शेयर बजार पोखरीको पानी जस्तै भएको छ, चलायमान बनाउनु पर्दैन ? : लगानीकर्ता कार्कीसँगको कुराकानी

Jun 07, 2024 06:16 PM Merolagani

नेपाल सरकारले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरे पनि बजार सुस्ताएको छ । लगानीकर्ता बजार बढ्नेमा विश्वस्त हुन सकिरहेका छैनन ।

बजार नियामक निकाय विगत ५ महिनादेखि नेतृत्वविहीन छ । बोर्ड अध्यक्ष प्रकृया स्थगन गरिएको छ । यसले पूँजी बजारलाई कमजोर बनाएको छ भने बजारको विकासमा पूर्णविराम लागेको छ । सरकारको यस्तो रवैयाले बजारमा असर गरेको बताउँछन् लगानीकर्ता दिपक कार्की । तिनै कार्कीसँग सुधा देवकोटाले गरेको कुराकानीः

सरकारले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेपछिको बजार सुस्ताएको छ । बजारमा उत्साह आउन सकेको छैन । बजार सुस्ताउनुको प्रमुख कारण के हो ?

अहिलेको बजार सुस्ताउनुमा प्रमुख कारण भनेको सरकार हो । सरकारको शेयर बजार सम्बन्धमा बुझाई सकारात्मक नहुँदा सबैभन्दा धेरै मर्कामा परेको छ । सरकारले बजेट मार्फत बजारलाई सम्बोधन गरेन । लगानीकर्ताहरुले पूँजीगत लाभकर नै अन्तिम करको रुपमा नीतिगत व्यवस्था गर्नु पर्ने माग लगानीकर्ताले गरेका थिए । हुन त अर्थमन्त्रालयले पूँजीगत लाभकर नै अन्तिम भन्ने कुरा उल्लेख गरिसकेको छ । यद्यपि नीतिगत रुपमा नै उक्त व्यवस्था हुनपर्ने बजारको माग थियो ।

त्यसैगरी दीर्घकालीन लगानीको लागि ३ प्रतिशत र अल्पाकालीन लगानीको लागि ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने लगानीकर्ताले माग थियो । सरकारबाट सुनुवाई भएन । अर्थतन्त्रको मेरुदण्डको रुपमा पूँजी बजारलाई लिने गरिन्छ । तर सरकारबाट पूँजी बजारनै उपेक्षामा पर्ने गरेको छ ।

अर्कोतर्फ बजारलाई अनुसाशित र विकास गर्ने नियामक नेपाल धितोपत्र बोर्ड विगत ५ महिनादेखि नेतृत्वबिहीन छ । यसले पूँजी बजार क्षेत्रलाई नै थप कमजोर बनाएको छ । अर्थ मन्त्रालयको कर्मचारीलाई बोर्डको नेतृत्व गर्न पठाइएकाे छ । यसरी पूँजी बजारको विकास हुँदैन । बजार अझै अनुसाशनहीन हुन सक्ने सम्भावना हुन्छ । नेतृत्व कमजोर भएर नै आज नेपाल राष्ट्र बैंकको नीतिले बजारमा प्रभाव पारेको छ । मलाई लाग्छ, अब धितोपत्र बोर्ड पनि राष्ट्र बैंकसँग मर्ज गरिदिए राम्रो हुने थियो । यस्तो भइदिए लगानीकर्ताले बजारको सम्बन्धमा एउटै निकायमा गुनासो गर्न त पाउने थिए ।

वार्षिक अर्बौ रुपैयाँ संकलन हुन्छ । फेरिपनि राज्यको माथिल्लो तहबाट नै पूँजी बजार प्रति गलत बुझाई छ । यसरी सरकारका निकायहरुले लिएका नीतिकै कारण बजार दबावमा छ । यो बजारको लागि राम्रो होइन । शेयर बजारमा लगानी गरेर कमाउन सक्ने अवस्था छैन । त्यसैले बजार सिथिल भएको हो ।

राम्रो राजश्व आम्दानी गर्न सक्ने क्षेत्र सरकारको उपेक्षामा छ । भनिन्छ,अहिलेको बजार लगानीकर्ता बलबुताले मात्रै चलेको छ । शेयर बजार सरकारको उपेक्षामा किन परेको होला ?

शेयर बजारमा लगानी गर्ने वातावरण बन्नु पर्यो र लगानीको सुरक्षा हुनुपर्ने लगानीकर्ताको माग छ । सरकारले नीतिगत सुधार गर्दा दीर्घकालीन रुपमा गर्नुपर्छ । कम्तिमा पनि १० वर्षको लागि नीति व्यवस्थापन हुनुपर्छ । त्यसले नीतिगत स्थायित्व बनाउने छ । ताकि, लगानीकर्ता निर्धक्क भएर लगानी गर्ने सकुन । नेपालमा त्यस्तो हुँदैन ।

बजारमा सबै भन्दा धेरै नेपाल राष्ट्र बैंकको नीतिको कारण परेको छ । राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा लगाएको छ । मसँग लगानी गर्न सक्ने क्षमता छ । मेरो सम्पत्ति छ । त्यो सम्पत्ति धितो राखेर कर्जा लिएर लगानी गर्छु भन्दा सरकार बाधक भएको छ । मैले लगनी गर्छु, राज्यलाई कर बुझाउँछु भन्दा तैँले लगानी गर्न पाउदैनस् खबरदार ! भनिन्छ नि । यसले अर्थतन्त्रलाई कहाँ पुर्याउछ ?

अनेक नीति ल्याएर लगानी गर्न नदिने अनि अर्थतन्त्र चलायमान बन्न सकेको छैन भनेर भन्ने ? विदेशबाट आएको रेमिटेन्सलाई कुल ग्राह्स्थ (जिडिपि) मा जोडेर भुसुना नमारेकाले हात्ती मारेको भन्दै तथ्यांक सार्वजनिक गर्ने ? नेपालको कमजोरी यही हो ।

अर्को सरकारले कम्पनीले वितरण गर्ने लाभांशमा क्याप लगाएको छ । कि त्यस्ता कम्पनीलाई सर्वसाधारणमा शेयर जारी गर्न रोक्नु पर्यो कि भन्नु पर्यो, लगानी नगर, धर्म हुन्छ त्यो पैसाले दिन दुखीलाई फलफूल वितरण गर । यहा राजश्व पनि चाहिने, लगानीकर्ता पनि चाहिने फेरि पाउने सुविधामा नीतिगत बाधा गराएर अप्ठेरो पार्ने । यो पनि पाउँदैनस त्यो पनि पाउँदैन भनेर बाधक बनाएको छ । बजारलाई स्वतन्त्र रुपमा छोड्नु पर्छ । छिमेकी देशमा भारतीय १० रुपैयाँको शेयर ११० हजार रुपैयाँ पुग्दा पनि मिठाई बाँढिएको छ । मुलुकको अर्थतन्त्र चलयमान बनाउनको लागि लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्छ ।

सरकारको कुरा छ । राजश्व उठेको छैन । १८ खर्बको बजेट ल्याएको छ । ११ खर्बको कहाँबाट ल्याउने हो स्रोत छैन । त्यो पैसा कहाँबाट ल्याउने हो । ऋणबाट होइन ? त्यो ऋण पनि जनताको टाउकोमा पार्ने होइन र ? नेपालमा लगानीगर्ने वातावरण बनाउने भने राजश्व यहीबाट संकलन हुन्छ । जसले लगानी गरेको छ त्यसले आत्महत्या गर्नुपर्ने बाध्यता छ,अनि कसरी हुन्छ ?

अहिले नेपालको पूँजी पोखरीको पानी जस्तै भएको छ । पोखरीको पानीलाई चलायमान भएन भने लेउ लाग्छ । त्यस्तै पूँजीलाई जम्मा गरेर हुदैन, चलायमान गराउन पर्छ । अनि मात्र अर्थतन्त्र चलयमान हुने हो ।

वाफिया संसोधनको लागि गएको छ । वाफिया मार्फत बैंक र ब्यावसायी छुट्याउने कुरा छ । यसले लगानीकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव छ भनिन्छ । तपाईले कसरी बुझ्नु भएको छ ?

बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (वाफिया) को बैंक र व्यवसायी छुट्याउने व्यवस्था गर्दै संशाेधन प्रकृयामा गएको छ । त्यसले बजारमा असर गरेको लगानीकर्ताले महशुस गरेका छन् । बैंक र व्यावसायी छुट्याउने काम जब बैंकलाई लाईसेन्स वितरण गर्न पूर्व गर्नुपर्ने थियो । होइन भने खाई नखाई ऋण गरेर लगानी गरेको छ ।उस्को लगानीलाई राख्न पाउदैनस,बिक्री गर्नपर्छ भनेर लगानीकर्ताको घाँटी न्याक्ने काम गरिएको छ । वाफियाको नाममा व्यवसायीलाई त्रासमा राखिएको छ । सक्छ भने नेपाल राष्ट्र बैंकले सबै व्यवसायीको शेयर किनेर राख्नु पर्यो । होइन भने बजारलाई अंकुश थाप्ने काम गर्न पाइदैन । पूँजी निमार्ण गर्ने क्षेत्रलाई त्रसित बनाएको छ । नेपालको नीति नियमकै कारण पूँजी पलायन भएको छ । सरकारले यसलाई नियन्त्रण गर्नु पर्छ ।

पूँजी बजारमा निकायहरु सरकारी कार्मचारी व्यवस्थापन गर्ने निकाय बनेको आरोप छ । तपाईले के बुझ्नु भएको छ ?

पूँजी बजारको नियामक निकायहरु सरकारी कर्मचारीको ओभरटाईम काम गर्ने निकायको रुपमा रुपान्तरण भएको छ । ठिक छ बाधा अढ्काउ गर्नको लागि व्यवस्थापन गरिनु सकारात्मक रुपमा लिनु पर्छ । तर अध्यक्ष चयन प्रकृयालाईन नै रोकेर राखिएको छ । राजनीतिक व्यक्ति नियुक्ति गर्नको लागि रोकिएको होला । उक्त पदका लागि करोडको मोलमोलाई भएको हल्ला सुनिन्छ । त्यस्ता व्यक्तिको नियुक्तिले बजारको कसरी विकास हुन्छ ?

संवेदनशील क्षेत्रको नियमन गर्ने निकायमा राजनीति गर्ने व्यक्ति भर्ति गरिन्छ । नेपाली पूँजी बजारको दुभार्ग्य बजार बुझेको अध्यक्षको नियुक्ति हुदैन । त्यसैको परिणाम स्वरुप बजारको अवस्था जीर्ण भएको छ । धितोपत्र बजार जोखिम पूर्ण लगानीकाे क्षेत्र हो । यो क्षेत्रमा नियमन बजार बुझेको मान्छे नियुक्ति हुनुपर्यो । त्यसो भए विकास होला ।

पूँजी बजार सम्बन्धी सम्पूर्ण गतिविधि बोर्डको नियन्त्रणमा हुनुपर्ने हो । सूचिकृत कम्पनीको अवस्थाको बारेमा जानकार हुनपर्ने हो । लगानीकर्ता र बजार विकासमा लाग्नु पर्ने हो । बजारमा हुने गरेका बेथितीलाई नियन्त्रण गर्ने क्षेत्राधिकार आँफैमा राख्नु पर्ने हो । बजारको नियन्त्रण अन्य निकायबाट हुँदा नियामक निरीह छ । नियामकलाइ यस्तो कमजोर अपमानित गराउनु भन्दा नेपाल धितो पत्र बोर्डलाई अन्य कुनै निकायको बिभागमा राख्दा हुन्छ ।

धितोपत्र बजार सम्बन्धी माग र गुनासो नेपाल राष्ट्र बैंकमा पुगेको छ । उसो भए धितोपत्र बोर्डले के गरेको छ त ?

नेपाल राष्ट्र बैंकको त्रैमासिक रुपमा हुने मौद्रिक नीति समीक्षा र तथा अन्य गतिविधिले बजारलाई हानेको छ । बजारमा समस्या भयो । बजार दवाबमा पर्यो । बजार सुधारको कामलाई बोर्डले पहल गर्नुपर्यो भन्ने कुरा बोर्डलाई जानकारी गराउँदा जिम्मेवार निकाय बोर्डले नेपाल राष्ट्र बैंकलाई देखाउने गरेको छ । धितोपत्र बजारका समस्या लिएर के भन्दै राष्ट्र बैक जाने ? सरकारका निकायहरु बीचमा नै समन्वय छैन । लगानीकर्तालाई जसरी हुन्छ लगानीको सुनिश्चिता चाहिएको छ । लगानीको वातावरण चाहिएको छ । दोस्रो बजारबाट लगानी गर्ने लगानीकर्तालाई अपमानित गर्नु भनेको अर्थतन्त्रलाई धरासायी बनाउने मात्रै हो ।

लगानीकर्ताको आत्मविश्वास बढ्न जरुरी छ । सरकारकै कारण लगानीकर्ता प्रताडीत भएको बेला निकास के हो त ?

लगानीकर्ता सधै आशावादी हुनुपर्छ । सरकार लगानीकर्ता सबै पक्ष आशावादी हुन जरुरी छ । नेपालको माटो सुहाउँदो नीति ल्याउनु पर्छ । विभिन्न नीतिकै कारण लगानीकर्तालाई मारमा पार्ने व्यवस्थाको अन्त्य हुनुपर्छ ।

यहाँ सरकार र सरकारी निकाय बिचमा नै समन्वय हुन सकिरहेको छैन । सरकार र राष्ट्र बैंकवीचमा तालमेल नमिल्दा अर्थतन्त्र बिग्रेको छ । सरकारले नियुक्त गरेको व्यक्तिबाट नै सहयोग नगरिएको भनिनु सरकारको धेरै ठूलो कमजोरी हो । राष्ट्र बैंकले मन्त्रीका कुरा सुनेन भन्ने कुरा आउनु लाजको विषय हो ।

बजारका कुरा जोड्न चाहेँ । पछिल्लो समयको बजारलाई हेर्दा सूचक चलेको छैन । तर केही कम्पनीको शेयर मूल्य उच्च भएको छ । विशेषगरी कम पूँजी भएका कम्पनीको मूल्य बढेको छ । यस्तो कारोबारले सूचकलाई कतिबेर थेग्ला ?

यो कारोबारले बजार थेग्दैन । बजार दीगो हुँदैन । डिमान्ड बढ्यो सप्लाई कम भयो स्वभाविक रुपमा मूल्य बढ्नु बजारको सिद्धान्त नै हो । ट्रेडिङले बजारमा टिक्दैन । बजार बढ्नको लागि बजारमा दीर्घकालीन लगानी आउनै पर्छ । दीर्घकालिन लगानीकर्ताले लागानीको सुरक्षा हेरेका हुन्छन । सरकारले लगानीको सुरक्षा ग्यारेन्टी दिन सकेको छैन ।

१० वर्ष पहिले र अहिलेको बजारमा आकाश जामिनको फरक छ । बजारमा कम्पनीहरु भित्रेका छन् । लगानी भित्रेको छ । तर बजारको विकास भएको छैन । हामी १० वर्ष पूर्वको पूँजीकरणसँग आजको पूँजीकरण तुलना गर्दै बजार विकासको नतिजा सार्वजनिक गरेका छौं । बजारमा कम्पनी थपिएको छ भनेपछि त लगानी भएको छ भन्ने कुरा बुझ्नु पर्यो नि । लगानी गरिसकेपछि लगानीकर्ता धरासायी हुने गरी नीति नियम र व्यवधानले बजारलाई ठूलो असर गरेको छ ।

बजारमा प्रतिफल र विश्वासको आधारमा शेयर मूल्य निर्धारण हुन्छ । दोस्रो बजारमा सूचिकृत कम्पनीको शेयर मूल्य विश्वासको आधारमा घट्बढ हुन्छ । त्यसैले जिम्मेवार निकायमा बसेकोहरुले बजारको विषयमा अभिव्यक्ति सोचबिचार गरेर दिनुपर्छ । लगानीकर्ताले पनि धेरै सोचविचार गरेर लगानी गर्नुपर्छ । अनावश्यक रुपमा कम्पनीहरुको विषयमा सामाजिक सञ्जालमा बोलिनु हुँदैन । लगानीकर्ताको विचमा बसेर कम्पनीको विषयमा छलफल गर्न सकिन्छ । तर सामाजिक सञ्जालमा वहसको विषय बनाउन हुदैन ।

 

 

 

 

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।