered by Disqus